कौरामा जम्दै गायिका केशु गुरुङ

SHARE:

तनहुँ बन्दीपुर धरमपानी स्थायी ठेगानाकी केशमाया (केशु) गुरुङको अचेल काठमाडौं आउजाउ बाक्लिएको छ । पेसाले स्वास्थ्यकर्मी भए पनि उनी छुट्टीका बेला, मध्य असार वा चाडपर्व नै किन नपरोस् राजधानी काठमाडौं धाउने गर्छिन्, ‘गीतिखेती’ गर्न । वि.सं. २०७१ मा ‘आँसु तालमा’ एल्बमबाट औपचारिक गायन थालेकी उनले यसपटक ‘बुकी फूल’ गीत गाएकी छन् । नयाँ गीत केशु, वरिष्ठ गीतकार रेशम गुरुङ र संगीतकार दुर्गा गुरुङको संयुक्त प्रस्तुति हो । औपचारिक कुराकानीमा उनले एभरेष्ट संवाददातासँग भनिन्, ‘यो आसलाग्दो एल्बम हुन्छ होला ।’


०००
केशु झन्डै ७ वर्षयता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा पनि आबद्ध छिन् । तनहुँ दमौलीस्थित कम्युनिटी सपोर्ट ग्रुप नामक संस्थामा स्वास्थ्य ‘केस मेनेजर’ का रुपमा कार्यरत उनी एचआईभी/एड्स संक्रमितबारे अध्ययन र स्वास्थ्य सेवा दिने गर्छिन् । उनका अनुसार कम्युनिटी सपोर्ट ग्रुपले गाउँगाउँमा गएर संक्रमितको खोजी र उपचार गर्दै आएको छ । सो संस्थाको देशका झन्डै तीन दर्जन जिल्लामा शाखा कार्यालय छन् भने पोखरामा केन्द्रीय कार्यालय ।

जागिरबाट बचेको समय नेपाली कला, संस्कृति र गुरुङ समुदायको मौलिकता जोगाउनकै लागि खर्चिरहेको उनी बताउँछिन् । ‘प्रायः शुक्रबार, शनिबार र अन्य समय बिदा मिलाएर गीत रेकर्ड गराउने गरेको छु’, उनी भन्छिन् । प्रदेश ४ का लमजुङ, कास्की, तनहुँ, स्याङ्जा आसपासका जिल्लामा प्रचलित सालैजो, कौरा, झ्याउरे गीत गाउनमा दख्खल छिन् उनी । कौरा गायिकाको रुपमा चिनिन चाहने केशु आफ्नो कर्मबारे खुलस्त पार्छिन्, ‘प्रायः कल्चरल गीत गाउँछु । गुरुङ कला, संस्कृति, संस्कार जोगाउन ।’ सानैदेखि गाउँमा रोधी बस्ने चलन, त्यसमै जाने, स्कुल, कलेजमै पनि मौलिक गीत गाउने बानी परेका केसुलाई त्यतैको रस बसेको बताउँछिन् ।
०००
केशुले अहिलेसम्म कौरा, सालैजो, लोकगीतलगायत दर्जनभन्दा बढी गाइसकेकी छन् । पाँच वर्षदेखि वर्षैपिच्छे जस्तो एल्बम निकाल्दै आएकी उनले दोस्रो कोसेली ‘धरमपानी गाउँ’ कौरा निकालेकी थिइन् । पुरुष आवाज सुजन तिगेला लिम्बूको रहेको सो गीतको लय, शब्द बिन खातीले बनाएका थिए । फेरि एकल आवाजमा लोकगीत गाउने तयारीमा पनि छिन् उनी ।
०००
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं सानैदेखि सामाजिक काम र सांगीतिक फाँटमा औधी रुचि राख्ने उनले त्यस्तै कर्म गर्न पाइरहेकी छन् भने, गीतिक्षेत्रकै ‘कौरा किङ’ दुर्गा गुरुङ र रेशम गुरुङको संगतमा पनि पुगेकी छन् । उनीहरुकै टिममा आबद्ध उनी पैसाभन्दा पनि दर्शक, श्रोताको मायालाई नै ठूलो मान्छिन् ।
०००
सायद, अतित धेरैका अविष्मरणीय हुने गर्छ । गायिका केशु पनि पहिलो गीत स्टुडियोमा रेकर्ड गराउँदा निक्कै डराइन् रे । उनी कामेर ‘आँसु ताल’ मा गीत एक्लै गाउन नसकेपछि लोकदोहोरी गायिका टीका पुनको साथ लिनुपरेको सम्झिन्छिन् । पहिले–पहिले अकमकिने र डराउने केशुको अचेल त्यस्तो बानी छैन, ढुक्क र मजाले गाउँछिन् । काठमाडौं शंखपार्कमा भलाकुसारीको क्रममा छेउमै उभिएका केशुका गुरु अर्थात् गीतकार एवं अभिनेता रेशम गुरुङ उनको गायकीबारे बोल्दै थिए, ‘बहिनी केही गरेर अगाडि बढ्न सक्छिन्, गाउने क्षमता छ, मीठो स्वर छ भनेर हामीले सपोर्ट गरिरहेका छौं’ उनले भने, ‘घुलमिल हुने स्वभाव छ, रियाज गर्नुपर्छ राम्रो हुँदै जान्छ, राम्रो भएको छ ।’
०००
भनिन्छ, कला भएरमात्रै हुँदैन, त्यसलाई निखारता र क्वालिटी ल्याउनलाई अभ्यास जरुरत पर्छ । औपचारिक तालिम नलिए पनि गायिका केशु घरमै समय उबारेर रियाज गर्छिन् । घरायसी र व्यक्तिगत कारणले व्याचलरभन्दा बढी पढ्न नपाएकी उनले जागिर खाइन् र त्यसको तीन वर्षपछि २०७१ मा संगीतमा हात हालेकी हुन् ।
०००
नेपाली समाजका महिलाहरुलाई अझै निर्वाध रुपमा कुनै पनि क्षेत्रमा अघि बढ्ने वातावरण बनिसकेको छैन । केशुको रहरविपरीत सानैदेखि नाच्ने, गाउने काममा नलाग्न बाबुआमालगायतले दबाब दिने गर्थे । तर, पारिवारिक तगारो नाघ्दै संगीत क्षेत्रमा लागेकी उनी पहिले गाउन छाड्दे, बिग्रिन्छ भन्ने बुबाआमाको सपोर्ट पाउँदा अहिले हर्षित पनि छिन् । अझ उनका बाआमा छोरीको प्रगतिले सुखका आँसु झार्छन् हिजोआज । ‘टेलिभिजनमा मैले गाएको गीत हेरेर खुसीले आमा त धरधरी रुनुहुन्छ’ उनले यथार्थ बताइन्, ‘ममीभन्दा बाब कमलो मनको हुनुहुन्छ, उहाँ नरुने कुरै भएन ।’

