विश्वयुद्धको खतरा टरेकै हो ?

SHARE:

काठमाडौं । छ महिना अघिसम्म एकअर्काले रकेट म्यान र पागल बुढोको अपमानजनक शब्दावली प्रयोग गर्दै आणविक युद्धको धम्की दिइरहने ट्रम्प र किमबीच आश्चर्यजनक रुपमा भएको यो भेटवार्ताले ६५ वर्षदेखि अस्थिर र संवेदनशील बनेको कोरियाली प्रायद्विपमा स्थायी शान्तिको ढोका खुलेको छ । कयौं वर्षसम्मको धम्की र तनावपछि यस्तो समय पनि आउँदो रहेछ, जसको केही महिना अघिसम्म सोचाई पनि हँुदैनथ्यो । एकअर्काका दुश्मन, काटाकाट र मारामारको अवस्थाकै बीचबाट चामत्कारिक रुपमा शान्ति, सद्भाव, भातृत्व र समृद्धिको कामनासहित विश्वकवा दुई शक्तिशाली नेताको भेट भएको छ, दक्षिणपूर्वी एशियाको समृद्ध मुलुक सिंगापुरमा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको सन्टोसा द्वीपमा ऐतिहासिक युगान्तकारी शिखर वार्ता भएको छ ।

गत बैशाख १४ गते दक्षिण कोरियाको असैन्यकृत क्षेत्र पानमुङजोममा भएको उत्तर र दक्षिण कोरियाका नेताहरुको भेटवार्तामा भएका प्रतिवद्धताहरु पालना गर्ने वातावरण बनेको छ । कोरियाली प्रायद्विपमा शान्तिका झण्डाहरु फहराउने संकेत मिलेको छ । शान्तिप्रेमी कोरियाली जनता हर्षले विभोर बनेका छन् । कोरियाली प्रायद्विप र सिंगो मानवसमाजका लागि शान्तिको कामना गरिएको छ ।

के भयो वार्तामा ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच मंगलबार सिंगापुरमा ऐतिहासिक शिखरवार्ता सम्पन्न भएको छ । पहिलो शिखरवार्तामा दुवै नेताले संयुक्त रुपमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरेका छन्, भने त्यसको बदलामा किमले आणाविक निशस्त्रीकरणको पानमुनजोङ घोषणापत्रमा पुनः प्रतिबद्धता जनाएका छन् । सन १९४५ पछि चिसिएको सम्बन्ध शिखरवार्ताले पुनः जोड्ने प्रयास गरेको छ । औपचारिक रुपमा सन १९५३ मा शत्रुतापूर्ण युद्ध यात्रामा भिडिरहेका दुइ मुलुक सन २०१८ को पूर्वाद्र्धमा आइपुग्दा सुधारको संकेत देखिएको छ ।

दक्षिण कोरियाली राष्टपति मुन र उत्तरकोरियाली नेता किमबीच अप्रिल २७ मा पान्मुन्जोम शिखर वार्ताले अमेरिका र उत्तर कोरीयाबीचको नयाँ सम्बन्ध सुरुवात गर्ने आधार तय गरेको थियो । विश्व युद्धका मुख्य कारक मानिएका यी मुलुकबीच भएको शिखर वार्ताले विश्व राजनीतिमा नयाँ आयामको तरंग पैदा गरेको छ । लामो समय युद्धमा होमिएका मुलुकबीच औपचारिक रुपमै भएको शिखरवार्तालाई ऐतिहासिक रुपमा हेरिएको छ ।

साढे ६ दशक लामो शत्रुतापूर्ण सम्बन्धलाई सेन्टोसा शिखरवार्ताले नयाँ अध्यायको शुरुवात गरेको छ । विश्वको ध्यानाकर्षित गरेको सेन्टोसा शिखरवार्ताले दुवै देशबीच सम्बन्ध सुधारलाई लिपिवद्ध गरेको छ । शिखरवार्तामा दुवै नेताले चार बु“दे सम्झौता गरेका छन् । ६ महिना अघिसम्म एकअर्कालाई सिध्याउनका लागि योजना बनाउने अमेरिका र उत्तरकोरियाका नेताहरुले मंगलबार सिंगापुरमा ऐतिहासिक हात मिलाएका छन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि प्रतिवद्धता जनाएका छन् । ट्रम्प र किमबीच भएको सम्झौतामार्फत विश्व शान्तिको यात्रालाई साझा लक्ष्य बनाइएको छ ।

