लन्डन २४ अप्रिल २०२३ । नेपाली ख्रीष्टियन चर्च बेलायत साउथ वेष्ट क्षेत्रका महिला दिदीबहिनीहरुको सेवासंगती भव्यता साथ सम्पन्न भएको छ ।
यही अप्रिल २२ तारिख शनिबार स्वीन्डनस्थित सेन्ट आन्ड्रु चर्चको भवनभित्र महिला दिदीबहिनीहरुको सेवासंगती भव्यता साथ सम्पन्न भएको हो । स्वीन्डन नेपाली चर्चका एल्डर काशी राईको अनुसार बेलायतको दक्षिण पश्चिम क्षेत्रका ९ वटा चर्चहरुको सहभागिता हुने भनिएकोमा ८ वटा चर्चहरुको जम्मा १५० जनाको हाराहारीमा उपस्थित रहेको जनाएको छ ।
ज्योति गुरुङको संयोजकमा आयोजित उक्त महिला दिदीबहिनीहरुको सेवा संगतीलाई रेखा सुनुवार सञ्चालन गरेकी थिइन् भने स्तूति प्रशंसाको भाग भने एलिसा तामाङले सञ्चालन गरेका थिइन् । सुरुआतको प्रार्थना प्रेमकुमारी राईले गरेकी थिइन् । विभिन्न भजन कोरसहरु गाउँदै सम्पन्न सो सेवाकाईमा गीतारमा प्रज्जवल राई र सिदकुमार राई अनि पियानोमा पिटर घलेले बजाएर महिलादिदीहरुलाई सहयोग गरेका थिए ।
एनसीसी अल्डरसटकी एल्डर देबोराह आङदाम्बेले ‘बन्धनभित्र परमेश्वरको शक्ति’ भन्ने विषयमा शक्तिशाली परमेश्वरको वचन बाँडेकी थिइन् ।
अन्तमा संयोजक ज्योति गुरुङले विभिन्न सूचनाहरु सुनाउँदै सम्पूर्ण उपस्थित दिदीबहिनीहरुलाई धन्यवाद दिएपछि गुरूआमा पुनम लिम्बूले सेवाकाईको समापन प्रार्थना गरेका थिए । याक द हिमालय नेपाली रेस्टुरेन्टले सेवासंगतीपछि स्वादिष्ट भोजन उपलब्ध गरेको थियो ।







