फेरि अर्को श्रद्धान्जली: डा. मुलीवीर राइ

SHARE:

डा. मुलीवीर राइ

“बवि इश्वरको नाउ लेउ, निरन्तर सम्झीराख है, उनैको घर त हो तिमी जाने” मैले यसो भन्दाभन्दै उनी विस्तारै गइन् मेरो काखबाट टा..ढा । शान्तपुर्वक । …मानौँ यो सुनियोजित थियो ।  गङगबु प्लाजाको कफि पसलमा मेरा अनन्य मित्र जयजीले आलो वियोगान्त कथा सुनाइरहेका थिए मलाइ ।

नागाल्यान्डको एउटा सुन्दर गाउँमा फुलिरहेको एउटा सुन्दर फूल टपक्क टिपेर स्यूरेका थिए जयजीले । आफ्ना पिताजी इन्डीयन आर्मी अफिसर भएकाले नागाल्यान्डको छाउनीमा पढाइ भएकोथियो जयजीको । त्यसैबेला माया साटेकाथिए जय र बविताले ।  विहे भयो । एक पुत्र र एक पुत्रीका आमाबाबु बने । बेलायतमा एउटा गतिशील र सुखी जीवन थियो दम्पत्तिको । अचानक आँधी आयो । बविता रहिनन् यस धराधाममा । केवल रह्यो उनका सम्झनाहरू ।

भेट भयो जय दुरासँग पल्टनघरमा हाम्रो । सँगै भर्ती भएपछि प्राकृत साइनो हुन्छ नम्बरी । तर कसो कसो उनी मेरा लागी जयजी नै रहे र उनको म मुलीजी । लगभग यही कारण हाम्रो मित्रता नम्बरीको भन्दा नम्बरी बन्न पुग्यो । यही कारण मसँग उनको जीवनको विषयमा सँस्मरणका शिर्षकहरू प्रशस्त भए । यहि कारण बविता मेरी बहिनी जस्ती भइन् र यही कारण उनका सम्झनाहरू केवल हार्दिक ‘श्रद्धान्जली’ मा मात्र अटेनन् ।

मेरा नजिकका आफन्तहरू र मित्रहरू पालैपालो यो जीवन यात्राको रेलबाट ओर्लिरहेका छन् । सँगै रहदाबस्दाका छरपस्ट सम्झनाहरूलाई अक्षरहरूमा बटुल्ने गरेको छु । जानेहरूले ती शब्दहरू पढ्न पाएनन् । तर यसपल्ट प्रयास गरेँ कि बविता बहिनी रहदै संझनाका यी अक्षरहरू सँस्मरण होउन न कि श्रद्धान्जली । तर कसो कसो आँट भएन वेलामा बोल्ने; उनको निम्ति अन्तिम पत्र उनैलाइ सुनाउने । अन्तिम अवस्थामा जयजीलाई सोधेँ – जयजी म बविता बहिनीलाई विदाइका केही शब्दहरू लेखुँ? अस्पतालको शैयाबाट बविता बहिनीले टाउको हल्लाएर मलाई अनुमति दिइन’रे – हुन्छ । बेस्सरी दुःख लागेको छ उनलाइ जिवित सम्बोधन गर्न सकिनँ । यद्यपि ¬–

