काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

बुधबार बिहान १० बजेपछि प्रधानमन्त्री ओलीको अपरेसन सुरु गरेर करिब ३ बजे सकिएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको शरीरमा मिर्गौला जोडिसकेपछि सो मिर्गौलाले काम गरे/नगरेको ‘अनटेबल टेस्ट’ गरिएको थियो ।
प्रधानमन्त्रीलाई कलेजो प्रत्यारोपण युनिटको आईसीयूमा राखिएको डा.अरुण सायमीले बताए । त्यहाँ प्रधानमन्त्रीलाई ७ दिनसम्म चिकित्सकहरुको निगरानीमा राखिने उनले जानकारी दिए । एक प्रत्यारोपण विज्ञका अनुसार शरीरमा दाताको मिर्गौला जोडिसकेपछि त्यसबाट पिसाब बाहिर निस्किए त्यसलाई प्रत्यारोपण सफल भएको रुपमा लिने गरिन्छ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका थिए। प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो।
शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए। ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न रहेका थिए ।
प्रधानमन्त्री ओलीले यसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए।
— प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका हुन् ।
यसैबीच, अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ। र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,’ उनले भने।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको खड्गाले बताए ।






