सोनाम लामा मोक्तान
निर्देशक, सोनाम ग्याल्मो नाटक
करिब ५ वर्षअघि उच्च शिक्षा र संगीत सिक्न काठमाडौं पसेका सोनाम लामा (मोक्तान) अन्ततः नाट्यकर्मीका रुपमा उदाएका छन् । उनीद्वारा निर्देशित पहिलो ‘सोनाम ग्याल्मो’ नाटक काठमाडौंको शिल्पी थिएटरमा असार ११ देखि २८ गतेसम्म मञ्चन भयो । सेलो थिएटरको प्रस्तुति रहेको सो नाटकमा आफैं मुख्य पात्र ‘सोनाम’ को अभिनय गरेका छन्, उनले । यसअघि कचहरी, सडक नाटकजस्ता थुप्रैमा निर्देशन र अभिनय गरिसकेका सोनामको ‘ब्लाक बक्स’ मा निर्देशन यो पहिलो अनुभव हो ।
बाल्यकालदेखि नै साहित्य, संगीतमा झुकाव राख्ने सोनाम साथीहरुको संगत र पूmलमान वलको म्हेन्दोमाया नाटक हेरेपछि यस क्षेत्रमा रुचि बढेको बताउँछन् । उनी सुरुका दिनमा संगीत कक्षा खोज्दै हिँडे पनि शिल्पी थिएटरमा नाटकको प्रशिक्षण लिन पुगे । स्नातकसम्मको पढाई र रंगमञ्चको कर्मलाई अगाडि बढाउँदै आएका सोनाम, ‘सोनाम ग्याल्मो’ नाटकमा दर्शकको माया पाएर झन् उत्साहित देखिन्छन् । प्रस्तुत छ, उनै नाट्यकर्मी सोनाम लामा (मोक्तान) सँग एभरेष्ट टाइम्सले गरेको संक्षिप्त कुराकानी :

सोनाम ग्याल्मो नाटकले दिन खोजेको सन्देश के हो ?
यो नाटक जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित किम्बदन्तीमा आधारित छ । किम्बदन्तीअनुसार सिकार खेल्न पत्थर घट्टामा पुगेको तत्कालीन श्री ३ जंगबहादुरले एक सुन्दर तामाङ युवती देख्छ । युवतीको रुप र यौवन देखेर जंगबहादुर यत्ति लोभिन्छ कि उसले युवतीलाई रखौटी बनाउँछ । केही समयपछि एक दिन एक युवक जंगबहादुर अघिल्तिर उभिन आइपुग्छ र ‘जार काट्न मिल्ने कि नमिल्ने ?’ भनेर सोध्छ । आफैंले जार काट्ने कानुन बनाएका जंगबहादुरले सगौरव भन्छ, ‘किन नमिल्नु मिल्छ’ लगत्तै युवकले जंगबहादुरमाथि खुकुरी प्रहार गर्छ । जंगबहादुर घायल बन्छ । यी किम्बदन्ती अनुसार यो नाटकबाट शासन सत्ताबाट तामाङ समुदाय कति पीडित रहँदै आएको छ भन्ने छर्लङ्ग देखाएको छ । त्यत्तिमात्रै होइन, हाम्रो समुदायले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा बिर्संदै आएको छ । यसरी बिर्सन हुँदैन भन्ने यो नाटकको अर्को सन्देश हो । त्यस्तै तामाङको जन्म, विवाह, मृत्यु संस्कारमा गाइने विभिन्न विधाका गीत तामाङ सेलो, फापरे गीतलाई पनि नाटकमा समावेश गरेका छौं । अर्को कुरा यो नाटकपछि हाम्रा मान्छे नाटकप्रति आकर्षित होउन् भन्ने हो । सोनाम ग्याल्मो ऐतिहासिक र मौलिकतामा जोड दिएर निर्माण गरिए पनि उठान गर्नुपर्ने थुप्रै विषयवस्तु छन् ।
थिएटरका लागि नाटक निर्देशन गर्दा कस्तो अनुभव भयो तपाईंलाई ?
चार/पाँच वर्ष नाट्य क्षेत्रमा घुममिल हुँदै आए पनि रंगमञ्चका सिनियरको छेउमा म आफूलाई शून्य नै पाउँछु । सोनाम ग्याल्मो पनि निर्देशन नगरौं कि भन्ने थियो । तर, नाटककार एवं पत्रकार फूलमान वल दाइसँग काम गर्दै आएकोले सजिलो होला कि भन्ने पनि भयो । उहाँहरुको आग्रह र संगतकै कारण निर्देशनमा अघि बढेँ । खासमा नाटकको स्क्रिप्ट पढ्दा सजिलो हुन्छ, त्यसलाई व्यवहारमा उतार्न एकदमै गाह्रो । यस क्षेत्रमा हाम्रो समुदायका अग्रज पनि धेरै हुनुहुन्न । सहयोग लिन अप्ठेरो छ । तैपनि, चाँदनी मोक्तान, फूलकुमार बम्जन, शान्ति वाइबालगायत व्यावसायिक कलाकारसँग काम गर्दा भने नाटक खेल्न सहज भयो ।
सोनाम ग्याल्मो नाटक हेर्न कुनस्तरका दर्शक आउनुभयो त ?