बहिनी,

तिमी लाहुरेनी । मेरो मित्र जय लाहुरे । उसको कानमा स्यूरिइएर भर्भराउदी सुहाएकी थियौ । थाहा छैन तिमी नागाल्यान्ड कुन ठाउकी हौ ? तर यति म भन्न सक्छु तिमी गाउकी हौ जो माटो, रुख र चराहरूसँग कुरा गर्नसक्छ । दुख र कष्टहरूसँग पर्म गर्न सक्छ । त्यसैले त तिमी हाँसीहाँसी लम्जुङको दुरा डाँडा खेप्न आयौ । बेँसी भोग्न आयौ । तिमी जस्तै लाहुरेनीहरू शहरमा कान्छालाई मोःमो: फर्माइस गर्दै गर्दा तिमी नाबालक छोरीलाई सासुको जिम्मालगाएर लम्जुङब्याँसीमा खेतालाहरूसँग धान रोपीरहेकी हुन्थ्यौ । तिमीले धान रोपेको र जयले वाउसे गरेको तस्वीर जयको निम्ति केवल तश्विर थिएन । यो त तिम्रो त्याग र तपश्याको अग्नि परिक्षा थियो । प्रेमको उपहार थियो । जय पल्टनआउदा शिर्फशरिर मात्र ल्याउथे मन र मुटु तिमीसँग नेपाल छाडि राखेर । त्यसो त लाहूरेहरूको नियती थियो उसवेला एक्लै बस्नुपर्ने । भर्खर भित्र्याएकी दुलहहीको चुराको आवाज मत्थर हुन नपाउदै पल्टनमा हाजीर हुनु पर्ने । गुरुजीले पत्रको विटा हातमा बोकेर आउँदा त्यही हातमा झम्टीन मन लाग्थ्यो । आफ्नो प्रेयसीको पत्र नहुदा भोग्नु पर्ने निरासाको के कुरा ? यो त हिटलरले दोश्रो विश्वयुद्ध हार्नु थियो । जापानले आत्मसमर्पण गर्नेु थियो । जयले तिमीलाई प्रत्येक दिन पत्र लेख्थ्यो । तिमीले प्रत्येक दिन नै पाउनु पर्ने हो लम्जुङमा, पायौ ? जवाफ दिनको निम्ति कमसेकम तिमी मृत्यूशैयामा पनि छैनौ अब । नत्र अवस्य मुस्कुराउथ्यौ र भन्थ्यौ हौली ¬– यो लाहुरेहरू कति मात्तिएका !

पछि तिमी वेलायत आएपछि हाम्रो भेट भयो । जयले रात दिन जपेको नाउ जस्तै थियौ तिमी – एउटा  खुल्ला पुस्तक । वेलायतमा आएपछि एउटी लाहुरेनीले ड्राइभिङ र अङग्रेजी बोल्न जान्नुलाई ठूलो उपलब्धी मानिन्छ जुन तिम्रो निम्ति सामान्य थियो, कारण यो थिएन कि तिमी जान्दथ्यौ । यो तिम्रो हिम्मत, आत्मविश्वास र लगनशिलताको परिणाम थियो । एक साँझ तिमीले अँग्रेजी शब्दको अभावमा विरामीहरूलाई कसरी सम्झाउथ्याै भन्ने कुरा गर्दा पेट मिचिमिचि हाँसेका थियौँ टिका र म ।

पछिल्लो समयमा तिमिले अङग्रेजी फटकारेको सुनेर म ट्वाँ परेको थिएँ । तिमी स्थानियभाषी जस्तै भएकी थियौ । तिमीले काम गरेको अस्पतालको बारेको कुरा गर्न एउटा साँझ पह्र्याप्त थिएन । त्यहाका बुढाबुढीहरूको अवस्थालाई देखेर तिमीले गरेको जीवन र मृत्यूको परिभाषा एउटा ज्ञानी पुरूषको जस्तो थियो । मृत्यूको नाउ सुनेर तर्सिने मान्छेहरूको निम्ति असामान्य लाग्थ्यौ तिमी । तिमीले गरेको कहाँ जागिर थियो र बविता? त्यो त सेवा थियो । विशुद्ध सेवा ।

तिम्रो गीत सङगीत प्रतिको मोह पनि गजबको थियो । याद छ मलाई  तिमी शम्भु राइको फ्यान् । एक पल्ट शम्भू दाइ वेलायत आउदा तिमीसँग भेटाइदिएर धन्यबाद कुम्ल्याउने धुनमा थिएँ म । दाइ आउनुभो । कार्यक्रम गरयौँ । कार्यक्रम सकेर म ठूलो छाती बनाउदै परिचय गराएँ – दाजु, उहाँ चाही हजुरको ठूलो फ्यान् – बविता बहिनी । दाइले पनि मख्ख पर्दै सोध्नुभो, “ए हो बहिनी मेरो कुन गीत धेरै मन पर्छ तपाईँलाई ?” तिमीले भन्यौ, “अरुणै तरे तम्मुरै गरेँ” ।  शम्भुदाइले मायालु शैलीमा भन्नुभयो –त्यो त जितेनको गीत हो नि बहिनी । त्यसवेला तिमी ग्लानीले पानी पानी भएका थियौँ । मलाई पनि कम अप्ठेरो परेको थिएन । पछि मलाई थाहा भयो । तिमी साँच्चीकै शम्भू दाइको फ्यान रहिछौ । दाइको प्रत्येक गीत तिमी खिपिखिपि गाउदी रहिछौ । तिम्रो स्वरमा साच्चिकै जादु थियो । कतै रेकर्ड गर्न पाए जस्तो लाग्यो मलाई पछि ।

