चिम्खोले काइँला
बेलायत । नेपालको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा बेलायत भ्रमणमा आउने भएकी छिन् ।
मन्त्री थापा मंगलबार जुलाई २४ मा लन्डनस्थित ओलम्पिक पार्कमा हुने विश्व अपाङ्ग शिखर सम्मेलनमा भाग लिन आउने भएका हुन् । नेपालको प्रतिनिधित्व गर्दै सम्मेलनमा भाग लिन लागेकी मन्त्री थापाले कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
सो शिखर सम्मेलनमा विश्वका झन्डै २०० देशहरुले भाग लिने भएका छन् । सम्मेलन युके डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (Uk DFId) र केन्या सरकारको संयुक्त आयोजनामा हुँदैछ ।
मन्त्री थापा सोमबार २३ जुलाईको दिन बेलायतको हिथ्रो विमानस्थलमा अवतरण हुने छिन् । सम्मेलनमा भाग लिएपछि बुधबार २५ जुलाईको दिन गैर आवासीय नेपाली संघ (एनआरएनए) युके र म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको संयुक्त कार्यक्रममा सहभागी भएर बिहीबार २६ जुलाईको दिन नेपाल फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव गम पुनले जानकारी दिएका छन् ।