नाटक हेर्न धेरै मान्छे आउनुभयो । तर, थोरै भए पनि हाम्रो समुदायलाई थिएटर कल्चरबारे ज्ञान होस् भन्ने थियो । केही हदसम्म त्यो उद्देश्य पूरा भएजस्तो लाग्छ । सोनाम ग्याल्मो नाटक हेर्न कतिपय दर्शक त तीन/चार चोटी पनि आउनुभयो । उहाँहरुकै माया र मागअनुसार असार २५ सम्म मात्रै मञ्चन गर्ने भनिएको नाटक २८ सम्म पुर्यायौं । नाटक हेर्न सामान्य दर्शकमात्रै नभई रंगमञ्चमा काम गर्ने धेरै आदरणीय व्यक्तित्व सुनिल पोखरेललगायत पनि आउनुभयो । उहाँहरु आउँदा हामीलाई धेरै खुसी लाग्यो । उहाँहरुको सकारात्मक प्रतिक्रियाबाट हामी खुसी छौं । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षामन्त्री ईश्वर पोखरेल, सांसद नविना लामा, प्रदेशसभा ३ की उपसभामुख राधिका तामाङ, साहित्यकार झमक घिमिरेलगायत आउनुभयो ।
नाटकका ‘गुरु’ हरुले कस्तो प्रतिक्रिया दिनुभयो ?
सिनियर दाइहरुको प्रतिक्रिया सकारात्मक नै आयो । उहाँहरुले प्राविधिक पक्ष अलि मिलाउनुपर्ने सुझाव दिनुभएको छ । खासमा अहिले नै नाटक निर्देशन गर्छु भन्ने मेरो मनमा थिएन । यो एउटा संयोग बन्यो । नाटक गर्दैगर्दा खुसीभन्दा पनि डर थियो । यो डर प्रिमियर शो गर्दासम्म पनि रहिरह्यो । तीन/चार किलो मासु नै घट्यो होला, दुब्लाएँ । हामीले यो नाटकमा एक महिना जति रिहर्सल गर्यौं ।
सोचेजस्तो भयो कि भएन त ?
हामीले जुन लेभलको बन्छ भनेर सोचेका थियौं, त्यो भन्दा राम्रो भयो । रि–मञ्चन गर्दा सुधार्नुपर्ने पनि छ । खुसी पनि मिलेको छ । शिल्पी थिएटरमा नाटक मञ्चन हुँदा कत्तिले त भूइँमा बसेर हेरिदिनुभयो । सोनाम ग्याल्मोपछि आमतामाङ समुदायले नाटकबारे बुझ्ने मौका पाउनुभयो । थिएटरसम्बन्धी ज्ञान मिल्यो होला भन्ठानेको छु ।
फेरि मञ्चन गर्दा के के विषय सुधार्न पाए हुन्थ्यो जस्तो लागिरहेको छ ?
सोनाम ग्याल्मो नाटकको कथावस्तु करिब डेढसय वर्ष पुरानो हो । दृश्य ठीक छ । तर, लबज, कपडा, कस्टम त्यतिबेलाको जति हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । त्यसलाई सच्याउनुपर्छ । त्यतिबेला प्रयोग हुने सामान अभाव छ, घरको नमुना पनि मिलेको छैन । मेटेरियल्स पनि थप्नु पर्नेछ । हाम्रो चाहना नाटक हेर्दा दर्शक विगतमा पुग्न सकोस् भन्ने हो ।
अब कहाँ–कहाँ मञ्चन हुँदैछ यो नाटक ?
यो विषयमा लेखक दाइ (फूलमान वल) लगायत टिमसँग छलफल गर्छौं । नेपालका तामाङ बस्ती र भारतको सिक्किमलगायत ठाउँबाट प्रदर्शनका लागि माग भइसकेको छ । यस कुरालाई हामी छलफलबाटै टुंग्याउँछौं ।
नाटक बनाउन कत्ति खर्च लाग्दोरहेछ ?