के थाहा । त्यही नै हाम्रो अन्तिम भेट थियो भनेर । जागीरको शिलशिलामा हामी टाढा भयौँ । जयजीसँग भने सम्पर्क रहिरह्यो । सुने – तिम्रो जन्मदिनकै दिन पो रहेछ त तिमीलाई क्यान्सर डाइगनोस भएको । त्यसपछि हामी बोल्यौँ । फोनमा तिमीलाई उत्तीकै प्रखर सुनेँ जति तिमी पहिले थियौ – दाइ मलाई त केही जस्तो लागेको छैन । सबैजना यो खबरले स्तब्ध हुन्छन् । मत कराइदिन्छु – किन मलाइ के भएको छ र रुन्छौ हँ ? जयजीसँग बाक्लो टेलिफोनसम्पर्क हुनथाल्यो – “मुलीजी कहिलेकाही त मलाई अचम्म लाग्छ । राती मेरो मनमा अनेक कुराहरू लेल्छन् तर बविता ओछ्यानमा पल्टेको केही मिनेनमै मस्त निदाउछीन् । उनी यतिसाह्रो निश्फिक्री कसरी हुन सकेकी !”, जयजी यसै भन्थे मसँग।

डक्टरले अब केही महिना मात्रै बाँच्ने फैसला सुनाउदा पनि तिमीलाइ केहीले छोएन । साँच्चिकै तिमी साह्रै ज्याद्री हौ । मृत्यूसमेतले धेरै संघर्ष गर्नुपरयो । जयजी विल्कुल असमन्जसमा थिए । एकातिर औषधि विज्ञानको ग्यारेन्टी, अर्कोतिर तिम्रो मकालु जस्तो अटलता । “मुलीजी कहिलेकाही त हैन कि जस्तो लाग्छ डक्टरले साँचो त भनेको हो?”

अन्ततः वेलायतको अत्याधुनिक भनिइने औषधोपचारले आत्मसमर्पण गरे पछि तिमी र जय देश फर्कने निर्णय गरयौ । हाम्रो बसाइ भौगोलिक दुरीमा टाढा भएकाले तिमीलाई भेट्न आउन सोच्नै पर्ने थियो । आऊँ, तिमिलाई अन्तिम विधाइ गर्नै आए जस्तो हुने । त्यसो गर्ने आँट ममा थिएन ।  नआउँ तिमी फेरि फर्केर बेलायत आउछौ कि आउदैनौ । एक दिन तिमिले प्रश्ट आवाजमा भन्यौ “दाइ म फर्केर आउछु अनि भेट्नु पर्छ ।” म केही हदसम्म ढुक्क भएँ । जयजीले एयरपोर्टबाट फोन गरे र हामी बोल्यौँ फेरी भन्यौ “म फर्केर आउछु अनि भेट्नु पर्छ है दाइ ।”

जयले मलाई पछि भने त्यो तिमीले भन्नको निम्ति मात्रको भनेकी रहिछौ । तिमीलाई थाहा थिएछ तिमी फेरि फर्केर वेलायत आउदिनौ । कम्तिमा मलाई थाहा भएको भए म आँट गरेर सोध्ने थिएँ – बहिनी, तिमीलाइ विदाइका केही शब्दहरू लेखूँ ? त्यसो भएको भए यो सँस्मरण हुने थियो न कि श्रद्धान्जली ।

दाइ

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!