के छ चार बुँदे सम्झौतामा ?
१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नया सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ ।२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने ।

३. गत अप्रिलमा अन्तर कोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने । पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने । ४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपूरणको सहमति समेत भएको छ ।

अमेरिका–उत्तरबीच नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किम जोङ उनले विस्तृत, गहिरो र व्यापक छलफल गरेका छन् । ४५ मिनेट लामो सेन्टोसा शिखरवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षाको ग्यारेन्टी गरेका छन् । नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहो¥याएका छन् । किमले यो सम्झौतामा अप्रिल २७ को पान्मुन्जोम घोषणापत्रकै प्रतिबद्धततालाई दोहो¥याएका हुन् । शिखरवार्तामा दुवै नेताबीच सम्झौतामा सहीछाप ठोक्ने मात्रै भएन, दुवै नेताबीचको आत्मीयता निकै रोचक समेत बनेको छ । दुवै नेता अंकमाल गर्दै विश्व शान्तिको यात्रामा हिड्ने बाचा समेत गरेका छन् । दुवै नेताबीचको वार्ताको माहोल शत्रुताको विदाइ गर्दै विश्व बन्धुत्व र भातृत्वको प्रादुर्भाव गरेको दृष्य निकै महत्वपूर्ण रहेको छ ।

त्रासदीपूर्ण लामो युद्धमा पूर्णविराम ?
कोरिया विभाजनपछि सन १९५० मा शुरु भएको हो कोरिया युद्ध । तात्कालीन सोभियत संघ र अमेरिकाको स्वार्थमा कोरिया प्रायद्धीपलाई खण्डित बनाइएको हो । विश्व महाशक्तिको होडमा रहेका तत्कालिन सोभियत संघ र अमेरिकी स्वार्थमा कोरियालाई उत्तर र दक्षिणमा विभाजन गरियो ।

सन १९५० मा उत्तर कोरियाले दक्षिणमाथि धावा बोल्यो । अमेरिकाले ‘कम्युनिष्ट’को हमलालाई सामना गर्न भदै दक्षिण कोरियामा सेना पठायो । अमेरिकाको सहयोगमा दक्षिण कोरियाको राजधानी सियोल दुई महिनाभित्रै स्वतन्त्र पनि गराइएको थियो । तर, प्रायद्वीपलाई एउटै बनाउनका लागि आफ्नो सेना उत्तर पठाउने अमेरिकाको निर्णयमा चीनले आफ्ना चार लाख सेना कोरिया पठायो १९५० देखि ५३ सम्म भएको भीषण युद्धमा अमेरिकाले उत्तर कोरियाली भूभागमा लाखौं टन बम बर्सायो । उत्तर कोरियाको कुनै पनि भूभागलाई बांकी रहेन अमेरिकी निशानाबाट । संयुक्त राष्ट्र संघको आवरणमा उत्रिएका अमेरिका र उसका सहयोगी देशका सेनाले उत्तर कोरियाको भूभागमा उत्पात मच्चाए पनि किम इल सुङ नेतृत्वको कोरियाली जनसेनाले प्रतिवाद गर्यो ।

चिनिया जनमुक्ति सेनाले समेत कोरिया युद्धमा हजारौं सदस्य गुमायो । तर, युद्धमा न त अमेरिकाले जित्यो, न त चीनसमर्थक कोरियाले । अन्ततः युद्धबिराम भयो । २७ जुलाई १९५३ मा दुवै पक्ष अस्थायी रुपमा युद्धविरामको सहमतिमा हस्ताक्षर गर्न सहमत भए । आजसम्म पनि यो युद्धविराम मात्र कायम रहेको छ कोरियाली प्रायद्विपमा । ३८ प्यारालल लाईनले उत्तर कोरिया र दक्षिण कोरियालाई छुट्याईयो । हजारौं किलोमिटर क्षेत्रमा बलियो फोर्टिफिकेसन सहितको असैन्यकृत क्षेत्र बन्यो । आजसम्म पनि कोरिया प्राविधिक रुपमा युद्धको अवस्थामै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता पछि भने यो युद्धबिराम स्थायी शान्तिसम्झौताको ढोका खुलेको छ ।

