लन्डन । राष्ट्रको सेवामा समर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन बलिदान गर्ने वीर सैनिकहरूको सम्मान तथा स्मृतिमा लन्डनस्थित सेन्ट पल्स क्याथेड्रलको किचनर कक्षमा साताौं गोर्खा राइफल्सको ऐतिहासिक स्मारक अनावरण गरिएको छ।
सन् १९०२ देखि १९९४ सम्मको इतिहास बोकेको सातौं गोर्खा राइफल्स, पछि ७औँ ड्युक अफ एडिनबरा आफ्नै गोर्खा राइफल्सका अफिसर तथा सबै दर्जाका सैनिकहरूको स्मृतिमा १० अक्टोबर २०२६ का दिन
आयोजित उक्त समारोहमा उनीहरूको साहस, त्याग, वीरता र राष्ट्रप्रतिको समर्पणलाई सम्मानपूर्वक स्मरण गरियो। भारतमा फिल्ड मार्शल अर्ल किचनरद्वारा स्थापना गरिएको उक्त पल्टनका वीर सैनिकहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले स्मारक अनावरण गरिएको हो ।
स्मारकमा अङ्ग्रेजी भाषामा सातौं गोर्खा राइफल्सका अफिसर तथा सबै दर्जाका सैनिकहरूको स्मृतिमा समर्पित सन्देश अङ्कित गरिएको छ। त्यसमा सन् १९०२–१९९४ को अवधि उल्लेख गर्दै फिल्ड मार्शल अर्ल किचनरद्वारा भारतमा स्थापना गरिएको पल्टनका सैनिकहरूप्रति सम्मान व्यक्त गरिएको छ।
स्मारकमा अङ्कित सन्देशमा राष्ट्रको सेवामा समर्पित भई सेवा गर्ने तथा आफ्नो जीवन बलिदान गर्ने सैनिकहरूको योगदानप्रति श्रद्धा अर्पण गरिएको छ।
त्यसैगरी, गोर्खाली सैनिकहरूको साहस र स्वाभिमानलाई प्रतिबिम्बित गर्ने ऐतिहासिक भनाइ “काफर हुनु भन्दा मर्नु निको।” पनि स्मारकमा समावेश गरिएको छ।
समारोहमा उक्त पल्टनमा सेवा गरिसकेका पूर्वअफिसरहरू, विभिन्न दर्जाका भूतपूर्व सैनिकहरू तथा उनीहरूका परिवारका सदस्यसहित करिब ४०० जनाको गरिमामय उपस्थिति रहेको थियो। वीरगति प्राप्त सैनिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै तथा उनीहरूको योगदानको स्मरण गर्दै इसाई, हिन्दू र बौद्ध धर्मपरम्पराअनुसार प्रार्थना गरिएको थियो। त्यसपछि राष्ट्र र कर्तव्यका लागि जीवन उत्सर्ग गर्ने सैनिकहरूको साहस, त्याग, वीरता तथा गौरवपूर्ण योगदानका गाथाहरू भावपूर्ण रूपमा वाचन गरियो।
कार्यक्रमका क्रममा वातावरण निकै भावुक बनेको थियो। वीरगति प्राप्त सैनिकहरूका आफन्त तथा सन्तानका आँखामा छल्किएका आँसुहरूले उनीहरूप्रतिको अगाध प्रेम, गौरव र विरहलाई अभिव्यक्त गरिरहेका थिए। ती आँसु प्रियजनसँगको विछोडको पीडा मात्र नभई राष्ट्र र कर्तव्यका लागि उनीहरूले गरेको महान् बलिदानप्रतिको गर्व, सम्मान र अविस्मरणीय सम्झनाका प्रतीकसमेत बने।
आत्मीय भेटघाटसँगै नेपाली परम्पराको झल्को
समारोहको अन्त्यमा नेपाली परम्परागत खानपानको व्यवस्था गरिएको थियो। त्यस अवसरमा पुराना साथीभाइबीच आत्मीय भेटघाट, भलाकुसारी तथा विगतका स्मरणीय क्षणहरूको आदानप्रदान भयो।
वर्षौँपछि भेटिएका पुराना सहकर्मीहरूबीचको आत्मीयता, आपसी सद्भाव र सैनिक जीवनका अविस्मरणीय अनुभवहरूको साटासाटले समारोहलाई थप विशेष बनाएको थियो। श्रद्धा, सम्मान, भावुकता र आत्मीयताले भरिएको उक्त ऐतिहासिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
ऐतिहासिक स्मारक अनावरण कार्यक्रमलाई साकार पार्न अग्रसरता लिनुहुने व्यक्तित्वहरू, कार्यक्रमका आयोजक तथा प्रायोजकहरू र विभिन्न तह तथा तप्काबाट आर्थिक, भौतिक एवं नैतिक सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ।
सातौं गोर्खा राइफल्सका वीर सैनिकहरूको त्याग, साहस, कर्तव्यनिष्ठा र बलिदान इतिहासमा सधैँ अमर रहनेछ। उनीहरूको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरिएको छ।











