फेल्थाम, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा समितिको आयोजनामा तेस्रो एनआरएनए कप २०२६ तथा नेपाली फेस्टिभल शनिबार, १९ सेप्टेम्बर २०२६ का भव्य रूपमा सम्पन्न भएको छ।
लन्डन फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा भएको प्रतियोगितामा विभिन्न फुटबल टोली, समुदायका अगुवा, अतिथि, स्वयंसेवक, व्यवसायी, परिवार तथा यूकेभरिका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक फुटबलसँगै नेपाली संस्कृति, खानपान र सामुदायिक भेटघाटको वातावरणले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
कार्यक्रम एनआरएनएका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो भने एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम लिम्बूले गरेका थिए । उनले प्रमुख अतिथि, कार्यक्रम अध्यक्ष, विशेष अतिथि, सहभागी टोली, युवा समिति, स्वयंसेवक तथा समुदायका प्रतिनिधिहरूलाई स्वागत गर्दै उद्घाटन, अतिथि सम्मान, पुरस्कार तथा ट्रफी वितरण र समापन कार्यक्रमलाई समन्वय गरेका थिए ।
विशेष अतिथिहरूमा फेल्थाम/हन्स्लोका काउन्सिलर तथा कन्जरभेटिभ पार्टी एसोसिएसनका अध्यक्ष इन्द्रहाङ लिम्बू, जनसम्पर्क समिति यूकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए आईसीसीका मानार्थ सदस्य ओम काउछा, एनआरएनए यूकेका प्रमुख सल्लाहकार डा. भीम पुन, सल्लाहकार महासेठ लगायत एनआरएनए यूकेका विभिन्न पदाधिकारी, समुदायका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।
मुख्य उपाधि केन्ट एफसीको पोल्टामा
प्रतियोगिताको मुख्य समूहको फाइनलमा केन्ट एफसीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो एनआरएनए कप २०२६ को च्याम्पियन उपाधि जितेको छ। माया फेल्थाम एफसी मुख्य समूहमा उपविजेता बनेको छ।
भेट्रान्स समूहमा प्लमस्टेड एफसी विजेता बनेको छ भने जोइन्ट एफसी उपविजेता बनेको छ। त्यसैगरी, महिला समूहमा भोटाङ एफसीले उपाधि जितेको छ भने तामाङ समाज यूके उपविजेता बनेको छ।

विजेता तथा उपविजेता टोलीहरूलाई प्रमुख अतिथि, कार्यक्रम अध्यक्ष, विशेष अतिथि, एनआरएनए यूकेका पदाधिकारी तथा आयोजकहरूको उपस्थितिमा ट्रफी, पदक तथा सम्मान प्रदान गरिएको थियो।
सम्पूर्ण ट्रफी व्यवस्थापनमा अनिल मल्लको विशेष योगदान
तेस्रो एनआरएनए कप २०२६ मा प्रदान गरिएका सम्पूर्ण ट्रफीहरूको व्यवस्था एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिल मल्लले व्यक्तिगत रूपमा गरेका थिए । मुख्य समूह, भेट्रान्स समूह तथा महिला समूहका विजेता र उपविजेता टोलीहरूका लागि आवश्यक ट्रफी व्यवस्थापनमा उनको महत्त्वपूर्ण योगदान रहेको थियो ।
आयोजक एनआरएनए यूके युवा समितिले प्रतियोगितालाई सफल बनाउन पुर्याएको उक्त सहयोगप्रति वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अनिल मल्ललाई हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गरेको छ।
एनआरएनए यूके युवा समितिको सक्रिय नेतृत्व
प्रतियोगिताको आयोजना तथा व्यवस्थापन एनआरएनए यूके युवा समितिले गरेको थियो। युवा समितिको नेतृत्व अध्यक्ष विशाल राई, सचिव निशान पन्धाक, कोषाध्यक्ष सञ्जय लिम्बू तथा अन्य कार्यसमिति सदस्यहरूले गरेका थिए ।
युवा समितिले टोली समन्वय, खेल व्यवस्थापन, प्रशासनिक कार्य, अतिथि सत्कार, खानपान, ट्रफी तथा पदक व्यवस्थापन, अतिथि व्यवस्थापन तथा फेस्टिभल कार्यक्रमका विभिन्न पक्षको जिम्मेवारी सम्हालेको थियो। दिनभर स्वयंसेवक तथा समुदायका सदस्यहरूको सक्रिय सहयोगले प्रतियोगिता तथा अन्य कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
फुटबलसँगै नेपाली खाना, संस्कृति र सामुदायिक उत्सव
फुटबल प्रतियोगितासँगै कार्यक्रमस्थलमा उत्सवमय वातावरण देखिएको थियो। नेपाली तथा बेलायती झण्डाले सजाइएको मैदानमा ट्रफी तथा पदकहरू प्रदर्शन गरिएको थियो।
नेपाली खानाका स्टल तथा विभिन्न जलपान स्टलहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। सहभागी तथा दर्शकहरूले खेल हेर्दै नेपाली परिकारको स्वाद लिनुका साथै साथीभाइ, परिवार र समुदायका सदस्यहरूसँग भेटघाट गर्ने अवसर पाएका थिए।
कार्यक्रममा परिवार, युवा, फुटबलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिताले यसलाई केवल खेलकुद प्रतियोगितामा सीमित नराखी सामुदायिक भेटघाट, मित्रता, सम्पर्क विस्तार र युवा सहभागिताको महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित गरेको थियो।
एनआरएनए कपको मुख्य उद्देश्य खेलकुदमार्फत युवाहरूलाई जोड्नु, स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु तथा बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।
एनआरएनए यूकेले प्रतियोगितामा सहभागी सबै टोली, रेफ्री, खेल अधिकारी, स्वयंसेवक, प्रायोजक, खाद्य व्यवसायी, अतिथि तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । विशेष रूपमा कार्यक्रमको व्यवस्थापन तथा सफल सञ्चालनमा खटिएको एनआरएनए यूके युवा समिति र स्वयंसेवकहरूको योगदानको प्रशंसा गरिएको थियो।
आयोजकले मुख्य समूहका विजेता केन्ट एफसी, भेट्रान्स समूहका विजेता प्लमस्टेड एफसी तथा महिला समूहका विजेता भोटाङ एफसीलाई बधाई दिएको छ। साथै माया फेल्थाम एफसी, जोइन्ट एफसी तथा तामाङ समाज यूकेलाई उपविजेता बनेकोमा सम्मान तथा शुभकामना व्यक्त गरिएको छ।


0 







