
जयराम तामांग,
सुइण्डन युके – एक हप्ता पहिला नै मेलामा आउनु पर्छ है भनेर तमुधि बेलायतले निम्तो दिएको थियो। मलाई भने भ्याई नभ्याई एकदम चटारो परिराखेको थियो । नचिनेको ठाउमा मेला जानु परेकोले मलाइ चिन्ता पनि लागि राखेको थियो। नयाँ ठाउँ एक दुइजना बाहेक कसैलाई पनि चिनेको छैन, जाने बाटो पनि बनाउन लागेको छ , घुमेर जानु पर्ने छ भन्ने कुराहरुले मेरो ध्यान एकोहोरो भैरहेको थियो। गाउँ घरमा हुँदा मेला जाने भने पछि दिन भरि को थकान , भोक अनि तिर्खा जस्तै भए पनि एक किसिमको रमाइलो अनि खुसि नै लाग्ने गर्दथ्यो। गाउँ घरमा हुँदा धेरै पटक मेलामा गएको थियो । कहिले गाउँको साहुको खेत खन्न जान्थे , कहिले हलो र जुवा बोकेर गोरु जोत्न जान्थे , कहिले रोपाइन्मा बाउसे भएर जान्थे त कहिले धान गोड्न , कहिले धान काट्न , कहिले धान झार्न जाने गर्दथ्यो। मेलापात जाँदाको रमाइलो एक किसिमको थियो भने जात्र जानु अर्कै किसिमको रमाइलो हुने गर्दथ्यो । गाउँ घरमा दिन भरि मेला गएर थाकेर आएको भए पनि राति लाग्ने खैलिंग्को जात्रा , महादेवस्थानको जात्रा, कन्कालिस्थानको जात्रा , बांसखार्कको जात्रा जस्तै कयौ जात्राहरु पनि रात भरि नांच गानको साथमा हातमा ठेला उठ्ने गरि मादल बजाउंदै आँखा पनि झिमिक्क नगरी रात भरि रमाइलो गर्ने गर्दथ्यो । मेला भन्ने बितिकै त्यहि मेला जुन मैले कुटो, कोदालो , हलो , जुवा गरेर मेरो बाल्यकाल र युबावास्थाको दिनहरु बिताएको क्षणहरु बुझने गर्दछु । जात्रा भन्ने बितिकै जाहाँ नांच गान , खानपिन , अनि किनबेच गर्ने ठाउँलाई बुझने गर्दछु। जुन परिवेश बाट म हुर्केर आयो त्यहि कुराहरु नै मेरो मानसपटलमा घुमी रहन्छ ।
यो पटक को मेला भने फरक किसिमको अनि फरक ठाउँको थियो। मेरो छोरा र श्रीमती नजाने कुरा पक्का भै सकेको थियो त्यसैले म एक्लै जाने निधो गरि सकेको थियो। मैले एक हप्ता अगाडी देखीनै गुगल म्यापमा जाने बाटो को बारेमा जानकारी लिइसकेको थियो। डेढ घन्टाको बाटो भएकोले मैले कारमा पेट्रोल र हावा भरेर अघिल्लो दिन नै तयारि गरि राखेको थियो। आइतबारको दिन बिहानै खाजा पानी खाएर नौ बजे नै बाटो बन्द छ होला भनेर डराउँदै मोटर वे एम ४ को बाटो तिर लागियो। भाग्यबस बाटो बन्द थिएन। बाटोमा एकदम पातलो सवारी साधनहरु मात्र कुदी रहेको थियो। बाटो बन्द नभएकोले मलाइ एकदम खुसि लाग्यो। कारलाई ७० माइल प्रति घन्टाको रफ्तारमा कुदाउन्दै क्लासिक म्युजिक सुन्दै जाँदा डेढ घन्टाको बाटो बितेको पत्तै भएन। मेला लाग्ने स्थान को गेटमा पुग्दा नेपालीहरु आ-आफनै भेषभुषामा सजिएर आएको देख्दा सारै खुसि लाग्यो।
