
पुत्रवियोग!
जित बुढाथोकी (छन्त्याल) – बेलायत
त्यो!
हृदयविदारक
दृश्यको साक्षी
थिएँ म,
अरूपनि ठुप्रै थिए
समग्रमा हामी थियौं,
न मेला महोत्सव
न हर्षोल्लासको जन्ती थियौं,
थियौं त केबल दुःखपूर्ण
कसैको मृत लासको
मलामी थियौं।
पुत्रवियोगको
आत्मग्लानिले
विक्षिप्त बनेको
एक विवश लाचार वृद्ध बा!
एउटा तस्वीर
छातीमा च्यापेर
विरहको आँसु झार्दै
भक्कानिँदै
निधार ठोक्दै रुँदैथिए उनी,
लाग्थ्यो,
आफ्नो काँध ठाम्ने
छोरोलाई आफैले काँधमा राखेर
सँधैका लागि बिदाई गर्नुपर्दा
हृदय छियाछिया भए होला।
शुभचिन्तकहरू
उन्लाई सम्झाउदै थिए
जन्मेपछि हामी सबैले
मृत्युलाई अँगाल्नुपर्छ,
जिन्दगीको नियती हो
ढिलो र छिटो फरक यत्ति हो,
धैर्यता अपनाउनुपर्छ
आफैले आफैलाई सम्हाल्नुपर्छ।
तर
म सोँच्थे,
सम्झाउन
सान्त्वना दिन
जति सजिलो छ
सम्झन र सहन
त्यत्तिनै गाह्रो छ।
नरुनू भन्नुपनि अनुपयुक्त जस्तो
आफ्नै मुटुको नशा चुँडिनुको पीडा
सहन नसकी छटपटेर रुनेहरूलाई
नरुनू भनुँपनि
कसरी भनुँ?
अगाडि शोकधुन बज्दैथियो
पछाडि पुत्रका शवयान बोक्दै थिए उनी।
सहभागीहरूले,
फूलका गुच्छाहरु चढाए
शव सजाए
आख़िर,
जिन्दगी के नै रहेछ र?
गहिरो खाडलमा सुताए।
शोकाकुल परिवारमा
धैर्य धारण गर्ने शक्ति मिलोस्
मृतात्माले शान्ति पाओस्
वैकुन्ठमा उस्को वास होस् भन्दै
श्रद्धाञ्जली स्वरूप
सबैले एक-एक मुठी माटो अर्पण गरे
अनि आ-आफ्नै कर्मतिर लागे।
तर
ती वृद्ध बा!
चिहानकै छेउमा बसी
चिहानलाई धोग्दै थिए
विलौना गर्दै रुँदै
मनभरिका वह पोख्दै थिए
पिताको मृत्यूमा
पुत्र कोरामा बस्ने गर्छन
जवान पुत्रको मृत्यूमा
वृद्धबा कोरा बसेको
त्यो!
हृदयविदारक दृश्यको
साक्षी थिएँ म।






