कोरोनाले अस्तव्यस्त खेलकुद

SHARE:

लन्डन । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद अस्तव्यस्त बनेका छन् । खेलाडी, प्रशिक्षक र पदाधिकारीमै कोरोना संक्रमण देखिएपछि प्राय: अन्तर्रा्ष्ट्रिय प्रतियोगिता स्थगित भएका छन्, धेरै प्रतियोगिता रद्द नै भएका छन् । धेरै खेलाडी र पदाधिकारी ‘सेल्फ आइसोलेसन’मा बसेका छन् ।

युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरू अहिलेलाई स्थगित गरेको छ । आगामी २० मार्चका लागि तय गरिएको च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टरफाइनल चरणको ‘ड्र’ पनि स्थगित गरिएको छ । युरोपियन युथ च्याम्पियनसिपका खेल पनि रोकिएका छन् ।

इंग्ल्यान्डको फुटबल संघ (एफए) ले इंग्लिस प्रिमियर लिगका खेलहरू आगामी ३ अप्रिलसम्मका लागि स्थगित गरेको छ । स्पेनमा पनि आगामी दुई चरणका खेल रोकिने भएका छन् । इटालीमा यसअघि नै घरेलु लिग रोकिइसकेको छ ।

नेदरल्यान्ड्स, पोर्चुगल र अमेरिकाका फुटबल प्रतियोगिताहरू स्थगित भइसकेका छन् । स्कटल्यान्ड, आयरल्यान्ड र वेल्सले पनि तत्कालका लागि व्यावसायिक खेल स्थगित गर्ने निर्णय गरेका छन् । इटालियन सिरी ए टोली युभेन्टसका रक्षक ड्यानियल रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही कारण टोलीका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसहित युभेन्टसका १२१ जना सेल्फ आइसोलेसनमा बसेका छन् ।
इंग्लिस टोली आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार बिहान मात्रै चेल्सीका स्ट्राइकर कालुम हड्सन ओडोईलाई पनि कोरोना संक्रमण देखिएको छ । यी टोलीका खेलाडी र स्टाफ पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।

स्पेनमा रियल म्याड्रिडका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । रियलका बास्केटबल खेलाडीमा संक्रमण देखिएपछि एउटै मैदान र सुविधा प्रयोग गर्ने आफ्ना फुटबल खेलाडीलाई पनि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा क्वारेन्टाइनमा राखिएको हो । सोही कारण रियल र म्यानचेस्टर सिटीबीच मंगलबार हुनुपर्ने च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टरफाइनल चरणको दोस्रो लेगको खेल स्थगित भएको छ ।

इटालीमा साम्पडोरियाका स्ट्राइकर मानोलो गाब्बियादिनीमा संक्रमण देखिएको छ । आफ्नो परिवारका एक सदस्यलाई संक्रमण देखिएका कारण इंग्लिस टोली म्यानचेस्टर सिटीका रक्षक बेन्जामिन मेन्दी पनि सेल्फ आइसोलेसनमा बसेका छन् । इंग्ल्यान्डले यसै साताका लागि तय भएको श्रीलंकासँगको टेस्ट शृंखला रद्द गरेको छ । यो अवस्थाले केही समय खेलकुद गतिविधि ठप्प हुने देखिएको छ ।

संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा दर्शक र धेरै संख्यामा खेलाडीकै उपस्थिति आवश्यक हुने खेलकुद प्रतियोगिता सञ्चालन गर्न असम्भवजस्तै देखिएको छ । स्थगित भएका प्राय: प्रतियोगिता पुन: सुरु गर्न आयोजकले भाइरस संक्रमणको अवस्थाको मूल्यांकन गर्ने जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!