नुवाकोटका जुम्ल्याहा विश्वविजय लामिछानेको संयुक्त उपन्यास ‘प्रेमको धागो’ सार्वजनिक

SHARE:

नुवाकोट । नुवाकोटको सूर्यगढीका जुम्ल्याहा दाजुभाइ विश्व र विजय लामिछानेले संयुक्त रूपमा लेखेको पहिलो उपन्यास ‘प्रेमको धागो’ सार्वजनिक भएको छ ।

२०८३ असोज १८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित बृहत् पुस्तक प्रदर्शनीका अवसरमा उपन्यास सार्वजनिक गरिएको हो । नेकपा नेता पुष्प लामिछाने र पूर्वसांसद विमला सुवेदीका जुम्ल्याहा छोराहरू विश्व र विजय साहित्यमा सक्रिय हुन अस्ट्रेलिया छाडेर नेपाल फर्किएका हुन् । उपन्यासको लेखन अनुभव सुनाउँदै विश्वले दुई जनाले संयुक्त रूपमा लेखेकाले अपेक्षाभन्दा कम समयमा पुस्तक तयार भएको बताए । ‘सम्भवतः यसलाई छ वर्ष लाग्ने थियो । यद्यपि दुई मस्तिष्कको कर्मठताले यो उपन्यास तीन वर्षमा पूर्ण हुन पाएको छ,’ उनले भने, ‘यो निकै कष्टसाध्य र आरोह–अवरोहपूर्ण लेखन यात्रा थियो । तीन वर्षपछि उपन्यास सार्वजनिक गर्न पाउँदा हामीलाई गर्व र आनन्दको अनुभूति भइरहेको छ ।’

विजयले पनि अस्ट्रेलियामा रहँदा विभिन्न चुनौतीको सामना गर्दै उपन्यास तयार पारेको बताए । उनका अनुसार नेपाली साहित्यमा आख्यान विधाअन्तर्गत जुम्ल्याहा दाजुभाइले संयुक्त रूपमा लेखेको यो पहिलो उपन्यास हुन सक्नेछ । उपन्यासमा प्रेमलाई केवल दुई व्यक्तिबीचको आकर्षणका रूपमा मात्र नभई आमाबुबा र जन्मभूमिप्रतिको गहिरो अनुरागका रूपमा समेत प्रस्तुत गर्न खोजिएको विश्वले बताए । ‘प्रेमको भावना फगत आकर्षण मात्र नभई एउटा व्यक्तिको आफ्नो जनक, जननी र जन्मभूमिप्रतिको अपरिमित प्रेम र प्रणयको सूत्र पनि हो भन्ने विषय उपन्यासमार्फत प्रतिबिम्बित गर्न खोजेका छौँ,’ उनले भने ।

विजयका अनुसार उपन्यासमा युवा–युवतीबीचको प्रेमसँगै सामाजिक परिवेशले सम्बन्धमा पार्ने प्रभाव र त्यसले सिर्जना गर्ने जटिलतालाई पनि समेटिएको छ । प्रेमलाई व्यापक दृष्टिकोणबाट नियाल्ने प्रयास गरिएको उल्लेख गर्दै उनले सामाजिक परिवेशले प्रेम सम्बन्धमा गाँठो पार्न सक्ने विषयलाई पनि महत्त्व दिइएको बताए ।

विश्वका अनुसार उपन्यासमा तीन प्रमुख पक्षलाई समेटिएको छ । पहिलो, आमाबुबा र जन्मभूमिप्रतिको प्रेमले व्यक्तिको जीवनलाई निर्देशित गर्ने पक्ष । दोस्रो, युवापुस्ताको मनोवृत्ति र भावनालाई मनोवैज्ञानिक दृष्टिले बुझ्ने प्रयास । तेस्रो, युवा, महिला तथा विभिन्न जातजाति र समुदायले भोग्दै आएका पीडा र विभेद ।

उपन्यासले जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने विजयले बताए । उनका अनुसार युवाले स्वदेश तथा विदेशमा रहँदा भोग्ने सामाजिक र आर्थिक सङ्घर्ष तथा जीवनका हन्डर–ठक्करलाई कथामा समेटिएको छ ।
‘समग्रमा यो युवाको उपन्यास हो, महिलाको उपन्यास हो र सबै उमेर समूहले पढ्न उपयुक्त खालको छ,’ उनले भने ।

इन्डिगो इङ्क प्रकाशनमार्फत बजारमा आएको ‘प्रेमको धागो’ नजिकका पुस्तक पसल तथा विभिन्न अनलाइन प्लेटफर्मबाट खरिद गर्न सकिने जनाइएको छ । लेखकद्वयले पाठकलाई उपन्यास पढेर आफ्ना सुझाव र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!