लन्डन । मगर संघ यूकेले प्रतिनिधिसभाकी पूर्वउपभामुख एवं वर्तमान सांसद इन्दिरा राना मगरलाई स्वागत गरेको छ । मगर भवन फानबोरोमा ३१ अगस्टमा एक समारोहबीच मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन लगायतले स्वागत, सम्मान गरेका हुन् ।
सोही अवसरमा मगर संघ यूके र सिएनसिबिजीले विश्व कीर्तिमानी पर्वतारोही दिवंगत निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने, ब्रिटिस गोर्खा र उनीहरुका सन्तानलाई वंगशको नागरिकता निरन्तरता गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र सत्तारुढ रास्वपा सांसदसमेत रहेकी रानामगरमार्फत नेपाल सरकारलाई बुझाइएको छ ।
मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) महासचिव गोमन पुन मगरले हस्ताक्षर गरेको ज्ञापनपत्र बोधार्थ नेपाली राजदूतावास लडन, बेलायत, प्रतिनिधिसभा नेपालकी निवर्तमान उपसभामुख तथा सांसद इन्दिरा राना मगर, रास्वपा सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाललाई लेखिएको छ ।
सांसद रानाले स्वागत कार्यक्रममा मगरहरू जति पिरमर्का भए पनि सहेर हिँड्ने र अरुलाई दुखेसो नपोख्ने जाति भएको बताउँदै महिलाहरूलाई अगाडि लैजान प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका छन्।
पूर्वउपसभामुख रानामगर २६ अगस्टमा निर्मल पुर्जाको अन्त्येष्टिका लागि बेलायत आएकी थिइन् । उनी ३० अगस्टमा तमु धीं यूकेले आयोजना गरेको १७ औं नेपाली मेलामा समेत सहभागी भइन् ।






