नयाँ दिल्ली पुस १९ । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।
केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार पीडितहरू आफ्नो आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो । मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछिउपचारका क्रममा मृत्यु भएको थियो ।
भाजपा सांसद वीके सिंह, विधायक अजीत पाल त्यागी, उत्तर प्रदेश मंत्री अतुल गर्गलगायतका नेता पनि घटनास्थल पुगेका थिए ।






