– एटा सम्वाददाता
मिचेट । तमुधिं युकेले आउँदो २७ मे आइतबारका दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १६ औं गोर्खा कपको तयारी पूरा भएको जनाएको छ ।

गत आइतबार २० मे २०१८ का दिन तमुधिं भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्या. पीताम्बर गुरुङले सो जानकारी दिएका हुन् । उनले हेल्थ एण्ड सेफ्टीलाई विशेष महत्व दिँदै सुरक्षा संयन्त्रलाई व्यवस्थित गरिएको र यसवर्ष नन्भेट्रानतर्फ ३२, भेट्रानतर्फ १० वटा टिमले भाग लिने जनाए । साथै, उनले यसवर्ष सहारा युकेका अध्यक्ष मिन गुरुङको विशेष पहलमा ‘एफए’ कप प्रदर्शन गरिने जनाए ।
पत्रकार सम्मेलनमा संयोजक गुरुङले र गोर्खा कपसम्बन्धी तयार पारिएको छोटो भिडियो चित्र प्रदर्शन गर्दै ‘गोर्खा कप तमु र गोर्खाहरुको मात्र होइन, हामी सबै नेपालीको हो’, भन्दै खेललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आपूmहरु ६ महिनादेखि लगातार जुटिरहेको बताए । उनले गतवर्ष १२ हजार दर्शकको उपस्थिति रहेको बताउँदै यसवर्ष पनि १० हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको बताए । गोर्खा कपमा फुटबलप्रति इच्छुक नेपाली युवाहरुलाई बढीभन्दा बढी सहभागी गराउने उद्देश्य राखिएकोले यसवर्ष एफए कपले फुटबलसम्बन्धी जानकारी दिनका लागि स्टल राख्नेछ ।
खेलाडीहरुको मनोबलसमेत वृद्धि होस् भन्नाका लागि यसवर्ष पुरस्कारको राशि बढाइएको जनाउँदै नन्भेट्रानतर्फ प्रथम हुनेलाई २५०० पाउन्ड र दोस्रो हुनेलाई १५०० पाउन्ड, भेट्रानतर्फ प्रथमलाई १२०० पाउन्ड र दोस्रोलाई ८०० पाउन्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताए । त्यसका साथै मुख्य कपसहित विभिन्न ट्रफीहरु प्रदान गरिने बताए । आइडिया फर नेपालका संस्थापक अध्यक्ष गोकर्ण श्रेष्ठले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई विभिन्न व्यक्ति, उद्यमी, व्यापारी र व्यवसायीहरुले प्रायोजन गरेको बताए । यसवर्ष फुटबल सँगसँगै नृत्य, आर्मीको मेडिकल व्याण्ड, प्याराजम्प, नेपाली म्युजिक, तेक्वान्दोलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । करिब २०० जना अतिथिहरुको विशेष उपस्थिति रहने प्रतियोगितामा स्थानीय रसमुर बोरो काउन्सिलका मेयर, नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण, मिलेटरी एट्याची कुमार थापा, ब्रिटिस आर्मीका कर्णल बिजी र अफिसरहरु, मुख्य प्रायोजक आइडिया फर नेपालका संस्थापक अध्यक्ष गोकर्ण श्रेष्ठ, स्थानीय एमपी लियो डोचार्टी, फिफा हमसायरका प्रतिनिधि, स्थानीय काउन्सिल, स्थानीय प्रहरी र नेपाली संघसंस्थाका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने जनाइएको छ ।
प्रतियोतिामा सदाझंै यसवर्षमा पनि ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, गुल्मेली पञ्चे बाजा, हङकङका खेलाडीद्वारा मार्शल आर्ट, धनुषवाण, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल रहने भएको छ । त्यस्तै, एनआरएनए युकेले निःशुल्क हेल्थ क्याम्प सञ्चालन गर्ने भएको छ ।
