संस्मरण : खाडी युद्ध जानु अघिल्लो रात !

SHARE:


कुरो सन् १९९० को हो । म उमेरले ठ्याक्कै २५ टेकेको थिएँ । र, तिनताका पल्टन घरमा थिएँ । त्यहाँ छँदा मैले जानी वा नजानी लाठे भन्ने उपनाम पाएको थिएँ । त्यसबेला पल्टने भाषामा चुकचुकाउँदो बैंशालु जोवन भएका जोकोहीलाई लाठे भन्न स्वाभाविकै ठानिन्थ्यो । त्यसबेला मेरो पल्टन हङकङमा थियो । पल्टन त्यहाँ हुँदा म यातायात विभागको टुकडीमा काम गर्दथेँ । तिनै यातायात विभागलाई पल्टनघरमा गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) भन्ने चलन थियो । अहिले जिटिआरको आयु सकिएर छुस भइसकेको छ । तैपनि पहिले थियो है भन्ने ‘ब्रिगेड अफ गोर्खाज्’को इतिहासमा निश्चय नै जीवित रहेको छ । अब पुनः खडा हुन्छ कि हुँदैन । त्यो त सायद भविष्यले नै बताउने छ ।

तत्कालीन समयमा जिटिआरको दुईवटा उपशाखाहरु पनि थिए । जस्लाई उतैतिरको भाषामा भन्नु पर्दा स्क्वाड्रन भन्नु पर्दथ्यो । ती दुईवटा स्क्वाड्रनहरुमध्ये २८ यातायात स्क्वाड्रन गन क्लब हिल ब्यारेक्स, काउलुनमा अड्डा जमाएर मज्जाले बसेको थियो भने अर्को स्क्वाड्रनलाई ३१ स्क्वाड्रन भन्ने गरिन्थ्यो । जुन स्क्वाड्रनचाहिँ बोर्नियो लाइन्स, सेकङ (न्यू टेरिटोरिज) मा गज्जबले अखडा जमाएको थियो । वास्तवमा ती दुवै स्क्वाड्रनहरुले यति धेरै अखडा जमाएर बसेका थिए कि अन्य पैदल सेना (इन्फेन्ट्री बट्टालियन) का सदस्यहरुले यातायात रेजिमेन्टका मानिसहरुलाई त्यसैले ‘होम गार्ड’ भनेर हेला मात्र गर्दैनथे । अनादर, अपमान र बेइज्जतको उपनाम पनि दिएका थिए ।

आखिर, होम गार्ड के हो ?
यसको सरल जवाफ दिने हो भने त्यहाँ कार्यरत सदस्यहरु हङकङदेखि बाहिर जाने अवसर पाउँदैनन् भनेर राम्ररी बुझिन्थ्यो । अब हङकङदेखि बाहिर जान नपाएपछि त्यहाँ काम गर्ने मानिसहरुले वेतन पनि थोरै पाउँथे । न्युनतम तलबमा काम गर्नु परेपछि सँगसँगै भर्ती भाका तर पैदल सेनामा काम गर्नेहरुसँग पौंठेजोरी खेल्न सकिँदैनथ्यो । आफूसँगैका नम्बरीले नेपाल छुट्टीमा जाँदा धरान वा पोखरामा घडेरी किनेको सुन्दा आफू हकदेदे पर्नुपर्थ्यो । अझ परस्थिति त्यतिले मात्र के साम्य हुन्थ्यो र ? जस्को घर, घडेरी र गाँठ हुन्थ्यो । उसले नै रोजारोजा युवती बिहे गर्ने चलन थियो ।

जुन जुलाईको समयमा हङकङमा असाध्यै गर्मी हुन्थ्यो । “तँहरुलाई थाहा छैन, हङकङको गर्मीले भङ्गेरा लडेर भुइँमा बङ्लङ्गै झर्छ,” रिक्रुट हुँदा गुरुजीको अम्माइन त्यसरी सुरु हुन्थ्यो । हुन त रिक्रुटलाई रिकुटे, रेक्रुट वा थङरुट भनेर विभिन्न नामले पुकार्ने गरे पनि केही फरक पर्दैनथ्यो । त्यहाँ प्रयोग हुने ती सबै शब्दहरु हेपाहा, नीच र क्षुद्र भाषाका लागि बनेका थिए ।

