काठमाडौं नोभेम्बर ७ ।

गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालको पर्यटक भित्र्याउनको लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ ।
सोमबार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो । संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडियो बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले नेपालको पर्यटन क्षेत्रको प्रचार अब डिजिटल माध्यमबाट गर्नुपर्ने बताए । उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडियो बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए ।
सापकोटाले गैर आवासीय नेपालीहरू नेपालमा आउँदा नेपाली एयरलाइन्सहरु र होटलहरुमा नेपालीहरू सहरको भाडा कायम गर्न माग गरे । उनले नेपालमा होटल तथा अन्य पर्यटन क्षेत्रमा लगानी गर्ने सहज वातावरण भए लगानी गर्न तयार रहेको बताए ।