६५ वर्षको बीचमा विश्वका शक्ति राष्ट्रहरुको परेड खेल्ने स्थान बन्न पुग्यो, कोरियाली प्रायद्धीप । सबैले हतियारको प्रतिस्पर्धा गरे, खुबै । आणविक युद्धबाट कोरियालाई जोड्ने वहस चलेपनि विश्व राजनीतिमा । तर दुवै कोरियाको विवादमा महाशक्ति राष्ट्रहरुले शक्तिको प्रदर्शन गर्न सफल त भए । तर, लाखौ कोरियालीले मृत्यू रोज्नु प¥यो । लाखौं कोरियाली नागरिक मारिए, करिब एक लाख बालबालिका आमाबा विहिन् बने । करोडौं कोरियाली नागरिक बिस्थापित हुन पुगे । अस्थायी युद्ध विराम भएपनि युद्धको पूर्णविरामको प्रतिक्षारत छ कोरियाली प्रायदिप । साढे ६ दशकपछि कोरियाली जनता र विश्व जगत कोरियाली प्रायद्धीपमा शान्तिको दीप बलेको हेर्न आतुर छन् ।

६४ वर्षसम्म दुवै मुलुकबीच जहिले पनि जतिसुकै बेला पनि युद्ध हुनसक्ने अवस्था सधै रहदै आयो । विश्व जगत त्राही त्राहीमा रहदै आयो । तर अप्रिल २७ सन् २०१८ पछि भने यस इलाकामा शान्तिको उषा देखिन थालेको हो । विगतको तिक्ततालाई अन्त गर्दै त्रासदीपूर्ण युद्धको अन्त गर्नका लागि ४ बु“दे सम्झौता गर्दै विश्व शान्तिको लागि साझा मार्ग कोर्न राजी भएका छन् उत्तर कोरिया र अमेरिका ।

विगतको युद्धको उन्मादले विश्वको शान्ति र समृद्धि संभव नहुने निष्कर्ष निकालेका यी दुइ नेताले सेन्टोसा शिखरवार्तामा बस्न राजी भएका थिए । वार्तामा बस्ने मात्रै होइन विश्वलाई युद्धबाट उन्मुक्ति दिन बाचा गर्न सफल भए । विगतको वैमनस्यता एकय असी डिग्रीमा फन्को मार्न पुग्यो । शत्रुताबाट भातृत्वमा उभिन भ्याएका छन् अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेता । युद्धको उन्मादले केही प्राप्त हुंदैन वार्ताको टेबुलबाटै सबथोक प्राप्त गर्न सकिन्छ भन्ने सन्देश पनि यी दुई नेताले दिएका छन् ।