अझै गोर्खा फेमिली लाइन्समा आफ्नो जीवन संगीनीसँग झगडा परेपछि जुङ्गामा ताउँ लगाउँदै माओत्सेतुङ साइकलमा खुरुरु आउने गुरुजीहरुको हृदयमा कहिल्यै पनि दया पलाएका जस्ता लाग्दैनथ्यो । किनभने रिक्रुटलाई देख्नेबित्तिकै गुरुजीको शब्दकोषमा दुम्बाभन्दा अर्को शब्द हुँदै हुँदैनथ्यो । हुन त हङकङ जस्तो व्यस्त सहरमा आफ्नो जीवन हराएर अधिकारविहीन भएका मानिसहरुलाई आखिर जेसुकै भनेर पुकारे पनि के नै पो फरक पर्थ्यो र ? त्यसैले गोर्खा रेक्रुट तालिम केन्द्र, मलाया लाइन्समा त्यसकै बढी अभ्यास हुने गर्दथ्यो ।

खयर जेसुकै होस् । थङरुट उत्तीर्ण भएपछि चालक भएको मान्छे, म । चालक भएर तिनै तालिम केन्द्रमा पटक पटक जाने कर्तव्य (ड्युटी) परिरहन्थ्यो । अझै गर्मीको समयमा एकहातमा क्रिमसोडा र अर्को हातमा फोरटन ट्रकको स्टेरियङ् घुमाउँदै मलाया लाइन्स पुग्दा, ‘होम गार्ड आयो बाटो छोड,’ भनेको यदाकदा सुन्ने गरिन्थ्यो । त्यहाँ कार्यरत इन्फेन्ट्रियर गुरुजीहरुको त्यस्तो हेपाहा बोलीले कन्पारो झनन् तातिएर आउँथ्यो । तर उनीहरुकै मुखारवृन्दबाट प्रस्फुटित भएको अमिलो वाक्यांश, ‘वेश्यालयमा भर्ती हुनु र सेनामा भर्ती हुनु एउटै हो,’ भनेको घरीघरी सम्झन्थेँ । र, मनलाई हल्का शान्ति दिन्थेँ । तर त्यसको माने चाहिँ जस्तोसुकै परिस्थिति आइपरे पनि वेश्या र सिपाहीले सहनु पर्छ भन्ने नै बुझिन्थ्यो ।

पल्टनघरको समयले नेटो काटिरहेको थियो । बोर्नियो लाइन्समा स्थायी बसोबास गर्नु परेकोले होमगार्ड उपाधि त यस्सै पाइरहेको थिएँ । तर कसोकसो चन्द्रमा दाहिने भएर दोस्रोचोटी हजुर महारानी (अहिले राजा) को देश बेलायत टेक्नको लागि गोर्खामेजरको अन्तवार्तामा जानु पर्ने दिनको एकदिन उदय भयो । त्यसबेलासम्म मोटरसाइकल, कार, ल्याण्डरोभर, फोरटनर र कोच चालकसम्म भइ टोपलेका थिएँ । अब मैले त्यतिमा मात्र गौरव अनुभूति गरिरहेको थिइनँ । झन् निकट भविष्यमा वारियर (टैंक) चलाउने अवसर जुर्दै गरेकोले मन हावामा फुरुरु उडिरहेको थियो । तैपनि अझै सल्सबरी प्लान, बेलायतमा । त्यसैले अर्को दिन चालक रोहित राईसँग रेजिमेन्टल मफ्तिमा सजिएर चुरुमचुरुम हाइल्याण्डर सुजको आवाज निकाल्दै सर्लक्क देवानन्द शैलीमा रेजिमेन्टको मुख्यालय पुगेका थियौं । हामी त्यहाँ पुग्दा तत्कालीन साजर्न्ट गोपीमान प्रधान, कर्पोरल पूर्ण शाही र चालक रिन्जी शेर्पासँग भेटघाट भयो । तर उहाँहरुसँग भेट हुने वित्तिक्कै –

“साथीहरु के हो ? जुत्ता त अलिक मज्जाले टल्केको छैन ? यस्तो उमेरमा त जुत्ताको नखमा टिलिक्कै अनुहारको छाया पो देखिनु पर्ने हो ?”

