काठमाडौं । एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार बताएका छन् ।
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उनले बताएका हुन् । अनुमानित २.५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उनको दावी छ ।
पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआको अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन् । ग्रहिका पृथ्वीको नजिकतर्फ आउन थालेपछि यही अप्रिल ४ तारिखदेखि यसका गतिविधिलाई टेलिस्कोपको माध्यमबाट उनीहरूले हेरिरहेका छन् र यसबारे तथ्याङ्क सङ्कलन गरी खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय अध्ययन केन्द्र ‘माइनर प्लानेट सेन्टर’ मा थप अध्ययनका लागि पठाइरहेका छन् ।
झाओको अन्तरिक्ष अवलोकन तथा अनुसन्धान केन्द्रले यसको गतिविधिबाट यस यस्ता ग्रहिकाबारे उपलब्धिमुलक तथ्यहरू फेला पारेको दावी गरिएको छ । विश्वका कतिपय अनलाईन सञ्चारमाध्यमहरूले ५२७६८ नामक यस ग्रहिकाले पृथ्वीमा ठक्कर दिने समाचारहरू सार्वजनिक गरेका छन् ।






