लण्डन फागुन १६ ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन् ।
आइतबार बेलायतस्थित अल्डरसटमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन् । गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा भएको कार्यक्रममा उनले गोर्खा भूपू सैनिकको विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । पूर्व राजदुतले गरेको सम्झौताका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै राजदुत आचार्यले दुई देशबीचको कुराकानीलाई गोरखा भूतपूर्व सैनिकहरुसमेतको सहभागितामा प्राथमिकताका साथ अघि बढाउने बताए । नेपाल र बेलायतको ऐतिहासिक सम्बन्ध वर्तमान परिस्थितिमा अपेक्षित नभएको भन्दै उनले यो सम्बन्ध सुढृढ बनाउन दत्तचित्त भएर लाग्ने बताए ।
नेपालको आर्थिक रुपान्तरणका लागि बेलायत सरकारसँग गर्नुपर्ने सम्पूर्ण पहल गर्ने बेलायतबासी नेपाली समुदायसमक्ष उनले प्रतिबद्धता जनाएका छन् । उनले करिब दुईलाख नेपालीको बसोबास रहेको बेलायतमा नेपालबाट सीधा हवाइ उडान भएमा त्यसले नेपाल-बेलायतको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे । यस्तै दोहोरो कर उन्मुक्तिका विषयमा पनि आफूले कामा अघि बढाउने वचन दिए ।
नेपालको नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीलाई नेपालमा सुविधाका बारेमा आगामी दिनमा छलफल अघि बढाउँदै जाने बताए । पूर्व गोर्खा सैनिकको हक अधिकारका लागि लामो समयदेखि आन्दोलन हुँदै आएपनि कुनै राजदूतले यो समस्या समाधान गर्न नसकेको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए । उनले बेलायतले नेपालका १० हजार नर्सलाई रोजगारी दिने भनिएको योजना कार्यान्वयन गर्न समेत उनले राजदूत आचार्यसमक्ष आग्रह गरे ।
सयौँ वर्षदेखि बेलायत सरकारले गोर्खा भूपू सैनिकमाथि अन्याय, अत्याचार गरेको यस विषयमा नेपाल सरकारले समेत चासो नदिएको गोर्खा अभियन्ता धनबहादुर गुरुङले बताए । लामो समयदेखि गोर्खा सैनिकमाथि हुँदै आइरहेको विभेद र अन्याय अन्त्य गर्न उनले नवनियुक्त राजदुतसित माग गरे ।