अनाशसै त्यसरी खोलिएको कर्पोरल गुरुजीको मुख एकदम चोटिलो बनेर आयो । उहाँको कुरो सुनेपछि मैले रोहितको अनुहारतिर एक झलक हेरें । उनको अनुहार बिहानीपखको स्वर्ग डढेझैं सुस्तरी रातो हुँदै आइरहेको थियो । मलाई भने चिटचिट पसिना छुट्न थालेको सुस्तरी महसुस हुन थालेको थियो । तर गुरुजीको कुरो सुनेर हामी दुवै जनाको मुखदेखि एक्कै शब्द फुत्कन सकेको थिएन । हामी केही बोल्दै नबोलेपछि म तिर तिरिरि हेरेर –

“एइ चडके ! अझै तिमी त यस वर्षको जेएलसीमा फस्ट भएको मान्छे पनि होइन ? अलिक समयमा नै होसको दबाइ खानु है ।” सार्जन्ट गुरुजीले भारीमाथि सुपाडी थपेर टोकाइ दिन थाल्नुभयो । उहाँको कुरो सुनेपछि मैले कोइलीको झैं मधुरो स्वरमा, ‘हजुर ! गुरुजी,’ मात्र भन्न के खोजेको थिएँ । अचानक मेरो सास टुंगिहाल्यो ।

“साथी हो ! अलिक चड्के भइएन भने म जस्तै बुढो सिपाही हौला नि !” रिन्जी गुरुजीले पनि बिस्तारै बल्दै गरेको आगोमा घ्यू थपिहाल्नु भयो ।

त्यो अध्याय एकछिनको लागि त्यत्तिकैमा समाप्त भयो । उहाँहरु तिनैजना २८ स्क्वाड्रनमा कार्यरत हुनुहुन्थ्यो । रोहित र म चाहिँ ३१ स्क्वाड्रनमा काम गरिरहेका थियौं । तर के गर्ने ? बेलायत जानको लागि हर्षित मुद्रामा अन्तर्वार्तामा हिँडेको मानिस पहिलो गाँसमा नै ढुंगा भेटी हालियो । हुन त पल्टन घरमा टोकाइ खानु भनेको कुन चाहिँ ठूलो कुरो हो र ? कुकहाउसमा सार्जन्ट दिमाक सिङ्ग राई गुरुजीले पकाउनुभएको दुम्बाको मासुको स्वादभन्दा कोही बेला मीठो र स्वादिलो हुने गर्दथ्यो ।

तर असाध्यै भोक लागिरहेको छ भने त खै कुन्नि हैं यस्सै भन्न सकिन्न । कुकहाउसमा फर्फर भुटिँदै गरेको दुम्बाको वासना नाथन रोडको छातीभरि पोखिँदा मन भरङ्गै हुने गर्थ्यो । अझै छद्मभेष पहिरन गरेर सुश्री एसडी मनिला वा मिस साइगनको खोजीमा हिँडेको मानिस वानचाईको फुसिक्याट र नेप्च्युन पुग्न त परै जावस चुङकिङ म्यानसनको पहिलो तला चढ्न नपाउँदै यतीको झैं उल्टो पाइला चालेर फरक्क फर्किन मन लागि हाल्थ्यो ।

खाने कुरोको कुरै छाडौं । र, एकछिन परेडको कुरो गरौं । हातेघडीले समय बिहानीको ठीक १० बजाएको थियो । १० बज्ने बित्तिकै हाम्रो सामु रेजिमेन्टल सार्जन्ट मेजरको उपस्थिति भयो । हामी त्यसबेला रेजिमेन्टको मुख्यालय अगाडि खडा थियौं । उहाँ आउनेवित्तिक्कै हामी सबै जनालाई ‘अटेन्सन’ भन्ने कासन दिएर सुरिलो पोजिसनमा तैनाथ गराइहाल्नुभयो । केहीबेरपछि हातमा सानो छडी खेलाउँदै खेलाउँदै कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल पौल गिल्हाम एसक्यु र गोर्खा मेजर (क्युजिओ) काजीमान लिम्बू एमभिओको आगमन भयो ।

