एटा संवाददाता
अल्डरसट । तमुधिं युकेले १६ औं गोर्खा कपको समीक्षासहित दसौं नेपाली मेला तयारीबारे छलफल गरेको छ ।
१७ जुन गत आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बैठकले गत मे २७ का दिन आयोजित १६ औं गोर्खा कपको समीक्षा गर्दै गोर्खा कपलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्नेबारे व्यापक रुपमा छलफल भएको तमुधिं युकेले जनाएको छ ।
बैठकमा गोर्खा कपका संयोजक क्याप्टेन पीताम्बर गुरुङले पावर पोइन्ट प्रिजेन्टेसन दिँदै गोर्खा कपको समीक्षा गर्न अनुरोध गरे । सो अवसरमा गोर्खा कप इभेन्ट सहइन्चार्ज कुमार गुरुङ, तमुधिं युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष मे.रि.डमर घले र मुछेत्र गुरुङ, सल्लाहकारहरु एकेन्द्र गुरुङ, क्या. राजु गुरुङ, क्या. चित्र गुरुङ, क्या. तीर्थमान गुरुङ, क्या. जीवन गुरुङ, रसमुर सर्रे अध्यक्ष उत्तरबहादुर गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, लेप्टन मुक्तिजङ्ग गुरुङ, तारा गुरुङ, सहारा अध्यक्ष मिन गुरुङ, मिडिया सेक्रेटरी रोहित गुरुङ र आमा समूहकी कोषाध्यक्ष जसु गुरुङलगायतले विभिन्न सल्लाह, सुझाव र प्रतिक्रिया दिएका थिए ।
बैठकमा खेल सम्पन्न गर्न सफल भएकोमा संयोजक क्याप्टेन गुरुङलाई अध्यक्ष ज्ञाम गुरुङले भाङ्ग्रा लगाई सम्मान गरे । त्यस्तै, क्होलासोंथर अध्ययन भ्रमणका संयोजक सल्लाहकार एकेन्द्र गुरुङ, गोर्खा कपमा पाहुनाहरुका लागि खाना प्रायोजन गर्ने गोर्खा किचनका भीम गुरुङ र वेभमास्टर सविन्द्रकुमार गुरुङलगायतलाई खादा लगाई सम्मान गरियो । सो अवसरमा क्होलासोंथर अध्ययन भ्रमणका सदस्य तथा तमुधिं युकेका सल्लाहकार हरि गुरुङले भ्रमणबारे तयार पारेको भ्रमण प्रतिवेदन अध्यक्ष ज्ञाम गुरुङलाई बुझाएका थिए ।
नेपाली मेलाको तयारीबारे समेत छलफल गरिएको सो बैठकमा तमुधिं युकेका उपाध्यक्ष एवं मेला संयोजक हित काजी गुरुङले मेला तयारीबारे पावर पोइन्ट प्रस्तुति दिएका थिए । उनले मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि गत शुक्रबार साँझ नेपाली राजदूतावाससँग छलफल गरिएको बताउँदै आवश्यक सल्लाह र सुझावका लागि अनुरोध गरे । त्यस्तै, आमा समूहकी महासचिव यशोदा गुरुङ र कोषाध्यक्ष जसु गुरुङले गोर्खा कप, रेस फर लाइफल र नेपाली मेलालगायत आमा समूहलेले गरेका विभिन्न कार्यहरुबारे जानकारी दिए ।
धेरैजसो गोर्खा कपकै समीक्षामा केन्द्रित बैठकमा अध्यक्ष ज्ञाम गुरुङले नेपालबाट बेलायत भ्रमणमा आएका पाहुनाहरुको स्वागत, सम्मान र बसाईको बारेमा जानकारी गराएका थिए । उनले बैठकको समापन गर्दै पूर्वअध्यक्षहरु, सल्लाहकार, आजीवन सदस्य र आमा समूहलगायतले दिएका विभिन्न सल्लाह र सुझावहरुलाई हृदयगमन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष नन्दजङ्गले स्वागत मन्तव्य र कोषाध्यक्ष दीपक गुरुङले गोर्खा कपको आय–व्यय प्रस्तुत् गरेका थिए भने महासचिव कृष्ण गुरुङले बैठक सञ्चालन गरेका थिए ।