मलाइ तमुधि युकेले कार पार्किंग र प्रवेश गर्नको लागि अनि खान खानाको लागि निशुल्क स्वरुप फोटो सहितको कार्ड एक हप्ता पहिला नै गलामा झुण्ड्याइ दिएको थियो। जब म गेट बाट भित्र छिरे हलो र जुवा बोकेको, खुर्पेटो भिरेर कछाड बाँधेर हिडेको मानिसहरु देख्दा साचै मलाई त्यहि गाउँ घरमा मैले बोकेको हलो र जुवा अनि खुर्पेटोलाइ सम्झिन पुंगे। साचिकै जस्तो देखिने घोडाको मुर्तिहरु चौरमा घाँस खादै गरेको जस्तो देख्दा गोरुको सट्टा घोडाले पो जोत्ने होकी जस्तो भान भैरहेको थियो। अलि पर ठुलो चौरको छेउमा ठुलो फराकिलो मैदानमा आगोको धुँवा आकाशतिर मडारिरहेको थियो। नेपालि गीतहरु गुन्जी रहेको थियो। मादल अनि सारंगी झुड्याएको थियो। लुगाहरु जात्रामा जस्तै गरेर बेच्न राखेको थियो।
फुपुको मम को दोकान थियो । मेरै फुपुको मोमो दोकान पो होकी जस्तो पनि लाग्यो। मलाइ तिहारको बेलामा सेलरोटी को साथमा थुप्रै फलफुल राखेर टिका लगाई दिने फुपुलाई सम्झे । अलि उतापट्टि चल्ला बुक भनेर लेखेको दोकानको अगाडी उभिरहेको थियो , दोकानको साहुनीले भित्रै आएर हेर्नोस भन्नु भयो। मैले खासै केहि किताबहरु त देखिन तर सानो केटाकेटिहरु को एक दुइ तिन लेखेको किताब र क ख ग भनेर लेखेको किताबलाई देखे। कुखुराको चल्ला जस्तै कस्तो राम्रो नाम थियो। प्रवासमा जन्मेको सानो केटाकेटिहरुको लागि भाषा अनि अक्षर सिक्नको लागि बनाएको अति नै उपयोगी अनि उपलब्धि मुलक को किताब देखेर मलाई पनि किन्न मन लाग्यो। मेरो सानो बच्चा त थिएन तै पनि मेरो छिमेकी भाइको सानो नानी थियो त्यो नानीको लागि राम्रो हुने रहेछ भनेर दश पाउण्ड तिरेर क ख ग को मात्र किने। म संग पैसाको नाममा त्यहि दश पाउण्ड मात्र थियो। उ बेलामा जात्रा जाँदा आमाले चकलेट खानको लागि एक सुको र एक मोहोरको ढ्याक दिएर पठाउनु हुन्थ्यो। त्यो बेलामा त्यो पैसा पनि धेरै भएर घरमा फिर्ता लिएर आउने गरेको थियो।

त्यसपछि मेरो गोजीमा एक सुको पनि थिएन। मलाइ खाना खानको लागि एकहप्ता पहिला गलामा झुण्ड्याइ दिएको फोटो सहितको कार्ड नै पर्याप्त थियो। एकताला माथि पाहुनाहरुको लागि भनेर छुट्याएको स्पेसल ठाउँ थियो, जहाँ घुमाउरो टेबिलहरुमा रुमाल ओछ्याएर भोजन गर्नको लागि बनाएको थियो। जब म बार्दलीमा उभिएर यताउता हेरिरहेको थियो तल बाटोमा पन्चे बाजा घन्काउदै दौरा सुरुवाल लगाएको थुप्रै मान्छेहरुको बिचमा दौरा सुरुवाल र ढाका टोपी अनि फूलको माला लगाएको पुरुष अनि साथमा सारी चोलो लगाएको गलामा फूलको माला लगाएकी महिला पनि देख्दा कतै बिहे पो रहेछ कि जस्तो भान भयो। साथमा कोट पाइण्ट लगाएको एक जना खाइ लाग्दो पुरुष पनि उनीहरु संगै थियो। मैले यसो हेर्दा त्यो माला लगाएको चाहि राजा र रानी रहेछ अनि अर्को कोट पाइण्ट वाला उनीहरुको को सेक्युरिटी गार्ड होकी जस्तो लाग्यो। यत्तिको मान सम्मान त राजा रानीले मात्र पाइन्छ अरु कसैले पाउदैन को होला भन्ने कौतुहलता जागी रहेको थियो। हतार हतार तल ओर्लेर हेर्न भनेर गएँ। कोहि कोहि अगाडी अगाडी बाटो पन्छ्याउदै मान्छे हरुलाई बाटो खालि गर्न आदेशको संकेत दिरहेको थियो। यसो नजिक गएर हेर्दा कता कता सामाजिक संजाल तिर अनि अनलाइ मिडियाहरु तिर फोटो देखेको एकदम परिचित ठुलै मान्छेहरु थियो। एकछिन घुरेर सम्झने कोसिस गरे बल्ल बल्ल सम्झिन पुगियो। उहाँहरु राजदुत परिवारको साथमा एन आर एन युके का अध्यक्ष हुनुहुन्थ्यो ।
