पोखरा कात्तिक २५ । तमु प्ये ल्हु संघ, युके शाखाद्वारा गुरुङ फिल्म एशोसिसन नेपाल (जिफान) लाई तमु (गुरुङ) लघु चलचित्र निर्माणार्थ रकम हस्तान्तरण गराएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिले एक कार्यक्रमबीच सोमबार जिफानलाई तमु प्ये ल्हु संघतर्फबाट ९० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हित काजी टु क्ल्हेप्री तमुले कलाकारहरु समाजका अभियन्तासमेत भएकाले गुरुङ चलचित्र निर्माण गर्दा तोडमोड नगरी मौलिक र यथार्थपरक विषयवस्तु ल्याउनुपर्ने बताए । उनले चलचित्र पनि समाजको ऐना भएकाले गलत विषयवस्तुले नराम्रो सन्देश जाने हुँदा कलाकार तथा लेखकले त्यस्ता विषयवस्तुमा ध्यान दिनुपर्ने बताए ।
जिफानका अध्यक्ष भोजबहादुर गुरुङले विगत २५ वर्षमा गुरुङ चलचित्र धेरै निर्माण भए पनि अन्यबाट प्रभावित भई गुरुङको वास्तविक मौलिक चलचित्र निर्माण हुन नसकेको स्वीकारे । जिफानले सो विषयवस्तुलाई मसिनो रुपमा कलाउँदै अब निर्माण हुने गुरुङ चलचित्रहरु त्यस्तो नहुने उनले बताए ।
गुरुङको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको एक मात्र धरोहर तमु प्ये ल्हु संघ भएकाले अब संघसँग सहकार्य गरी अघि बढ्ने बताए । संघका केन्द्रीय महासचिव हर्क गुरुङद्वारा सञ्चालित रकम हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ यूके शाखाका सल्लाहकार मनबहादुर म्रु तमु, केन्द्रीय उपाध्यक्ष भोजबहादुर तमु, जिफानका उपाध्यक्ष गुञ्जबहादुर तमुलगायतले मन्तव्य राखेका थिए ।
गत वैशाखमा कोरोना महामारीका कारण थलिएको गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन लघु चलचित्र निर्माण गर्ने जिफानले घोषणा गरेको थियो । गुरुङ चलचित्र निर्माण भएको २५ औं वर्ष पूरा भएको अवसरमा गत वैशाख २५ गते जिफानको वार्षिकोत्सवको अवसर पारेर लघु चलचित्र निर्माण गर्ने बताएको जिफानले हालसम्म ८ लाख रकम संकलन गरिसकेको छ ।
त्यस्तै लघु चलचित्र निर्माणार्थ ८ वटै समूह बनाई ४ वटा लघु चलचित्रको छायाङ्कन पनि गरिसकेको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए ।