उहाँहरु लौरो हल्लाउँदै हाम्रो नजिक आइपुग्नै लाग्दा रोहित गुरुजीले सानो स्वरमा, ‘हेर ! मनाङ्गे र आम्फैको स्वाङ,’ भनेर मैले सुन्नेगरी उहाँहरुको उपनाम छुसुक्कै भन्नुभयो । अब म यसै त सबैभन्दा जुनियर र फुच्चे थिएँ । त्यसैले त्यति ठूल्ठूलो सैनिक अधिकृत साहेबहरुको उपनाम किन त्यस्तो रहन गयो होला भनेर साह्रै निधिखुदी गर्न खोजिनँ । अघि नै भारी पुग्ने गरी टोकाई खाइसकिएको मान्छे । बरु पोइन्ट जान्छ भनेर वाइवाइ उँभिरहेँ ।

जस्ले जे सुकै भनेता पनि रोहित गुरुजी अलिक ढुक्कैको मानिस हुनुहुन्थ्यो । उनीसँग मेरो तुलना गर्ने हो भने बरु म चाहिँ अलिक खन्तरे नै थिएँ । अब त्यहाँ उभिरहँदा अलिक सकारात्मक भएर, – ‘जानेको जति खरिखट्टै काम गरिन्छ, तर कसैलाई हल्ट पुकारिँदैन,’ त्यो सिद्धान्त अपनाउँछु भनेर सोच्न थालें । अब कसै कसैलाई हल्ट पुकार्न थालियो भने पल्टनघरमा ओभर बाठो दुम्बा (ओबिडी) नाम त यस्सै पाइन्छ नै त्यहीमाथि चाँदे पनि भेटाइहालिन्छ ।

चाँदे भेटेपछिको जिन्दगी भने पल्टनघरमा कदापि सजिलो हुने छैन भन्ने मेरो मनमा लागिरहेको थियो । किनभने त्यहाँ कागको फूल चोर्न रातको प्रतिक्षा गरिरहन पर्दैन । कसै कसैले दिउँसै चोरी हाल्छ । कागको फूल चोर्नेमात्र होइन । झुटो हर्कते, पोइन्टे र सुख्खा डटफटेदेखि जिउन सरल स्वभाव भएका सिधासाधालाई हम्मेहम्मे पर्ने गर्छ । तर पल्टन घरमा सबैभन्दा खतराचाहिँ खैनी मोल्ने, कादुरीको भाले पोल्ने, ताइलाम चुङ् जलाशयको माछा मार्ने र बाटोको लागि भनेर बियर फुटाउनेदेखि घोडा दौडको टिकट काटिदिनेसँगचाहिँ अति नै सावधान रहनु पर्ने हुन्थ्यो ।

त्यो मानिसहरुसँग बाँचियो भनेमात्र नोकरी बाँच्न सक्थ्यो । नत्रभने बल्लबल्ल बेलायत यात्रा तय भएको पनि एउटै युनिफर्म लगाउने दुश्मनले ‘चामाथुङ्मा’ गराइदिइहाल्थ्यो । अनि त्यसपछि होमगार्ड शब्द प्यारोभैं हाल्थ्यो । अब त्यो प्यारो भएपछि भने उही त हो । छुट्टिको दिन डक कम्पनीबाट एक क्यान सिङ्गापुरे बागको दूध ल्यायो । एक स्वाटमा नै सिध्यायो । अनि बिस्तारामा बङ्लङ्गै उतानो परेर दिनभरी सुत्यो । सिलिङमा झुन्डिएको पंखा कति चोटी घुम्छ भनेर हेर्‍यो र दिन कटायो । अझै त्यतिले मात्र भतभत्ती पोलेको दिल के सन्चो हुन्थ्यो र ? छिमेकी विस्ताराको नम्बरीले पैसामा आइरन लगाउँदै गर्दा आफ्नो मन कटक कटक खानुमात्र होइन गहिरो खाडल परेको घाउमा नुनचुक हालेको जस्तो महसुस हुन्थ्यो । त्यसैले त्यो सबै हर्कत बुझेपछि आफ्नो मुखलाई धारिलो छुरा बनाउनुभन्दा त बरु तोक्सम्बा भएर बस्नु नै उचित हो जस्तो लाग्थ्यो ।

