काठमाडौं मंसिर ६ । तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको शनिबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए ।
श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उहाँले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।
के–के छ श्रीसदनमा
श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्र्याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन् ।






