काठमाडौं । तमू (गुरुङ) समुदायमा बुद्ध धर्म मान्नेहरूको साझा संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को दोस्रो सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
परिषद्का संस्थापक अध्यक्ष डा. कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा गुरुङ समुदायका बुद्ध धर्मका लामा गुरुहरू, विभिन्न गुरुङ संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, साथै बुद्ध धर्ममा आस्था राख्ने गुरुङ समुदायका सदस्यहरूको उपस्थिति थियो ।
परिषद् सन् २०२४ मा अमेरिकाको ओमाहा सहरमा विश्वभर छरिएर रहेका गुरुङ बुद्धिस्टहरूको साझा संस्थाका रूपमा डा. गुरुङले स्थापना गरेका हुन्। त्यसमा अमेरिका, नेपाल, भारत, युरोपलगायत विभिन्न देशहरूमा बसोबास गर्ने बुद्धधर्मावलम्बी गुरुङहरूको संलग्नता छ ।
यस परिषद्ले गुरुङ समुदायको संस्कार-संस्कृतिलाई निरन्तरता दिँदै बुद्ध धर्मका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गर्ने उद्देश्य राखेको छ । साथै गुरुङ समुदायको संस्कार, संस्कृति, भाषाको विकास तथा उत्थानमा पनि योगदान गर्दै आएको छ। यसबाहेक बुद्ध धर्मका अभ्यासकर्ता लामाहरूको उत्पादन तथा गुरुङ समुदायका गुम्बाहरूको विकासमा पनि सहयोग गर्दै आएको छ ।

पुर्ख्यौली थलो पूर्वी नेपालको ओखलढुङ्गा भए पनि विविध कारणले भुटान पुगेको नेपाली भाषी गुरुङ परिवारमा जन्मिएका डा. गुरुङले भुटानी शरणार्थीका रूपमा नेपालको भुटानी शरणार्थी शिविरमा बिताएका थिए । पछि तेस्रो मुलुकमा पुनर्स्थापनाका क्रममा अमेरिका पुगेका उनले त्यहाँ नै व्यापार-व्यवसायका साथै गुरुङ बुद्धिजमको सुरुवात गरेका थिए ।
पछि नेपालमा पनि गुरुङ बुद्धिजमको अभ्यास तथा वकालत गरिरहेका धुर्व गुरुङ, पुष्प गुरुङ लगायतसँग मिलेर अमेरिकामा आईसीजीबीको स्थापना गरेका हुन् । यस संस्थाको शाखा कार्यालय नेपाल, भारत, बेलायत र अस्ट्रेलियामा रहेको छ ।
“हामीले गुरुङको संस्कार-संस्कृतिलाई निरन्तरता दिँदै, बुद्ध धर्मका चार आर्य सत्य तथा पञ्चशील जस्ता आधारभूत सिद्धान्तहरूलाई अवलम्बन गर्ने प्रक्रियालाई गुरुङ बुद्धिजम भनेका हौँ,” आईसीजीबीका संस्थापक अध्यक्ष डा. गुरुङले कार्यक्रममा भने, “हाम्रो अभियान गुरुङ भएर जन्मेपछि गुरुङ संस्कार-संस्कृति पनि छाड्न नपरोस् र बुद्धिस्ट भएर बुद्ध धर्मका सिद्धान्तहरू पनि अवलम्बन गर्न सकियोस् भन्ने हो ।”
लामा गुरु तथा अमेरिकामा इन्टरफेथ लिडरका रूपमा समेत परिचित डा. गुरुङले आईसीजीबीले नेपालका गुम्बाहरूलाई सहयोग बढाएको, गुरुङ संस्कार-संस्कृति संरक्षणका लागि छलफलहरू चलाएको, गुरुङ भाषाको संरक्षणका लागि अनलाइन भाषा कक्षा चलाएको, गुरुङहरूले अभ्यास गर्ने संस्कार-संस्कृति र बुद्ध धर्मका बारेमा म्यानुअल प्रकाशन गरेको, गुरुङ बुद्धिजमसम्बन्धी जर्नल प्रकाशन गरेको तथा बुद्ध धर्मका मूल ग्रन्थ त्रिपिटकका सबै संस्करणहरू नेपाली भाषामा अनुवाद गर्ने कार्यको थालनी गरेको पनि बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लामा गुरु खेन्पो सिर लामा गुरुङले गुरुङ समाजमा बुद्ध धर्म र संस्कारका विषयहरूलाई लिएर दुविधा रहेको उल्लेख गर्दै बुद्ध धर्मको पनि पालना हुने र गुरुङ संस्कार पनि संरक्षण हुने गरी अघि बढ्नुपर्ने बताए ।
“गुरुङ लामाहरूले कतिपय अवस्थामा बुद्ध धर्मले बर्जित गरेका पशुबली दिने लगायतका कामहरू पनि गर्दै आएका छन्, संस्कारका नाममा गरिने यस्ता कार्यले धर्मको पालना हुँदैन,” उनले भने, “तर, त्यसको अर्थ सबै संस्कार र संस्कृतिको नास गर्ने भनेको पनि होइन । बुद्ध धर्मको विरुद्धमा नहुने चलनहरूलाई निरन्तरता दिन सकिन्छ ।” उनले गुरुङ लामाहरूको संख्या कम भएकोले बढाउनुपर्ने पनि औँल्याए ।
कार्यक्रममा आईसीजीबीका डेपुटी प्रेसिडेन्ट धुर्व गुरुङले सबै संस्कार र संस्कृति छाडिएमा बुद्धिस्ट मात्र हुने, गुरुङ नहुने हुँदा अवलम्बन गर्न सकिने संस्कृतिका न्यूनतम अवयवहरूलाई बचाउँदै जानुपर्ने बताए । त्यसका लागि गुरुङ लामाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै गुम्बामा पढेका तर गुरुङ संस्कार र संस्कृति नजानेका लामाहरूलाई सिकाउनुपर्ने पनि बताए ।