करिब ४० हजार पाउन्ड अनुमानित खर्च हुने जनाइएको पत्रकार सम्मेलनमा संयोजक क्या. गुरुङले स्वास्थ्य र सुरक्षालाई विशेष ध्यान दिइने बताउँदै सो दिन १०० वटा सेक्युरिटी अफिसर, ३० जना प्रहरी, २ वटा एम्बुलेन्स र मेडिकल टिम रहने बताए । साथै, करिब १०० जना स्वयंसेवक, स्वयंसेवक, युवा र आमा समूहले विशेष भूमिका निभाउने छ ।
खेल सँगसँगै भेटघाटको थलो बन्दै आएको गोर्खा कपमा आर्मीको ६ वटा, फायर बिग्रेड, पुलिसको ३ वटा, हमसायर एफए एशोसिएसनको १, रेस्टुरेन्ट १० र ४० वटा आर्टस् एण्ड ग्यालरीको स्टलहरु रहन जनाए ।
बिहान ९:३० बाट सुरु हुने गोर्खा कपमा स्वास्थ्य तथा सुरक्षा, प्राथमिक उपचार, इभाक्यूएसन प्लान, ट्राफिक म्यानेजमेन्ट, कार पार्किङ्ग, फोहोरमैला व्यवस्थापन, इमर्जेन्सी गेट, हेली प्याड, कारपार्क र अस्थायी शौचालयको समेत व्यवस्था
गरिएको बताए ।
कार्यक्रममा हालै तमुधिं युकेले गुरुङहरुको ऐतिहासिक थलो क्होलासोंथरको भ्रमणबारे तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो । सो अवसरमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले भ्रमणको बारेमा बोलेका थिए ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले टिम ड्र गरेका थिए भने टिम ड्र मा सल्लाहकार एवं इभेन्ट इन्चार्ज ले.रि. कुसाङ्ग गुरुङ र सल्लाहकार एवं सहइभेन्ट कुमार गुरुङ र वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले विशेष भूमिका खेलेका थिए । विभिन्न टिमका प्रतिनिधि, तमुधिं यूकेका सल्लाहकार एवं पदाधिकारीहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष एवं वी नेपालीका श्याम लुइँटेल, कान्तिपुर दैनिकका संवाददाता नबिन पोख्रेल, एभरेष्ट टाइम्सका सम्पादक हरिकुमार (काजी), एभरेष्ट टाइम्सका सम्पादक एवं नेपाल पत्रकार महासंघ युकेका उपाध्यक्ष लिलामान शेरपुञ्जा, नेपाल पत्रकार महासंघ युकेका सचिव एवं लन्डन नेपाल न्युजका शिव भण्डारी, गोर्खा इन्फरमेशनका पूर्ण गुरुङ, एभरेष्ट च्यानलका सविन्द्रकुमार गुरुङ, शितलपाटी डट कमका बाचस्पति रेग्मीलगायत पत्रकारको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङले उपस्थित पत्रकारहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरे । सो अवसरमा नेपाल पत्रकार महासंघ युकेको हालै सम्पन्न चौथों अधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले पत्रकार महासंघ संघसंस्थासँग मिलेर अगाडि बढ्ने बताए ।
अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सबै पत्रकारहरुलाई धन्यवाद दिँदै तमुधिं युकेले आयोजना गर्न लागेको १६औं गोर्खा कपमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई सहभागी भइदिनहुन अनुरोध गरे । पत्रकार सम्मेलनकै क्रममा हालै नेपालबाट आएका लामा धर्मगुरुलाई स्वागत खादा लगाई स्वागत गरिएको थियो भने तमुधिं लन्डन इकाईका निवर्तमान अध्यक्ष दीपक (डेविड) गुरुङलाई सल्लाहकारमा चयन भएकोको स्वागत गरिएको थियो ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव कृष्ण गुरुङले सञ्चालन गरेका थिए । त्यस्तै बेटमास्टर एवं माउसटेल वेभ सर्भिसेजका मान गुरुङले पत्रकारहरुको परिचय गराएका थिए भने चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङले अतिथिहरुको बारेमा बोलेका थिए ।






