लन्डन असार ३ । बेलायतबाट नेपाली कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य लिएका कलाकार दिपक मैथाने मगरले जन्मदिनमा नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् ।
बिहीबार एक कार्यक्रमबीच प्रमुख अतिथि एवं तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले ‘बैगुनी’ बोलको म्यूजिक भिडियो विमोचन गरेका हुन् । प्रमुख अतिथि गुरुङले धन्यवाद व्यक्त गर्दै म्युजिक भिडियो उत्पादन टिमलाई सम्मान पत्र र तमु समाज यूकेकी उपाध्यक्ष विन्दु घलेले मायाको चिनो प्रदान गरेका थिए ।
उक्त भिडियो मैथानेको अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्टमार्फत युट्युबमा हेर्न सकिनेछ ।
समारोहमा सफल कोरियोग्राफर तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका तेनयाङ राना (सरु) गुरुङ,नायक ध्रुव दत्त, मोडल सृजना निङ्लेकु, भीम राना, लगायतको उपस्थित थिए । कार्यक्रम मगर संघ यूकेका युथ अध्यक्ष किशोर रानाले सञ्चालन गरेका थिए ।
भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ गरेका छन् ।
चर्चित कलाकार प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । मिक्सिङको काम मनबहादुर बरालले गरेका छन् । लेकाली स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतमा नवीन निरौलाले कलरिङ्ग गरेका छन् ।
भिडियोग्राफी, निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन् । बेलायतका मुख्य क्षेत्रहरुमा सुट गरिएको म्यूजिक भिडियोमा प्रेम विछोड तथा बैगुनी प्रेमी प्रेमिकाको गाथा उनिएको छ । नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बनाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।






