नगेन्द्रराज नेम्वाङ
आस्फोर्ड केन्ट । नेम्वाङ समाज युकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
गत ३० जुन शनिबार समाजका सचिव राजेन्द्र नेम्वाङले स्वास्थ्य र सुरक्षासम्बन्धी सचेत गराउँदै सुरु गरेको कार्यक्रममा जेष्ठ नागरिक कुबेर सिं नेम्वाङ र नेपालबाट आएका याक्थुङ्ग नेम्वाङ्ग समाज नेपालका वरिष्ठ सल्लाहकार वीर दल नेम्वाङलाई घरेलु उत्पादित ढाकाको मफलर ओढाई सम्मान गरिएको थियो ।
त्यसैगरी ज्वाइँचेलाहरुलाई पनि घरेलु ढाका मफलर ओढाई सम्मान गरियो । लिम्बू जातिको लोकप्रिय नृत्य च्याब्रुङ नाच, हाक्पारे र पालाम नाचगानको साथ मनोरञ्जन गरिएको कार्यक्रममा वीर नेम्वाङले विभिन्न नेपाली गीतहरु गाएका थिए ।
बेलायतमा रहेको नेम्वाङहरुको बाक्लो उपस्थिति रहेको भेटघाटमा अतिथि वीर दल नेम्वाङले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष सन्तवीर नेम्वाङले भेटघाट कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने सदस्यहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
अतिथि वीर दल नेम्वाङले याक्थुङ्ग नेम्वाङ समाज नेपाललाई आप्mनो संस्कृतिलाई निरन्तरता दिनका लागि च्याब्रुङको अतिआवश्यक भएको र नेम्वाङ समाज युकेलाई सहयोगको लागि आग्रह गरेकोमा बेलायतमा रहेका सदस्यहरुले ३० पाउन्डको दरले संकलन गरी सहयोग गर्ने निर्णय गरे ।
समाजका अध्यक्ष सन्तवीर नेम्वाङको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रम सचिव राजेन्द्र नेम्वाङ र शकुन्तला नेम्वाङले सञ्चालन गरेका थिए ।