शान्तिको सन्देश
उत्तर कोरियाका संस्थापक नेता तथा वर्तमान सुप्रिम नेता किम जोङ उनका हजुरबुवा किम इल सुङको पालादेखि चर्किएको तनाव नेता किम जोनले सल्टाउने प्रयास गर्दैछन् । हजूरबाको शासनका कालबाट शुरु भएको कोरिया प्रायद्धीपको युद्ध किम जोङले अन्त गर्न अमेरिकासंग सिधा वार्तामा उभिएका छन् । अमेरिकी राजनीतिमा अनुदार मानिएका ट्रम्पसंग ४ बुँदे संझौताको दस्तावेज लेख्न सफल भएका छन् । कठोर अमेरिकी नीति गलेको छ, अमेरिकी दादागिरी गलेको छ । यसका लागि किमले इट्टाको बदला पत्थर पनि दिन सफल भए, कुटनीतिको भाषाबाट पनि टेबलसम्म ट्रम्पसंग आमने सामने हुन पनि सके । र, यससंगसंगै उत्तर कोरियाको हठ पनि कमजोर बनेको छ । सधैंभर युद्धको उन्मादले मात्र केही प्राप्त गर्न सकिंदैन, स्थायीत्वका लागि शान्ति वार्ता नै मुख्य सर्त हो भन्ने कुरालाई उत्तर कोरिया मनन गर्न बाध्य भएको छ ।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसाको कापेला होटेलमा भएको शिखर वार्तामा सहभागी ट्रम्म निकै उत्साहित देखिदै उत्तरको सुरक्षासंगै आर्थिक विकासमा साथ दिने उद्घोष समेत गरे । यतिमात्रै गरेनन् किमको कटु आलोचक ट्रम्पले ट्यालेन्ट यूवा नेता भएको तारिफसम्म गर्न आतूर देखिए सेन्टोसा शिखरवार्ता स्थलमा । उता युद्ध नै निकासको अन्तिम माध्यम होइन, भन्ने निष्कर्षमा पुगेका किमले राजनीतिक, आर्थिक र प्राविधिक अस्त्रको बलमा विश्वभर हैकम जमाएको अमेरिकालाई युद्धको धम्कीबाटै जवाफ दिएकै थिए । उत्तर कोरियाको मिसाइलको रेन्ज अमेरिकी मुख्य भुमिको कुनै पनि क्षेत्रमा पुगेपछि कतै न कतै त्रसित अमेरिका पनि शान्तिको बाटो खोज्न बाध्य भयो । उता उत्तरका नेता किमले युद्धको धम्कीले मात्रै पनि संभव छैन भन्ने निष्कर्षमा पुगेकै हुन् । मिसाइल उन्मादले हतियारबाहेक सबथोक गुमाउनुपर्छ भन्ने तथ्यलाई किम जोङ उनले स्वीकार गर्न बाध्य भएका छन । युद्धको विकल्पमा शान्तिको माध्यमबाट पनि क्रूर पश्चिमा शक्तिलाई गलाउन सके विश्व राजनीतिमा सुरक्षित हुन सकिन्छ भन्ने किमले राम्रोसंग बुझेको देखिन्छ । त्यसैले किम प्रशासनले अमेरिकासंग सहकार्यको यात्रा शुभारम्भ गरेका छ सेन्टोसा शिखरवार्ताको सिढीबाट । अमेरिकी निर्देशनमा आर्थिक नाकाबन्दी मात्रै होइन, विश्व राजनीति एवं आर्थिक सम्बन्धबाट एक्लाइए पनि उत्तर कोरिया नडगेको अवस्थाबाट अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं पनि कतै न कतै वार्ता गर्नुपर्छ भन्ने निचोडमा पुगेका हुन् । गत महिना भएको पानमुनजोङ शिखर वार्तामा उत्तर र दक्षिण कोरिया शान्तिको बाटो पहिल्याउन र कोरिया प्रायदिपलाई आणविक निशस्त्रिकरणको होडबाजीबाट मुक्त राख्न सहमत भएसंगै राष्ट्रपति ट्रम्पको आत्मबल शान्तिको बाटोमा अघि बढेको हो भलै ट्रम्पका सल्लाहकारहरुले स्थिति भड्काउन भगिरथ प्रयत्न नगरेका किन नहुन् ।

शक्ति राष्ट्रका अगाडि आफूलाई हतियारले बलियो भएको सावित देखायो उत्तर कोरियाले । र, शान्तिको बाटोमा पनि आफु दृढ रहेको देखाएर विश्वमा आफ्नो राजनीतिक शाख प्राप्तिमा उल्लेख्य सफलता हासिल गरेका छन् सर्वोच्च नेता किम जोङ उनले । साढे ६ दशक तनावपछि युद्धको शिक्षाले हतियारमा बलियो बन्दै देशलाई सुरक्षित राख्न र विकासलाई नयां उचाईमा पुराउनको कुटनीतिक सम्बन्ध, प्रविधि र पूंजीको पनि विकास गरिनु आवस्यक छ भन्ने किमको निर्क्योल गरि वार्तामा आउन सकेको हो । अन्ततः युद्ध समस्याको अन्तिम समाधान होइन भन्ने निक्र्याैल निकालेका दुवै देश शान्ति वार्ताको मार्ग हिड्न तयार भएका छन् । जुन विश्व जगतमा नयां र फलदायी परिघटना हो । नयां परिघटनाले विश्व जगतमा शान्ति र अमन चयनलाई लयमा लिन मद्दत गर्नेछ । यसर्थ दुवै देशको वार्ताले सकारात्मक सन्देश दिएको छ । विश्व शान्तिको प्रादुर्भाव भएको यो क्षणलाई समग्र विश्वको समृद्धिको राजमार्गमा डोर्‍याउन अब सकियोस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!