परशु गुरुङ
बन्द कोठामा धेरै बेर निसासिएर बाहिर निस्केझैं बिहान ८ बजेसम्म अँध्यारो भइरहने, अपराह्न ३ः३० बजे सूर्य अस्ताइदिनाले कालो घुम्टो ओढी रातलाई अन्माइहाल्ने मौसम पार गरी वसन्त र गृष्म ऋतुको हरियाली र फूल फुलिरहेको मौसममा फुर्सद लिई कहिले होली डे त, कहिले पार्टीमा भेटघाट गर्न पाउँदाको मज्जा नै छुट्टै । त्यसै भएर नै ईलमपोखरी समाजले हरेक वर्ष यसै मौसमलाई अंकित गरी रमाइलो कार्यक्रम गर्दै आइरहेको छ । यसवर्ष पनि पूर्वनिर्धारित मितिअनुसार शनिबार जून ९ तरिख कन्नोट स्कुल अल्डरसटमा विभिन्न खेलकुद, भाग्योदय चिठ्ठा र नाचगानको साथमा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम तयारीको लागि मे १२ शनिबार कोअर्डिनेटिङ बैठक बसी विभिन्न कार्यहरुको जिम्मेवारीको लागि कार्यसमितिका पदाधिकारीहरुलाई कार्यविभाजन गराइएको थियो भने समाजका अध्यक्ष पूर्णराज गुरुङले कार्यक्रम संयोजकको अभिभारा लिएका थिए ।
युकेको मौसमको त्यत्ति भरोसा गर्न हुँदैन भन्छन्, घामबाट पानी, पानीबाट घाममा बदलिन केहीबेरै लाग्दैन । बिहानी पख सफा आकाश हुँदा सूर्यको किरण बिस्तरामै पथ्र्याे । तर, शनिबार ६ बज्दा पनि बिस्तरामा घाम छैन, झ्यालबाट हेरें धुम्म आकाश देख्दा मनमा खिन्नता छायो, कतै बर्बाद हुने त होइन भनेर । तर बिर्सेको त छैन नि बेलायतको मौसमले झुक्याउँछ भनेर । केही सान्त्वाना आफैलाई दिएँ । धुप बत्ती बाली पूजा गर्न पनि छोडिनँ । तर यो मेरो दैनिकी हो, प्रसंगमा जोडेको मात्र ।
पार्टीको समय १ बजे राखेको भए तापनि हामी नेपालीको समय १, २ घण्टा ढिलो नै हुने वा गर्ने स्वभाव यथावत् नै छ । जे होस आ–आफ्नो समयमा सबै आगन्तुकहरु आउन थाले । भेटघाट रेस्टुरेन्ट अल्डरसटले बन्दोबस्त गरेको स्वादिलो बीबीक्यु र अरु परिकारको स्टार्टर खाँदै एकअर्कामा भेट र भलाकुसारी गर्न थाले ।
कार्यसमितिका सदस्यद्वय हरि गुरुङ अनि गौंनमाया गुरुङको नेतृत्वमा कन्ट्रोल पोइन्टमा अनिता गुरुङ, अश्मिता गुरुङ र एलिशा गुरुङ आगन्तुकहरुलाई टिकट दिन व्यस्त थिए भने भने कोषाध्यक्ष उपा गुरुङ सदस्यहरुको वार्षिक शुल्क र नयाँ सदस्य रजिस्टर गराउनमा व्यस्त थिए । त्यस्तैगरी कार्यसमितिका अर्को सदस्यद्वय लक्ष्मी गुरुङ र शिवराम गुरुङको अन्डर सुपरभिजनमा पेयपदार्थहरु धमाधम सुपथ मूल्यमा बिक्री गर्दै बारमा खटिएका दिदीबहिनीहरु व्यस्त थिए ।
कार्यक्रमको समय तालिकाअनुसार खेलकुद पनि सुरु हुन थाले । सल्लाहकार रुद्राराज गुरुङ, युवा संयोजक लक्ष्मण गुरुङ र सक्रिय युवा सदस्य राम गुरुङको संयोजकत्वमा युवा र भेटेरनको छुट्टाछुट्टै रुपमा फुटबल खेलको आयोजाना गरिएको थियो भने लक्ष्मी गुरुङको संयोजकत्वमा महिला भलिबल खेलको आयोजना पनि गरिएको थियो । सबैको नजरमा त्यस दिनको सबैभन्दा रोचक खेल महिला भलिबल खेल नै थियो । महिला खेलाडीहरु आफ्नो नाम लेखिएको भेस्टमा बडो उत्साहका साथ तम्तयार भए । सल्लाहकार तुलराम गुरुङले खेलको साधारण नियमहरु बताएपश्चात् निश्चित प्रतियोगिताको लागि पहिलो सिट्टी बज्यो । खेलको अन्तमा ीक्ग्प् आमा समूहकी उपाध्यक्ष लक्ष्मी गुरुङले नेतृत्व गरेको ‘ए’”टिम, अध्यक्ष जुना गुरुङले नेतृत्व गरेको ‘बी’”टिमलाई ४९ पोइन्टको विरुद्ध ५१ पोइन्ट ल्याई महिला भलिबल प्रतियोगितामा विजय हात पार्यो ।

त्यसपश्चात् तुरुन्तै ठेलो प्रतियोगिता सुरु भयो । सचिव परशु गुरुङले सञ्चालन गरेको खेलमा सबै प्रतिस्पर्धाहरुको रेकर्ड सल्लाहकार मोहनसिङ गुरुङले लेखेका थिए भने सहसचिव भोज गुरुङ र अन्य सहयोगीहरु पनि थिए । बाह्य खेलहरुमा यो अन्तिम प्रतियोगिता हुनाले धेरै दर्शक उपस्थितिले खेलाडीहरुमा बढी जोस र हौसला थपिएको थियो ।
