
एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा लोकप्रिय ‘नेपाली ओपन कन्सर्ट’ को तयारी पूरा भएको आयोजक मगर संघ युकेले जनाएको छ ।
गत शनिबार २ जुनका दिन अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । ‘म्यूजिक फर युनिटी’ नामक नाराका साथ आउँदो ९ जुन शनिबारका दिन फार्नबोरोस्थित फार्नबोरो फुटबल स्टीडियममा ओपन कन्सर्ट हुनेछ ।
मगर संघ युकेले सन् २००७ बाट आयोजना गर्दै आएको ओपन कन्सर्ट नेपाल आईडल–२०१७ मा चौंथो हुन सफल युवा गायक सागर आले, लोक गायक विमलराज क्षेत्री, पदम थापा, गायिका प्रिती आले र मिना लामाले तताउने छन् ।
जेष्ठ नागरिक र ६–१२ वर्षसम्मका दर्शकका लागि १० पाउन्ड प्रवेश शुल्क तोकिएको कार्यक्रममा एडल्टतर्फ अग्रिम टिकट लिएमा १२ पाउन्ड र प्रवेशद्वारमा १५ पाउन्ड तोकिएको आयोजकले जनायो । आयोजकका अनुसार टिकट अनलाईनमार्फत पनि लिन सकिने छ ।
सुरक्षा बजबुत बनाउन स्टीडियमका १४ कर्मचारी र २० एसआईए होल्डर सेक्युरिटीको व्यवस्था मिलाइएको छ । त्यस्तै, कार्यक्रममा टाढाटाढाका दर्शकहरुलाई विशेष ध्यान दिइँदै बस सेवा र कार पार्किङको विशेष व्यवस्था गरिएको छ । नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलनमा मगर संघ युकेका अध्यक्ष नेम थापा, वरिष्ठ उपाध्यक्ष एवं एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष एवं कार्यक्रम संयोजक बमबहादुर सूर्यवंशी मगर, उपाध्यक्ष एवं सहसंयोजक सीता पुन र प्रेम गाहा मगरलगायतले कार्यक्रमबारेमा जानकारी गराएका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रमका लागि अमेरिका निवासी होप खड्काले ५००० डलर सहयोग गर्ने भएको छ । मगर संघ युकेका १४ वटा शाखाको समेत विशेष प्रस्तुति रहने कन्सर्टमा करिब ३००० देखि ५००० जनाको उपस्थिति, ३ वटा फुड्ससहित १७ वटा व्यापारिक स्टल रहनेछन् । कार्यक्रमका लागि ३०÷३५ हजार पाउन्ड खर्च लाग्ने आयोजकको अनुमान छ ।
मगर संघ युकेका पदाधिकारीहरुको समेत विशेष उपस्थिति रहेकोे पत्रकार सम्मेलनमा गायक विमलराज क्षेत्री, गायिका प्रिती आले र उपस्थित पत्रकारलाई खादा लगाई स्वागत गरिएको थियो ।
मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन महासचिव लालबहादुर थापाले सञ्चालन गरेका थिए ।