नाटकको विषयवस्तु र प्रयोग गरिने सामाग्रीमा भर पर्छ । टिम मिल्यो भने कम्तीमा ५० हजारमा पनि नाटक बन्न सक्छ । सोनाम ग्याल्मो नाटकमा १६ जनाको जम्बो टिम छ । यसमा मल्टीसेट (नाटकमा प्रयोग गरिने सामग्री) प्रयोग गरिएकोले अलि धेरै खर्च लागेको छ । अझ यो नाटकलाई सुधारेर सांस्कृतिक पक्ष सबल देखाउन सकिन्छ । त्यसो गर्दा खर्च थपिन्छ ।
नाट्य क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
मैले वि.संं २०६७ मा जन्मथलो हरिहरपुर गाउँपालिका–५ बसेरी सिन्धुलीबाट एसएसलसी पास गरेँ । त्यसपछि अध्ययनको सिलसिलामा काठमाडौं पसेँ । काठमाडौं चाबहिलमा रहेको टेक्सास कलेजबाट प्लस टु र न्यूटन कलेजमा अंग्रेजी मुख्य विषय लिएर ब्याचलर (स्नातक तह) पूरा गरेँ । पहिलेदेखि नै पश्चिमी म्युजिक सिक्ने धोको भए पनि पढाईकै बीचमा शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक सिक्न पुगेँ । त्यहाँ तीन महिनाको कोर्स गरिसकेपछि त मलाई नाटक ‘एडिक’ जस्तो भएछ । त्यसकै दौरानमा विभिन्न सडक नाटक, कचहरी खेल्दै आएँ । करिब ५ वर्षदेखिको अनुभवपछि अहिले ‘सोनाम ग्याल्मो’ नाटक निर्देशन गर्ने अवसर मिलेको छ ।
आगामी दिनमा कस्तो नाटक बनाउने वा निर्देशन गर्ने सोच गर्नुभएको छ ?
मलाई आममान्छेको साझा समस्यामा रहेर नाटकमा काम गर्ने मन छ । तर, अहिले नै गरिहाल्ने सोच छैन किनकि सोनाम ग्याल्मोमै छु । नाटक गर्न गाह्रो पनि छ । अध्ययन, अनुसन्धान, कलाकार छनोट लगायतमा ध्यान पुर्याउनु र समय दिनुपर्छ । सबै युवाको विषयमा म्याच खाने नाटक बनाउँदा राम्रो हुने सोचिरहेको छु । नेपालका युवाहरु प्राय: एसएलसी पास भएपछि पढेर कलाकार, डाक्टर, विभिन्न क्षेत्रमा प्रगति गर्नेजस्ता ठूल्ठूला सपनासहित सहर वा काठमाडौं छिर्छन् ।
जब काठमाडौं छिर्छन्, तब उसले रोजगार पाउँदैनन् । अनि बिहान, बेलुकी हातमुख जोर्नलाई धौ–धौ पर्छ । घरबाटै ल्याएर खानुपर्ने बाध्यता बन्छ । समस्याग्रस्त भएपछि ती युवाहरु कि विदेश जान्छन्, कि त गाउँ नै फर्कन्छन् । कतिपय भने चोरी, डकैती, कुलतमा फस्न पुग्छन् । म काठमाडौं आइसकेपछि पनि झण्डै त्यस्तै भएको । त्यसैले सबैको साझा विषयमा नाटक बनाउँदा राम्रो हुने ठानेको छु ।
चलचित्र, गीतसंगीतको बजार खुम्चिएको बेला नाटकको बजार कस्तो छ ?
पहिलो कुरा सन्तुष्टि हो । प्यासनअनुसार काम गर्दै जाँदा लगाव, मेहनत र धैर्यता चाहिन्छ । त्यसो भएमा गोजीमा पैसा हुनै पर्छ भन्ने हुँदैन, आफैं सजिलो हुँदै जान्छ । अन्य समुदायको दर्शकको नाटकप्रति आकर्षण त छँदै छ । पछिल्लो समयमा तामाङ समुदायका दर्शकको चासो बढ्दै गएको छ । नाटक खेल्ने तामाङ पनि बढेका छन् । भलै फिल्ममा जस्तो पैसा नआउला । तर, स्कोप बढ्दै एको छ । राम्रो विषयवस्तुको नाटक बनाउन सक्यौं भने अप्ठेरो छैन । युट्युब वा टिभीमा चलचित्र हेरेजस्तो नाटक हुँदैन । यसलाई प्रत्यक्ष हेरेको प्रभावकारी हुन्छ । नाटक मेमोरी वा बिक्री वितरणका लागि खिचेर राख्दा पनि राम्रो हुँदोरहेनछ । सोनाम ग्याल्मो नाटकमा दर्शकले देखाउनुभएको मायाले हाम्रो टिमलाई ऊर्जा मिलेको छ ।