आखिर जतिसुकै लामो दाम्लो बाटे पनि कुरो टुंगामा पु्र्‍याउन खोजौं । त्यहाँ कमाण्डर र जिएमको आगमन भएपछि हामी सबैको सास निभ्न लागेको टुकिझैं मधुरो भइरहेको थियो । सायद त्यसैले होला, उहाँहरुले हामीलाई धेरै अगेराबगेरा र अम्माइन लगाउन चाहनुभएन । तैपनि गोर्खा मेजरले निक्कै ठूल्ठूलो स्वरमा, “ल ! तिमेरु वारमिनिष्टरमा वारियर टैंक सिक्न जाँदैछौं । त्यसैले त्यहाँ पुगेर राम्रो काम गर्लास् । जिटिआरको नाम उच्च राख्लास् । यदि कसैले काम बिगार्‍यो भने मैले खाली खुट्टा घर पठाउनु जानेको छु ।” त्यति भनेपछि लौरो यस्तरी उचालिएको जस्तो लाग्यो कि मङ्गलग्रहको नजिक रहेको एस्टोरोइट पेटीमात्रले त के मान्थ्यो र ? त्यो भन्दा दुई प्रकाश बर्ष टाढा रहेको कुइपर पेटीसम्म पुगेको अनुभूति भयो । अनि चेतावनी पनि यति कडा लाग्यो कि ओलाङचुङगोलादेखि मातेको लिम्बू कराउँदा ताप्लेजुङ र पाँचथर पुरै थर्किएझैं हाम्रा मन थरर थर्किने गरी । त्यसपछि अन्तमा, ‘आरएसएम ! क्यारि अन,’ भन्ने हुकुम बर्सेपछिमात्र मन ढुक्क भयो ।

उहाँहरु बिलुप्त हुनु भएपछि सार्जन्ट गुरुजीले, ‘ल पार्टी हो । जिएम साहेबको कुरो सुनि हाल्यौ होला ?’ भनेर थोरै चकाब दिनुभयो । तर त्यतिको कडा स्वर उहाँको आएन । सायद पाल्पा, बुटवल र भैरहवाको पानी पूर्वी पहाडको जस्तो कडा हुँदैन होला ? बरु उहाँपछि कर्पोरल गुरुजीले सोही कुरोलाई अलिकति मरमसला थपेर बेजोडले प्रस्तुत गर्नुभयो । हुन त पल्टनघरमा त्यस्तो हर्कत कति सुनियो, देखियो र दिनैपछि सुनेर आइरहेकै हो । बरु के गर्नु । सबैभन्दा दुःखलाग्दो कुरो त नयाँ हाइल्याण्डर सुजले खुट्टाको औंलाहरु सबै सिध्यायो कि भन्ने ठूलो पिरमा थिएँ । किनभने त्यसबेलासम्म खुट्टाका औँलाहरु टनटन दुखिरहेको थियो ।

