काठमाडौं । घरेलु विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ ।
शनिबार मृत्यु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज मृत्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो ।
सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनीहरूले होलीमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा मृत्यु भएको बताए । उनले स्थानीय केही पसलबाट मदिरा नियन्त्रणमा लिएर विषालु हो/होइन जाँच गर्न पठाएको बताए ।
प्रनि नायकले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको बताए ।
अहिले विषाक्त घरेलु मदिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शोकमा डुबेको छ । मदिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृत्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् ।
७० वर्षीया वृद्धा सिलोचनादेवी मण्डलले शत्रुधन र रामविलास दुई जवान छोरा गुमाउनु परेको छ भने अर्का छोरा पनि भरत पनि अस्पतालको सघन उपचार कक्ष ‘आइसियू’मा जीवनमरणको दोसाँधमा छन् । उनीहरु तीनैजना दाजुभाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु मदिरा ल्याएर खाएका थिए । अहिले घटनाबारे थाह पाएर शम्भु फरार छन् । त्यसैगरी मृत्यु हुनेमध्येका वैदेशिक रोजगारीमा मलेसिया रहेको रामविलास १० दिनअघि मात्रै घर फर्केका थिए ।






