एटा सम्वाददाता
अल्डरसट । नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा नरेश खपाङ्गी मगर पुनः निर्वाचित भएका छन् ।
पत्रकार महासंघ बेलायत शाखाको गत शनिबार १९ मे का दिन अल्डरसटमा सम्पन्न चौथो अधिवेशनबाट खपाङ्गी मगर दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले एक अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र तीन सचिवलगायत पदाधिकारी सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुइँटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुञ्जा र बिमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन कार्की, कोषाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री र सहकोषाध्यक्षमा रोशन राई चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, नरेश काङमाङ, सुरेन्द्र इङ्नाम, तीर्थबहादुर मल्ल (अनिल), गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुसी लिम्बू र खेमराज रानाभाट चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले शनिबार नै शपथ लिए भने केहीले असहमति जनाउँदै शपथ लिएनन् ।
यसअघि नै कार्यसमितिले चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुत पुन रहेको निर्वाचन समिति गठन गरेको थियो । त्यस्तै, निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नवीन पोखरेल, हरिकुमार गुरुङ ‘काजी’, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई चयन गरिएको थियो ।
नेपाली दूतावासका उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलगायतको विशेष उपस्थिति रहेको थियो ।






