एटा संवाददाता
अल्डरसट । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके युवा विभागले बृहत् अन्तरक्रिया आयोजना गर्ने भएको छ ।
आउँदो शनिबार २१ जुलाईका दिन नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष उपस्थितिमा टिथवर्थ विलसायरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘म र मेरो मातृभूमि’ विषयक अन्तत्र्रिmयामा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकको मध्यस्थता, महानायक राजेश हमाल, एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र एनआरएनए युके अध्यक्ष योगकुमार फगामी वक्ता रहने आयोजकले जनाएको छ ।
एनआरएनए युकेका युवा संयोजक लालबहादुर गुरुङ (एलबिजेड) को संयोजन र महासचिव राजकुमार त्रिपाठीको सञ्चालनमा दिउँसो ३ देखि साँझ ६ बजेसम्म हुन लागेको अन्तरक्रियामा सहभागी भइदिन संयोजक गुरुङले बेलायतवासी नेपालीहरुलाई अनुरोध गरेका छन् । उनका अनुसार ‘देश बाहिर बस्नेहरुले नेपालप्रतिको माया कसरी झल्काइरहेका छन् ? अहिलेसम्म उनीहरुले कस्ता बेलामा के कति सहयोग गरे र अब के गर्न सक्छन् ? उनीहरुले नेपालको कुनकुन क्षेत्रमा लगानी गरेका छन् ? देशको आर्थिक, सामाजिक, पर्यटन, संस्कृतिलगायतको क्षेत्रमा उनीहरुको योगदान कहाँनेर छ ? बेलायतमा बसेर उनीहरुले आफ्नो धर्म, संस्कृतिको रक्षा कसरी गरिरहेका छन् ? प्रवासी नेपालीहरूको लागि हाम्रो अधिकार केहो?’ लगायतका विषयमाथि अन्तरक्रिया हुनेछ ।
संयोजक गुरुङले कार्यक्रम हरेक कोणबाट ऐतिहासिक र महत्वपूर्ण हुने दाबी गरे । संसारभरी नै प्रख्यात रहेको ‘स्टोनहेन्ज’ लगभग त्यहाँबाट करिब १० मिनेटको ड्राइभ गरेपछि पुग्न सकिने बताइएको छ । साथै, उनले टिडवर्थ १९६२ मा आफ्ना पुर्खाको पहिलो ऐतिहासिक यात्रा गरेको स्थान भएको जनाएका छन् । सोही समयमा बजै तथा आमाहरु वन–जंगलमा गएर खोले, साग, निगुरो, च्याउ र सिस्नु टिप्दै गर्दा स्थानीय अचम्ममा पर्ने गरेको उल्लेख गर्दै सोही ठाउँबाट फेरि ७९ देशभित्र रहेका नेपालीहरू र एउटा सिंगो देशलाई नै सो ठाउँमा उभ्याएर विश्वलाई नै सन्देश प्रवाह गर्न लागिएको बताए ।
संयोजक गुरुङले, होलिडेको रुपमा अन्तरक्रिया गर्दै ज्ञानगुन बाँड्ने आपूmहरुको प्रमुख उद्देश्य रहेकोले उपस्थितिका लागि अनुरोध गरेका छन् ।