नेपालमा राजदुत हरु को खासै त्यतिको सम्मान हुन्छ जस्तो लागेन जति प्रवासमा हुन्छ। त्यसैले राजदूत हुनाको लागि ठुलै चलखेल अनि पार्टी पार्टी बिचमा तछाड र मछाड को प्रतिष्पर्धा हुने गर्दछ । प्रवासमा राजदूत को रूपमा नेपाल सरकार बाट खटेर आइसके पछि सबै नेपालीहरुको अविभावक को रुपमा काम गर्यो भने सबै नेपालीले मान सम्मान अनि इज्जत गर्नु पर्ने सबैको दाइत्त्व हुन आउछ। गैर आवासीय नेपाली संघ युके लगायत संसारको धेरै देशहरुमा निर्बाचन सम्पन्न भै सकेको छ। कतिवटा देशमा कतिले कति को टाउको फुटायो कतिले कतीको इज्जत मान सम्मान धुलोमा मिलाई दिए , कतिले करोडौ पैसा स्वाहा बनाए , यी सबै कुराहरु प्रवासमा रहेको नेपालीहरुको हकहितको लागि अनि नेपाल देशमा लगानी भित्र्याएर देशलाई सम्रिद्दी तिर लैजाने भन्ने खोक्रो नाराहरु मात्र हुन्। यथार्थ कुरो भनेको यस्तै स्वदेश तथा बिदेशमा हुने विभिन्न कार्यक्रम हरुमा अगाडी पट्टि बसेर खादा लागाएर यस्तै पन्चे बाजाहरूले स्वागत गरुन भन्ने एक किसिमको व्यक्तिगत क्षणिक स्वार्था मात्रै हो। यदि कुनै काम गर्नु पर्यो भने र कतै सहयोग गर्नु पर्यो भने तिनै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु जो आठ घण्टा मजदूरी गरि ज्याला गर्नेहरु संग हात फैलाउनु पर्छ ।
जे होस् तमुधि युके ले दुइ महिनाको अन्तरालमा नेपाली मेला र गोर्खा कप जस्तो त्यतिको ठूलो कार्यक्रम हरु सफलता पुर्बक सम्पन्न गर्नु भनेको ठुलो अनि प्रसंसनिय काम हो। त्यसको लागि म तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत उहाँको सम्पूर्ण टीमलाई बधाई तथा धन्यबाद दिन चाहन्छु। मेलामा विभिन्न भाषा जात जातिको आ आफ्नो परम्परा अनि संकृति झल्कने नाच गानले नेपालमै रहेको अनुभूति जगाई दिएको थियो। १२औ मेलाको लागि नेपाल सरकारको बेलायतको लागि राजदूत महामहिम श्री लोकदर्शन रेग्मी ज्युले पनि नेपाल सरकारको तर्फबाट सहयोग गरेकोले मेलाको लागि केहि थप राहत पनि मिलेको हुनु पर्छ । एउटा बिडम्बना जुन मेलामा प्रत्येक संघ संस्थाले आ आफ्नो झाकीहरु दर्शकहरुको अगाडी प्रदर्शन गर्ने बेलामा डिस्ट्रब नगर्नु भनेर उद्घोशक्ले भन्दा भन्दै क्यामेरा बोक्नेहरु पछाडी अरु मानिसहरुले फोटो खिच्दै गरेको हरुलाई पनि बेवास्ता गरेर अगाडी अगाडी फोटो र भिडियो खिच्न तछांड मछांड गरेको देख्दा अचम्म लागेको थियो। हामीहरु संसारलाई बस्न , लगाउन , खाना सिकाउने देशमा बसेर पनि अरुको बेवास्ता गरेर आफनै स्वार्था पुरा गर्न आफैले मपाइ गर्ने हो भने हामी कुन ठाउँमा गएर सिक्छौ होला जस्तो लाग्यो । मलाइ साँच्चै जात्रा अनि मेला दुवै एकै ठाउँमा बसेर हेरेको अनुभूति भएकोले घर फर्किने समय पनि बिर्सी सकेको थियो।






