नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ठूलो खोला लामासोतीका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङ, पूर्वसांसद बिमला सुवेदी, पार्टीका नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने, पूर्वसांसद कमला दोङ र काठमाडौं महानगरपालिका सहसंयोजक निरज लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको हो ।
बाढीपीडितका लागि १०० थान प्रेसर कुकर, १०० थान आल्मुनियम कराई, १०० थान इन्डक्सन चुलो, १०० थान पानी फिल्टर र १०० थान स्टिल र्याक वितरण गरिएको छ । त्यस्तै, २०० थान स्टिल थाल, २०० थान गिलास, २०० थान कचौरा, १०० थान पन्यु, १०० थान डाडु र २०० थान चम्चा पनि उपलब्ध गराइएको छ ।
पीडितलाई ज्याकेटलगायतका कपडा पनि वितरण गरिएको छ ।
त्यसैगरी, राई बस्तीका लागि खानेपानी पाइप चार बन्डल उपलब्ध गराइएको जनाइएको छ । उक्त राहतका लागि नेपाली जनप्रगतिशील मञ्च जापान, नेकपा बागमती प्रदेश सम्पर्क समिति, निशिओ आर्किटेक्चरल डिजाइन अफिस कम्पनी लिमिटेड र नेकपाका युवा नेता एवम् बागमती प्रदेश समितिका सदस्य निरज लामा लगायतले सहयोग गरेका थिए ।








