लन्डन । बेजिङस्टोक नेपाली समाज (बीएनसी) यूकेको आयोजनामा विन्टर पार्टी तथा दशैँ विशेष सांस्कृतिक कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ।
अक्टोबर १० शनिबार बेजिङस्टोकमा आयोजित कार्यक्रम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर डा. पल हार्भे तथा बीएनसीका अध्यक्ष विजय लिङथेप लिम्बूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अमृता पस्लुङ्वाले राखेकी थिइन् । सेफ्टी ब्रीफ कार्यक्रमको औपचारिक सञ्चालन समाजका महासचिव जगदीश वाग्लेले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा काउन्सिलर लौरा, काउन्सिलर लिन्डा, इस्टलिग नेपाली समाजका अध्यक्ष कमल पुर्जा, एनआरउनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, गुरुङ समाजका पूर्वअध्यक्षहरू तथा विभिन्न जातीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अथिति हार्वे र अथिति कमल पुर्जाले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा शान्ति लिम्बू, वसन्त गुरुङ, आशा राई, बल थापालगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
नेपालबाट सांगीतिक यात्राका लागि बेलायत आएका लोकप्रिय गायिका नीता थापा मगर तथा तारा लक्सम्बा लिम्बूको उत्कृष्ट सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उनीहरूका गीत तथा प्रस्तुतिमा उपस्थित दर्शकहरूले झुम्दै नाच्दै भरपूर मनोरञ्जन लिएका थिए ।
यसैगरी, स्थानीय कलाकारहरूले पनि आ–आफ्नो बेजोड प्रस्तुति दिएर दर्शकहरूको मन जित्न सफल भएका थिए।
सांस्कृतिक कार्यक्रमको सञ्चालन प्रिया राई लिङथेप तथा नवराज राईले गरेका थिए । उनीहरूको कुशल सञ्चालनले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र व्यवस्थित बनाएको थियो। दिउँसो ४ देखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक एकताको सुन्दर झलक देख्न सकिन्थ्यो।
उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, कलाकारहरू, प्रायोजकहरू, स्वयंसेवकहरू, कार्यसमितिका पदाधिकारीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति बेजिङस्टोक नेपाली समाज अध्यक्ष लिङ्थेपले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए । कार्यक्रममा करिब ४०० जनाको हाराहारीमा उपस्थिति रहेको थियो।








