दीपेन्द्र राई
स्थानीय रेख ब्लोनले गाउँभरिका बालबालिकालाई नाम लेखाउन विद्यालय पुर्याए । गुच्चा खेलिरहेका उनी त्यही ‘क्याराभान’मा मिसिए । विद्यालयको हाजिरी पुस्तिकामा नाम लेखाउन उनको पालो आयो । उनलाई नाम सोधियो । उनलाई आफ्नै नाम थाहा थिएन ।
वास्तवमा उनको न्वारान नै गरिएको थिएन । न्वारान नगरिएको उनले जन्मेको आठ वर्षपछि मात्रै राजकुमार सुब्बा भनेर नाम पाए । त्यो पनि विद्यालयमा नाम लेखाउनका लागि अनिवार्य भएपछि । उनको न्वारान गरिदिए सहोदर माइला दाजु डम्बर सुब्बाले ।
आठ वर्ष पुगेपछि उनले एकैपटक दुई उपलब्धि हात पारे । पहिलो, उनले राजकुमार सुब्बा भन्ने नाम पाए । दोस्रो–गुच्चा खेलेर दिन कटाउने कलिला खुट्टा विद्यालयतिर मोडियो । ती कलिला खुट्टाले विद्यालय र घरसम्मको दूरी नियमित नाप्न थाल्यो ।
विद्यालयको वातावरणमा घुलमिल हुन उनलाई त्यति सकस परेन । कारण उनको घर राजनीतिक विद्यालयजस्तै थियो । कम्युनिस्ट पार्टीका नेताहरू उनको घरमा आइरहन्थे । मानौं उनको घर उनीहरू (कम्युनिस्ट पार्टीका नेताहरू) का लागि सुरक्षित आश्रयस्थल मानिन्थ्यो । विद्यालयमा आफू पढिरहेको कक्षामा उत्तीर्ण हुनाका लागि पाठ्यक्रमको पाठ्यपुुस्तक पढाइ हुन्थ्यो भने उनको घरमा माक्र्सवाद ।
सधैं अनुहारिने नेताहरूले उनकै घरमा बसेर भूमिगत राजनीतिक गतिविधि बाक्लो बनाएका थिए । जहाँ सधैं बैठक हुन्थ्यो । सांस्कृतिक छलफल हुन्थ्यो । साहित्य पनि छलफलका विषय बन्थे । आफ्नो घर कम्युनिस्ट पार्टीको आश्रयस्थल भएको ‘क्रेडिट’ उनले पनि हात पारिछाडे । भूमिगत रूपमा हुने विभिन्न शीर्षकको छलफल उनको कानसम्म सधैं ठोक्किएपछि केही शीर्षकबाट उनी पनि प्रभावित भए । जुन शीर्षक थिए– साहित्य र संस्कृति ।
प्रभावित भएको शीर्षकमा उनले गहिरो अध्ययन गर्न थाले । उनी अध्ययनमा मात्रै सीमित रहेनन् । साहित्यको विभिन्न विधामा कलम चलाउन थालिहाले । उनले पहिलोपटक कविता लेखेका थिए । यो संवत् २०४३ को कुरा हो ।
कविता, कथा र गजल लेख्ने तिनै राजकुमार सुब्बाले दोस्रोपटक भने आफ्नो न्वारान आफैं गरे । अब राजकुमार सुब्बा राजकुमार दिक्पाल भए । दिक्पाल साहित्यमा मात्रै सीमित रहेनन् । हामफाले पत्रकारितामा । धनकुटाबाट थालेको पत्रकारिता यात्रा धरान हुँदै काठमाडौंमा ‘ब्रेक’ लाग्यो । मानौं ‘डेटलाइन ब्रेक’ ।
काठमाडौंबाट प्रकाशित अन्नपूर्णपोस्ट दैनिकमा सिनियर सब–एडिटरको भूमिका निर्वाह गरिसकेका उनी एकताका आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्थे । त्यतिबेला पासाङ ल्हामु शेर्पा मेमोरियल क्याम्पस गोङ्गबु काठमाडौंमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गर्ने उनीसँग कान्तिपुर, श्रीसगरमाथा, नेपाल समाचारपत्र दैनिक, जनआस्था, बुधबार, जनमञ्च, न्युजटाइम्स साप्ताहिक र रेडियो नेपालमा काम गरेको
अनुभव छ ।
उनले सामुदायिक विकास रेडियो कार्यक्रमको कार्यक्रम उत्पादकको भूमिकासमेत निर्वाह गरेका थिए । आमसञ्चार तथा पत्रकारिताको गुरुको भूमिकामा रहँदाले उनले सबैलाई समान व्यवहार गरे पनि सीमान्तकृत वर्गकालाई पनि पत्रकारितामा डोर्याउन विशेष उत्प्रेरकको भूमिका
निर्वाह गरे ।
डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’, जसकुमार राई ‘बेखर्ची’, ओमआस्था राई, प्रदीप मेन्याङ्बो, सिद्धराज राई, रवीन गिरी, देवराज राई, सीता मादेम्बा र भैरव आङ्लाहरूलाई पत्रकारितामा डोर्याउने उनी नै हुन् । उनै उत्प्रेरकको मान्यता रहेको छ, ‘सीमान्कृत वर्गका धेरैभन्दा धेरैलाई पत्रकारितामा ल्याउनुपर्छ ।’
पत्रकारितालाई माध्यम बनाएर उनले सीमान्तकृत वर्गका कुरा उठाएका थिए । सीमान्तकृत वर्गको कुरा सञ्चारमाध्यममा आउनुपर्छ भन्ने मान्यताका पक्षपाती उनी आदिवासी जनजातिको सवाललाई नेपालका सञ्चारमाध्यमले कसरी हेरेका छन् ? त्यस्तै विश्वमा आदिवासी जनजातिको सवालसम्बन्धी कस्ता–कस्ता सिद्धान्त प्रतिपादन भएका छन् ? आमसञ्चार तथा पत्रकारिताको सिद्धान्तबारे गहिरो अध्ययनमा जुटेका उनले भने, ‘आवाजविहीनको आवाजलाई सञ्चारमाध्यमले समेटेन भने विद्रोह हुन्छ । विखण्डन हुन्छ । त्यो विद्रोह र विखण्डन निम्तिन नदिने हो भने नेपालका सञ्चारमाध्यमले सीमान्तकृत वर्गको सवाललाई सधैं उजागर गर्नुपर्छ ।’
पत्रकारिता गर्ने र पढाउनेबाहेक उनले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको भूमिकासमेत निर्वाह गरिसकेका छन् । आदिवासी जनजाति पत्रकारद्वारा स्थापित आदिवासी जनजाति पत्रकार संघ अनिज (हाल ः फोनिज) मा उनले उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । साहित्य लेखन र पत्रकारिता दुवैलाई सौतेलो व्यवहार नगरेका उनको ‘आतङ्कको छायाँमुनि’ नामक कथासंग्रह सार्वजनिक भएको छ ।
साहित्यको विविध विधामध्ये कथालेखनमा विशेष रुचि राख्ने उनले लिम्बू संस्कृतिसम्बन्धी निरन्तर कलम चलाउँदै आएका छन् । लिम्बू जातिको संस्कृतिबारे उनीद्वारा लिखित आलेख राष्ट्रियस्तरका पत्रपत्रिका प्रकाशन हुँदै आएको छ । केही समयअघि उनको ‘आदिवासी विद्रोह’ नामक किताब सार्वजनिक भएको छ ।






