बेलायत – विश्व कीर्तिमानी डा. हरि बहादुर बुढा मगर एमबिइद्वारा लिखित आत्मसंस्मरण “कन्कुयरिङ ड्रिम्स” (सपना साकार) नामक पुस्तकको विमोचन भएको छ। उक्त पुस्तक बिहीबार, २७ अगस्ट २०२६ का दिन बेलायतको लिभरपुल स्ट्रिटस्थित बिसोप भवनमा सार्वजनिक गरिएको हो।
विमोचन कार्यक्रममा डा. बुढाले जीवनमा नसोचेको घटना घट्दो रहेछ र दृढ इच्छाशक्ति भएमा नसोचेका सपना पनि साकार हुँदो रहेछ भन्नुभयो। अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढा मगरले आफ्नो जीवनमा भोग्नुपरेका तीता-मीठा अनुभवहरू पुस्तकमा समेटिएको बताउँदै, आफूले चाहेमा र उद्देश्यप्रति समर्पित भएमा असम्भव भन्ने केही नरहने उल्लेख गर्नुभयो।
डा. बुढा मगरले हालै विश्वका सातवटै महादेशका अग्ला चुचुरोहरू (सेभेन समिट्स) सफलतापूर्वक आरोहण गरी विश्व रेकर्ड कायम गरिसक्नुभएको छ। कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाहरूको डा. बुढाले सहजीकरण गर्नुभएको थियो। ब्रायनद्वारा सञ्चालित उक्त विमोचन समारोहमा डा. बुढा मगरका बुबा, दिदी, जीवनसंगिनी, छोराहरू, पर्वतारोहीहरू, पुस्तकप्रेमी तथा विभिन्न क्षेत्रका बुद्धिमजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।