बडो मुस्किलले दुवैजना गुरुजीहरुको लेक्चर सकिएपछि रोहित र म बोर्नियो लाइन्स, सेकङ जानको लागि बाटो तताउन थालिहाल्यौं । गन क्लब हिल ब्यारेक्सलाई आधी चक्कर मारेपछि कारले सुस्तरी गति लिन थाल्यो । वाटर लु रोडको ट्राफिकले केही समय नष्ट गरेपछि चुनवान सहरलाई बिदाइ गर्‍यौ । अनि कछुवा तालमा रुट ट्विस्कको उकाली चढ्न थाल्यौं । त्यहाँका असंख्या घुम्तीहरु काट्दै जाँदा जाबो जिन्दगी पनि ब्यार्थै छ है भन्ने लागिरह्यो । मैले एकोहोरो त्यसरी कार हाँक्दैगर्दा टाउको फर्काएर रोहित गुरुजीको अनुहारतिर एकखेप राम्ररी हेरें । त्यसबेलासम्म एक्कै बचन नबोलेको गुरुजीको हृदयलाई पनि मान्नैपर्छ भन्ने मनमनै लाग्यो । त्यसपछि टाइमोसान पर्वत ताकेर उकाली चढ्दै गर्दा उनको विषयमा झन् नानाभाँती सोच्न थालें ।

रोहित पल्टनघरमा मभन्दा एक वर्ष अगाडि भर्ती भएका सदस्य थिए । त्यसैले पल्टने साइनोअनुसार मैले मोलमालको साथमा उनलाई गुरुजी भनेर श्रद्धाभक्त्ति चढाउनुपर्थ्यो । नत्रभने, ‘एइ काने ! कर्पोरल गुरुजीको अगाडि सर्लक्क तन्काउन लैजाउँ,’ भनेर खपिनसक्नु गरिहाल्नु हुन्थ्यो । पल्टनघरले दिएको अधिकार प्रयोग गरेर मलाई हैरान बनाउनुहुन्थ्यो । उनको सैनिक नम्बर ६१६५ थियो । त्यसैले हरबखत बोल्नेक्रममा मैले ६५ गुरुजी भनेर सम्बोधन गर्दथे । उनी बुताङ पाछा, बान्तवा राई र घरचाहिँ पूर्व ४ नम्बर बोखिम, भोजपुर । अथवा मेरो छिमेकी जिल्ला । तर, म चाहिँ खोटाङ्गे अनि निख्खुर राईको छोरा । त्यसैले थर राई । अनि उपथर चाम्लिङ । पाछा दालङ्गे। सामै सिबिली रोधिता । र, नुङ हछाली लाहुर बुङ् ।

त्यस मानेका रोहितको थर राई भए पनि मभन्दा अलिक फरक नै थियो । किनभने उनको बाबु राई र आमा नेवार्नीको ठिम्बर छोरो । ठिमाहा छोरो भएकै कारण उनी मभन्दा हल्का श्यामश्वेत वर्णका थिए । हरबखत नुनको सोझो गरेर खरिखट्टै काम गर्ने लगभग ५ फिट ४ इन्च उचाई भएका उनलाई मैले पल्टनघरमा ज्यादै मिहिनेती, फर्साइलो, मिलनसार र मृदुभाषी पाएको थिएँ । अझै यसलाई यसरी पनि भन्न सकिन्छ । ठगाहा, जाली, फटाहा, भाइमारा, बिन्दास वा सुरदास भन्ने उनको जीवनमा मैले कहिले देखिन वा भेटिन पनि ।

उनी मभन्दा एक वर्ष अगाडि भर्ती भए तापनि समय जाँदै गर्दा हामी एक अर्कामा निक्कै नजिकको साथी भइसकेका थियौं । चाहे त्यो खेलमा होस वा ड्रिलमा । उनी ज्यादै भातृत्वप्रेमी थिए । त्यति धेरै हिमचिम भएका हामी दुवैजनाको रोचक पक्ष भनेको चाहिँ मोलमाल नै थियो । जस्लाई हामी दुवैले भान्जी बराबर मान्दथ्यौं । मेरोभन्दा उनको एउटा कमजोरी पक्ष पनि थियो । टाइपोमा बनेको कार्ल्सबर्ग बियर निसुन क्लबमा मैले एक्कै घुट्कीमा स्वाट्टै बनाउँदा उनले आधा क्यान पनि मुस्किलले सक्नुहुन्थ्यो । त्यसैले उनको तुलनामा म थोरै घामड मात्र नभएर भष्मसुर पियक्कड पनि थिएँ । क्रमश….

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!