एटा संवाददाता
अल्डरसट । एनआरएनए युकेले वेल्समा राज्य परिषद् गठन गरेको छ ।
वेल्सको कार्डिफमा गत आइतबार १७ जुनमा आयोजित बृहत् भेलाले रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद् गठन गरिएको हो । परिषद्का उपाध्यक्षमा खेम क्षेत्री, सचिवमा निरालाल मोक्तान, सहसचिवमा प्रकाश कँडेल, कोषाध्यक्षमा विभूषणमान श्रेष्ठ र सहकोषाध्यक्षमा एकबहादुर आले चयन भएका छन् । त्यस्तै, दीपक लिम्बू, रामेश्वर देवकोटा, सीता राई, बलराम अधिकारी, डा. जीवन केसी र मेमराज न्यौपाने सदस्य बनेका छन् । एनआरएन युकेका सल्लाहकार शिवजी श्रेष्ठको संयोजकत्वमा चयन गरिएको नयाँ समितिमा सबै नेपालीहरुको प्रतिनिधित्व गरिएको सल्लाहकार श्रेष्ठले जनाए । उनीहरुलाई समाजसेवी वीरशंकर राईले शपथग्रहण गराएका थिए ।
एनआरएन युके उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएन युके कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरु, वेल्सस्थित विभिन्न नेपाली संघसंस्था तथा समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष फगामीले एनआरएन युकेको वेल्समा भएको राज्य परिषद् गठनलाई ऐतिहासिक उपलब्धि भएको बताए ।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव राजकुमार त्रिपाठी, सल्लाहकार शिवजी श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, एनआरएन युके नर्दन आयरल्यान्ड राज्य परिषद् संयोजक लिलाराम निउरे, एनआरएन युके सल्लाहकारहरु दयानिधि सापकोटा, खुसीमान गुरुङ र नारायण कँडेल, एनआरएन आईसीसी रोड सेफ्टी टास्कफोर्स संयोजक थर्क सेन, एनआरएन युके सचिव तारानाथ भण्डारी, नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, वेल्स नेपाली समाजका अध्यक्ष रामचन्द्रद्रपोख्रेल, किराँत याक्थुङका बद्री यककङ्गा, कुम्ब्रान नेपाली समाज वेल्स सचिव एमपी चेम्जोङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भेलामा वेल्स समन्वय परिषद् गठन समितिका संयोजक प्रभु न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने एनआरएन युके राज्य समन्वय विभागका सचिव डा. मुकुन्द बाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरण रहोस्, एनआरएन युके विधानअनुरुप युकेका ४ वटै राज्यमा परिषद् गठन गर्ने क्रममा यसअघि नर्दन आयरल्यान्ड परिषद् गठन गरिसकिएको छ भने आउँदो जुलाईको पहिलो हप्तामा स्कटल्यान्ड र इङ्गल्यान्डमा छिट्टै परिषद् गठन गर्ने तयारी रहेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए






