बेदराज पराजुली
फार्नबोरो । तनहुँ जिल्लाबाट बेलायतको बिभिन्न ठाउँमा बसोबास गर्ने तनहुँबासीको साझा संस्था तनहुँ समाज यूकेको एघारौं बार्षिक भेला सम्पन्न भएको छ । गत २३ जुन २०१८ का दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेसलिस्ट कलेजमा सम्पन्न भएको हो ।
पेशा, व्यवसाय, अध्ययन, रोजगारी लगायत आप्mनो सन्तानको उज्ज्वल भविष्य तथा राम्रो अवसर र गुणस्तरीय जीवनको लागि आफ्नो जन्मथलो तनहुँ छाडी बेलायतको बिभिन्न ठाउँमा बसोबास गर्ने तनहुँबासीलाई एकैठाउँमा भेला गराई आफ्नो सुखदुःखका अनुभव साटासाट गर्दै आफ्नो कला, संस्कृति, भेषभुषा, रीतिरिवाज तथा खानपिनको बारेमा आफ्ना सन्ततीहरूमा समेत परिचित गराउनुको साथै आफ्नो नेपाल संगको मांया तथा सम्बन्ध अध्यावधिक गराउँदै आफ्नो जन्मथलोको बिकासमा सक्दो सहयोग पुगोस् भन्ने उद्देश्यले प्रत्येक बर्ष भेलाको आयोजना गरिदै आएको छ ।
तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ र गीत रचनाकार तथा साहित्यकार भावेश भुमरीले संयुक्त रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष प्रेम गाहा, साहित्यकार भावेश भुमरी, गोर्खाली समाजका अध्यक्ष कर्ण दर्माली, पाल्पाली भञ्ज्याङ्ग समाज युकेका अध्यक्ष बोम बहादुर थापा, शिव कल्चरल कम्युनिटीका अध्यक्ष रोहित गुरुङ र मगर संघ युकेका महासचिव लाल बहादुर पुनले भेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष लेख गुरुङले समाजको स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै समाजले अप्ठेरो अवस्थामा परेका तनहुँबासीहरुलाई गरेका सहयोग तथा गतिविधिहरु नेपालको शैक्षिक तथा आर्थिक बिकासमा गरिएको विविध सहयोग लगायत भाबी कार्यक्रमबारे प्रकाश पारेका थिए । तनहुँ समाज यूकेले बिशेष गरी यूकेबाट नेपालमा शव पठाउन, उपचार खर्चको अभावमा कडा रोगबाट पीडित व्यक्ति तथा परिवारलाई आर्थिक सहयोग, तनहुँ जिल्लाको शैक्षिक तथा सामाजिक बिकासका लागि बिभिन्न विद्यालयहरू तथा संस्थाहरूलाई गत एक बर्षमा करिब एघार हजार ६ सय ५० पाउण्ड सहयोग गरिएको जानकारी दिए । सो अवसरमा उच्च शिक्षा हासिल गरेका सविता राना मगर, क्रितम थापा मगर र सौगात गुरुङलाई सम्मान गरिएको थियो ।
समाजको उत्थान र बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका समाजका कोषाध्यक्ष कृष्ण बहादुर थापा, सदस्य राम शाही, सल्लाहकार रञ्जन मल्ल र सविता राना मगरलाई कम्युनिटी अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, मेजर चिन बहादुर थापा एमभिओ रेगुलर कमिशनमा पदोन्नती भएका क्याप्टेन डेनी गुरुङ आईआरसीमा र डब्लुओवान (आरएसएम) बिकास गुरुङ क्याप्टेन पदमा पदोन्नती भएकोमा खादा लगाई सम्मान गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय चर्चित गायक कलाकार मीना लामाका साथै बेलायतमै रहेका कलाकारहरूले तनहुँको चर्चित कौडा नाच लगायत बिभिन्न लोक भाकाका गीत तथा नृत्यहरूले दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए । सहभागीहरुले आफु तनहुँको आफ्नै गाउँमा कार्यक्रम सहभागी भएको अनुभव सुनाए ।
अध्यक्ष लेख गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष केशर रानाले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव टेसरजङ्ग गुरुङले औपचारिक र साँस्कृतिक सचिव याम थापाले साँस्कृतिक कार्यक्रमको संचालन गरेका थिए ।






