सुधा गुरुङ
बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीका दिदीबहिनीहरुले रेस फर लाईफमा भाग लिएका छन् ।
गत १७ जुन आइतबारका दिन एनआरएनए युकेकी उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा सम्पन्न दौडमा २४ जना दिदीबहिनीले सामूहिक रुपमा भाग लिएका थिए । सो दौडबाट पाँच सय ५० पाउन्ड च्यारिटी रकम संकलन भएको थियो । संकलित रकम बेजिङ्गस्टोक नेप्लीज कम्युनिटीका अध्यक्ष ओम गुरुङ र संयोजक पूनम गुरुङले दौडकै दिन रेस फर लाईफका प्रतिनिधिलाई हस्तान्तरण गरे ।
क्यान्सर रिसर्च युकेको अनुसन्धान अनुसार बेलायतमा हरेक दुई मिनेटमा एक जनालाई क्यान्सर डायग्नोस भइरहेको हुन्छ । क्यान्सर रिसर्च युके बेलायतको एउटा त्यस्तो गैरसरकारी च्यारिटी संस्था हो । जसले संसारमा व्याप्त दुई सयथरीका क्यान्सरको अनुसन्धान, उपचार र उन्मूलनमा सहयोग पुर्याउने हेतुले सन् १९९४ देखि रेस फर लाईफको आयोजना गर्दै आइरहेको छ । रेस फर लाईफ केवल महिलाहरुले मात्रै भाग लिन पाउने बेलायतको प्रमुख च्यारिटी कार्यक्रममध्येको एक हो । जहाँ वर्षेनी हजारौं महिलाहरुले गुलाफी रंगको पहिरन लगाई भाग लिने र लाखौं पाउन्ड संकलन गर्ने गर्दछन । बेलायतभरिमा एक सय पचासभन्दा बढी स्थानमा भिन्दाभिन्दै समयमा सोको आयोजना गर्ने गरिन्छ ।
प्रतियोगितामा भाग लिन नानीहरुलाई १० पाउन्ड र वयस्क महिलाहरुका लागि १४ पाउन्ड ९९ पेन्स शुल्क लाग्ने र सो को लागि रेस फर लाईफको वेब साईटमा गई अनलाईन फर्म भर्नु पर्ने प्रावधान राखिएको छ । सन् १९९४ देखि अहिलेसम्म रेस फर लाईफमा आठ मिलियनभन्दा बढी महिलाहरुले भाग लिइ पाँच सय सैंतालिस मिलियन पाउन्डभन्दा बढी रकम संकलन गरिसकेको क्यान्सर रिसर्च युकेको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय विभिन्न नेप्लीज कम्यूनिटीका दिदीबहिनीहरुले रेस फर लाईफमा भाग लिने क्रम बढ्दै आएको छ । एनआरएनए युकेकी वर्तमान उपाध्यक्ष पूनम गुरुङ, तमुधिं युके आमा समूहकी अध्यक्ष हुँदा उनको संयोजकत्वमा तमुधिं आमा समूहले बेजिङ्गस्टोकमा भाग लिएका थिए । तमुधिं आमा समूहकी महासचिव यशोदा गुरुङ र अध्यक्ष प्रेमा गुरुङको संयोजकत्वमा गतवर्षदेखि रेडिङ्गमा भाग लिँदै आएको छ । यसपटक पनि तमुधिं आमा समूहले जुलाई १५ आइतबारका दिन रेडिङ्गमा आयोजना हुने रेस फर लाईफमा भाग लिने भएका छन् ।