एनजीओको राम्रै जागिर हुँदाहुँदै संगीत क्षेत्रमा किन लाग्नुभएको त ? भन्ने प्रश्नमा ‘पहिलेदेखि नै मौलिक संस्कार, संस्कृति मन पर्ने, हिट भएँ भने देश, विदेशमा कला देखाउन पाइन्छ, नेपाली मौलिक संस्कार विदेशसम्म फैलाउन सकिन्छ कि भन्ने हो ।’ कतिपय कलाकार जीवन धाउन धौ–धौ परिरहेको बताइरहेका बेला केशुलाई भने जागिरका कारण संगीतमा निरन्तरता दिन सजिलो भएको छ । ‘एल्बमलाई लगानी र भइपरी आउने खर्च अरुसँग माग्नुपर्ने अवस्था छैन’ उनले गर्विलो पारामा भनिन् । अहिले संगीतको राम्रो लाइनमा छु जस्तो लाग्छ केशुलाई । तर, देश, विदेशमा नयाँलाई स्टेज प्रोग्राम दिन आयोजकले हिच्किचाउँदा भने उनलाई नमीठो भान हुन्छ । आफू पनि भर्खरै कलाकारितामा बामे सर्दै गरेको बताउँछिन् । कलाकारहरु आउँछन्, जान्छन् वा कतिखेर पलायन हुन्छन् पत्तो हुन्न । तर, केशु थाकेकी छैनन्, थाक्दिनन् रे । एक, दुई जनाको मात्रै योगदानले यो क्षेत्रको उत्थान नहुने भएकोले संगीत बुझ्ने र बुझेर यस क्षेत्रमा लाग्न पनि उनको आग्रह छ ।

सुमधुर स्वर, हाइटी र गहुँगोरी वर्णकी केसु गाउने मात्रै नभई अभिनय पनि गर्छिन् । उनले गुरुङ कला संस्कृति तथा लोक पहिचान बोकेको ‘झिल्के भेना’ म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । त्यस्तै चलचित्र रिजेनासा (रन्जित गाउँ) मा पनि उनको अभिनय हेर्न सकिन्छ ।

प्रस्तुति : टीकाराम तामाङ

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!