ओम थापा काउचा
बेलायत । गुल्मी भार्सेका बेलायतवासीको भार्सेली समाज युकेको हरेक वर्षजस्तै वार्षिक भेटघाट हर्षोल्लाससाथ सम्पन्न भएको छ ।
मे २६ तारिखका दिन केयाम्बर्ली सेयान्डस्टमा भार्सेलीले वार्षिक भेटघाट भव्यरूपमा मनाएका हुन् । उपाध्यक्ष गिरी पुनको अध्यक्षतामा सञ्चालन भएको औपचारिक कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार ओम थापा काउचा विशेष अथिति थिए ।
सचिव बिन भुजेलले सञ्चालन गरेका कार्यक्रममा अथिति आशनग्रहणपश्चात संस्थाको गतिविधिको समीक्षा गर्दै आउँदो दिनमा कसरी तीव्ररूपमा अघि बढ्ने भन्नेमा गहन छलफल भएको भार्सेली समाजले जनाएको छ ।
आफ्नो जन्म गाउँको विकासको निम्ती भार्सेली समाज युकेको जन्म आजभन्दा ११ वर्ष अघि सन् २००८ मा भएको थियो । संस्थाको स्थापना अध्यक्ष क्याप्टेन रिटायर मेखबहादुर गलामी, उपाध्यक्ष क्याप्टेन रिटायर कुलबहादुर राना, सचिव छत्र श्रीस, कोषाध्यक्ष दुर्गा बुराथोकी, सहकोषध्यÞक्ष नारायणसिंह गलामी साथै अन्य सदस्यहरुको सहकार्यमा भएको थियो ।
भार्सेली समाजले ऐतिहासिक थलोहरूको पुनर्निर्माणमा सहयोग, वैज्ञानिक कषि, स्वास्थ्य र शिक्षाजस्ता कार्यहरूमा सहयोग पुर्याउँदै आएको छ ।
भार्सेमा अवस्थित गुल्मीकै सबैभन्दा पुरानो हाईस्कुल जनसहयोग माविमा अध्यनरत गरिब र सबैभन्दा राम्रो अंक ल्याउने विद्यार्थीहरुलाई विशेष पुरस्कार दिइँदैआएको छ । साथै हेल्थ पोष्ट, हुलाक, ठूलो पोखरी मर्मत, मठ मन्दिरको पुनर्निर्माण, स्थानीय युथ क्लबहरुले आयोजना गर्ने मनोरञ्जनात्मक कार्यक्रम, प्राकृतिक प्रकोपपीडितहरुलाई आर्थिक सहयोग गर्ने गर्दछ ।
निकट भविष्यमा गुल्मीकै उत्तम पर्यटकीय स्थान बनाउन सहयोग गर्ने तयारी रहेको सचिव बिन भुजेलले जानकारी दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन रिटायर मेख गलामी, उपाध्यक्ष क्याप्टेन कुलबहादुर राना र कोषाध्यक्ष प्रेम बुराथोकीलगायत पदाधिकारीहरूलाई विशेष सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नयाँ आजीवन सदस्यहरु र उच्च शिक्षा हासिल गरेका युवायुवतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गुल्मी भार्सेली ठाडोभाकासहित युवायुवतीहरूले मनोरञ्जन दिएका थिए ।
अन्तमा कार्यक्रमस्थल उपलब्ध गराई सहयोग गर्ने रत्न काउचा टिकटिङमा श्याम पुन, गंगा राना र पदम भुजेल, पिय पदार्थ र खानपिनमा श्रीमान्, श्रीमती राम रानाकेसरी काउचा र सुनिता भुजेल अनि मनोरञ्जनमा नुतन श्रीस, रुविना श्रीस र अजय भुजेललगायत सम्पूर्ण उपस्थित गाउलेहरुलाई धन्यवाद दिइएको थियो । कार्यक्रममा भार्सेली छिमेकी गाउँलेहरुका बाक्लो उपस्थिति थियो ।






