लन्डन १४ जुन २०२२ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले बेलायत भ्रमणमा रहेका कलाकार सम्मान गरेको छ ।
१२ जुन २०२२ का दिन अल्डरसटमा एक कार्यक्रमबीच विभिन्न संघ संस्थाद्वारा आमन्त्रित विभिन्न विधाका कलाकारहरूलाई स्वागत तथा सम्मान गरिएको हो । पहिलो चरणको कार्यक्रम करिब दिउँसो १ बजेबाट अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा नियमित त्रैमासिक बैठक र दोस्रो चरणमा कलाकार सम्मान गरिएको थियो । आयोजकका अनुसार १५ जना कलाकारहरू आमन्त्रण गरे पनि उपस्थित १३ जना कलाकारहरूको ५ बजेदेखि ९ बजेसम्म खानपिनसहित सम्मान कार्यक्रम आयोजना भएको थियो ।
सम्मानित कलाकारहरूमा लोक तथा दोहोरी गायकहरूमा विरू लामा, कृष्ण अखेली, हेमन्त कान्छा रसाइली, विशाल रायमाझी, लोक तथा दोहोरी गायिकाहरूमा तुलसी क्षत्री, बिमला श्रीस, अनुपा रोका, शान्ता रानी परियार, अस्मिता डल्लाकोटी, भूमिका शाह, मोडेल तथा डान्सर रीना थापा मगर, पपआधुनिक लोकगायक गगन पुन, पपआधुनिक लोक गायिका एलिना गुरूङ थिए । उपस्थित सबै कलाकारहरूलाई अध्यक्ष टंक शेरचनले खादा प्रमाणपत्र र मायाको चिनो दिई सम्मान गरे । साथै प्रतिष्ठान यूकेमा आबद्ध भई भर्खरै आजीवन सदस्यता लिएकाहरूलाई प्रमाणपत्र र प्रतिष्ठानको ब्याच वितरण गरिएको थियो ।
अध्यक्ष शेरचनले बेलायत नेपालभन्दा धेरै बिरानो ठाउँ भए पनि लाखौं कलाकारहरुबाट छानिएर आउन पाउनु सौभाग्य हो भन्दै बधाई तथा शुभकामना दिए । कार्यक्रम सुरूदेखि अन्तसम्म प्रतिष्ठान यूकेका सचिव रत्न शाहीले सन्चालन गरेका थिए । कार्यक्रममा बेलायतवासी कलाकार, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।