खेलको अन्तमा युवातर्फ भुपाल गुरुङ (डाँडाथोकर ननिटन प्रथम र सुवाश गुरुङ (प्यार्जुङ र रिडिङ) द्वितीय भएका थिए भने भेटेरनतर्फ भरत गुरुङ (श्री लामा मन्जङ र रिडिङ प्रथम र तिलकराज गुरुङ (ताजी फान्बोरो) द्वितीय भएका थिए । न त घाम न त वर्षा नै, न त जाडो नै थियो । सबैजनाको मुहारमा मुस्कान र खुसीयाली देखिन्थ्यो । सबैजना पार्टी हलभित्र छिर्न थाले अर्को कार्यक्रमहरुको अवलोकन गर्न । सचिव परशु गुरुङले उद्घोषणा गरेको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष पूर्णराज गुरुङले सभापतित्व गरेका थिए भने प्रमुख अतिथिमा लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ असीन भएका थिए । सभापति, प्रमुख अतिथि र संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार मोहनसिङ गुरुङले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । जन्मथलो तथा कर्मथलो दुवै देशको राष्ट्रिय धुन बजेपश्चात् समाजका उपाध्यक्ष जीतबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
समाजमा भर्खर सदस्यता लिएका महानुभाव र विभिन्न अन्य क्षेत्रहरुमा योगदान पुर्याएका महानुभावहरुलाई समाजका अध्यक्ष पूर्णराज गुरुङले खादा लगाई सम्मान गरेका थिए । त्यसै क्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष शेर सुनारलाई ढाका टोपी र पगरी लगाई विशेष सम्मान गरिएको थियो । विभिन्न खेलकुदहरुको लागि प्रायोजन गरेका महानुभवहरुबाट विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरिसकेपछि सल्लाहकार तुलराम गुरुङले सञ्चालन गरेका भाग्योदय चिठ्ठा नै सबैभन्दा रोचक कार्यक्रम थियो । सबैले आफ्नो भाग्य परीक्षा गरिरहेका थिए । १० जना भाग्यमानीहरुले आफ्नो तग्दीर अनुसार उपहार पाइसकेपछि अन्तमा प्रथम पुरस्कारको लागि हेमन्त गुरुङ (कुँडुले वेम्ली) ले तानेको ५६६–५७० को नम्बर रुजु गरिसकेपछि कार्यकम सञ्चालक तुलाराम गुरुङको आमा तथा सचिव परशु गुरुङको फुपु ८२ वर्षकी तुलासिरी गुरुङलाई प्रथम पुरस्कार १ तोला सुन परेको थियो ।
समाजका अध्यक्ष पूर्णराज गुरुङले मन्तव्यमा कार्यक्रमको लागि प्रत्यक्ष, अप्रत्यक्ष आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग पुर्याएका सम्पूर्ण महानुभवहरुलाई धन्यवाद दिएका थिए भने समाजले के–कस्ता भूमिकाहरु निभाउँदै आइरहेका छन् भन्ने विषयमा पनि प्रस्ट्याउँदै अन्तमा औपचारिक कार्यक्रम समापन भएको घोषणा पनि गरेका थिए ।
सचिव परशु गुरुङले छोटो मन्तव्य राख्दै सांस्कृतिक कार्यक्रमको संयोजक उपाध्यक्ष जीतबहादुर गुरुङलाई माइक्रोफोन हस्तान्तरण गरे । उनको छोटो मन्तव्यपश्चात् उद्घोषक लक्ष्मण गुरुङ तथा उद्घोषिका सविता गुरुङले सबैलाई सांस्कृतिक कार्यक्रममा सन्ध्याकालीन स्वागत गर्दै रोचक नृत्य तथा स्थानीय पारखीहरुको प्रस्तुति पस्काउन थाले । डिजे सन्तोष गुरुङले मीठो स्वरमा सालैजो भाकामा दिएको प्रस्तुतिमा दाजुभाइ तथा दिदीबहिनीहरु नाच्न खचाखच हुन थाले । मीठा मीठा लोकभाकाका गीतहरूको साथमा सबैजना नाच्न थाले, रमाउन थाले ।
बिडम्बना यही छ, समयले नेटो काटेको पत्तै भएन । निर्धारित समय सकिन लागेकोले डिजे सन्तोष गुरुङले आफ्नो संगीतको धुन बन्द गर्न बाध्य भयो । एकार्कमा फेरि ल्होछार पार्टीमा भेट्ने आशा राख्दै सबैजना आ–आफ्ना गन्तव्यतिर प्रस्थान भए । यसरी नै समापन भयो ईलमपोखरी समाज युके २०१८ को गृष्मकालीन पार्टी ।






