लन्डन २३ भदौ । बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उनका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् ।
अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ । हाल बेलायतमा प्रहरी हिरासतमा रहेका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ ।
असान्जमाथि अमेरिकामा गुप्तचर सम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उहाँमाथि १७५ वर्षको जेलसजाय हुनेछ ।
असान्जका वकीलहरुले उहाँमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उहाँलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् ।






