एटा संवाददाता
लन्डन । गुरुङ संस्कार संस्कृतिमा आधारित गुरुङ भाषाको चलचित्र मारक्यु (सुनपानी) अल्डरसटस्थित एम्पायर हलमा विशेष प्रदर्शन भएको छ ।

ओरिजिनल गुरुङ भाषाको चलचित्र भए तापनि नेपाली भाषामा कपि गरिएको डबिङ गत आइतबार १ मार्च बेलुकी अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गरिएको हो । सो अवसरमा चलचित्र निर्माता बुद्धि गुरुङ र नवराज घलेले चलचित्रकी कलाकार चिनु घले, बेलायत भ्रमणमा रहेका लोकप्रिय गायक प्रकाश गुरुङ र गायिका बिष्णुमाया गुरुङलाई खादा लगाई स्वागत तथा सम्मान गरेका थिए ।
प्रदर्शनमा तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, गीतकार एवं चलचित्रकर्मी एकेन्द्र गुरुङ चलचित्रप्रेमीहरुको विशेष उपस्थिति थियो ।
चलचित्र सुरु हुनुभन्दा अघि लमजुङस्थित घलेगाउँबारे निर्माण गरिएको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो भने चलचित्र समापनपश्चात् चर्चित लोकदोहोरी गायिका बिष्णुमाया गुरुङ र प्रकाश गुरुङको प्रत्यक्ष दोहोरी गीत गएर थप मनोरञ्जन दिलाएका थिए ।
प्रेमकथामा रहेको चलचित्रमा दिदी भाइबीचको सम्बन्धलाई समाजमा चित्रण गराउँदै कहिले हँसाउने, कहिले रुवाउँदै जीवनको उकाली–ओरालीको एउटा पारिवारिक चलचित्र हो । एउटा जिम्मेवार दिदीले निभाउनुपर्ने कर्तव्यबाट आफ्नो जीवन बाजी राखेर भाइको उज्ज्वल भविष्यका लागि आफ्नो जीवनका सारा खुसीहरु बिर्सिएको कथा चलचित्रमा छ ।
कलाकारहरुको अभिनय जस्तै छायांकनमा समेत अलिकति ध्यान दिइएको भए चलचित्र मूलधारको चलचित्रको दाँजो गर्न सकिने एकजना चलचित्रकर्मीको भनाइ थियो ।
चलचित्र प्रदर्शनबाट संकलन हुने रकममध्ये ५० प्रतिशत नेपाल तेक्वान्दो एसोसिएसनको आयोजनामा पोखरामा हुन लागेको ‘भिजिट नेपाल २०२० थर्ड माउन्ट एभरेस्ट इन्टरनेसनल वल्र्ड तेक्वान्दो च्याम्पियनसीप २०२०’ मा सहभागी हुन बेलायतबाट नेपाल जाने खेलाडीहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।
क्लाइमेक्स आर्ट्स प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको सो चलचित्र यसअघि काठमाडौं, लमजुङ, खैरेनी, हङकङ, पोखरामा प्रदर्शन भइसकेको छ भने बेलायतमा पहिलोपटक अल्डरसटमा प्रदर्शन भएको हो । र, यसपछि स्वीन्डन लगायत बेलायतका विभिन्न सहरमा प्रदर्शन गरिने निर्माण समूहले जानकारी दिएका छन् ।
मारक्यु (सुनपानी) जसले गुरुङ समाजभित्रको संस्कारलाई उजागर गरेको छ । गुरुङ संस्कार–संस्कृति, भेषभुषा र भाषालाई संरक्षण र प्रवद्र्धनमा यस चलचित्रले ठूलो भूमिका खेल्ने निर्माण पक्षको दाबी छ । ‘आर्थिक फाइदा होला भनेर चलचित्र निर्माणमा लागेका होइनौं, हाम्रो भाषा, संस्कार संस्कृति, भेषभुषा जोगियोस् भनेर लागेको हौं’, निर्माताहरुको भनाइ छ ।
चन्द्रबहादुर गुरुङ, नवराज घले, सूर्य घले, नन्दबहादुर गुरुङ, कालु गुरुङ, संग्राम गुरुङ, राकेश गुरुङ, दबिराम गुरुङ, केश गुरुङ लगायतको संयुक्त लगानी रहेको मारक्यु चलचित्र पूर्वी लमजुङको दोर्दी गाउँपालिका ५ छैलुङ र वाक्सोरामा छायांकन गरिएको छ । चलचित्र दिनेश गुरुङले निर्देशन गरेका छन् भने सुबास गुरुङ (गणेश) को कथा, पटकथा, संवाद लेखन रहेको छ ।
चलचित्रमा मुख्य भूमिका खुसी गुरुङ, कमल गुरुङ, रोश्नी गुरुङ, संग्राम गुरुङ, गजबहादुर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् भने सुशान्त प्रजापति छायांकन, उज्वल ढकाल सम्पादन, पाश्र्व संगीत धनबहादुर गुरुङ, शैलेश श्रेष्ठ, कलर सन्तोष मालाकार, साउन्ड डिजाइनर मिक्सिङ अमृत श्रेष्ठ, संगीत रामकुमार गुरुङ (आरके), सूर्य घले, रचनाकार सुवास गुरुङ, गायक÷गायिका रामकुमार गुरुङ, जुना गुरुङ, खुसी गुरुङ, मेकअप बिक्रम थापा, नृत्य निर्देशक भरती घलेले गरेका छन् ।






