लन्डन ७ मार्च २०२३ । तमु कलाकार साँस्कृतिक मञ्च यूकेको आयोजनामा बेलायतमा तेस्रो रोधीं साँझ युके २०२३ हुने भएको छ ।
‘कला, संस्कृतिको जर्गेना हाम्रो चाहना’ भन्ने नाराका साथ आउँदो ८ अप्रिलका दिन अल्डरसटको एम्पायर हलमा रोधीं साँझ हुने आयोजकले जनाएको छ । मञ्चका अध्यक्ष कुमार गुरुङले सबै महानुभावलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् । उनका अनुसार गुरुङ भाषाका गीतहरु सोरठी, घाँटु, कौडा, ठाडोभाका जस्ता मौलिक र साँस्कृतिक नृत्यहरुलाई बेलायतको व्यस्त परिवेशमा पनि केही संरक्षण र संवर्द्धन गरेर पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
मञ्चले यसअघि पहिलो र दोस्रो रोधी साँझ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कोरोना महामारीको कारणबाट स्थगित हुन गएको तेस्रो रोधी साँझ यसबर्ष गर्न लागेको गुरुङले जनाए ।
कार्यक्रमका लागि सम्पर्क गर्न कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष सूर्य गुरुङ, अध्यक्ष कुमार गुरुङ, सचिव कृष्ण गुरुङ र पदम गुरुङलाई सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ ।






