फरक परिवेशमा नयाँ तीजगीत

SHARE:

मीना घोरसाइने

काठमाडौँ । हरितालिका तीज आउन अझै एक महिना बाँकी भएपनि नेपाली बजार र सामाजिक सञ्जालमा तीजका गीत चम्कन थालेका छन् ।

कुनै दिन ‘पोइला जान पाम’ नामक तीजगीतबाट झनै चर्चामा रहनुभएका सांसद कोमल ओलीको ‘माननीयज्यू’ बोलको तीजगीत पनि अहिले चर्चामा छ । ओली र पशुपति शर्माको स्वरमा रहेको सो गीतले नेपालको वर्तमान राजनीतिमा रहेको समस्यालाई देखाउन खोजेको छ । गायिका ओली भन्छिन्, “यो विशुद्ध गीत मात्र होइन, हाम्रो राजनीतिक प्रतिबद्धता पनि हो,” उनी थप्छिन्, “संगीत मेरो लत हो, राजनीति सेवा ।” आफूले गीतमा भनेजस्तै देशका लागि पनि आफूले केही गर्न चाहेको उनले बताइन् ।

लामो समयदेखि गायनमा निरन्तर ओली तीजका गीतलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्छ भन्ने धारणा राख्नुहुन्छ । केही हप्ताअघि मात्र युट्युबमा राखिएको माननीयज्यू बोलको तीजगीतलाई अहिलेसम्म लगभग दश लाखले हेरिसकेका छन् ।

पहिले महिलाले मात्र तीजगीत गाउने प्रचलन रहेकामा अहिले पुरुषले पनि तीजका गीत गाउन थालेका छन् । तीजगीत मात्र नभई अन्य गीत सन्देशमूलक खालका हुनुपर्ने पुराना लोकगायक मच्छेश्वर सापकोटा बताउँछन् । “गीतहरु यस्ता हुनुपर्छ जसले समाजलाई परिवर्तन गरोस्,” सापकोटा भन्छन्, “अहिले केही समाजलाई विकृत बनाउने खालका गीत पनि आएका छन्, तिनलाई सुन्दा दुःख लागे पनि केही सन्देशमूलक गीत सुन्दा भने खुशी नै लाग्छ ।” उमेर ढल्कँदै गए पनि आफूले गीतसंगीतलाई निरन्तरता दिँदै गएको उनले बताए ।

पौराणिककालमा पार्वतीले महादेवलाई पति पाऊँ भनी तीजको व्रत बसेको र पार्वतीले महादेवलाई पतिका रुपमा पाएको पौराणिक कथानुसार अविवाहित महिलाहरु आफूले खाएको पति पाऊँ भनी व्रत बस्छन् भने विवाहिताहरु पतिको दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

आजभोलि तीजगीतलाई मनोरञ्जन र व्यावसायिक हिसाबले निकै महत्व दिइने गरेको छ । तीजका गीतमा अघिल्ला वर्षमा निकै छाडापन आएको थियो । यस वर्ष भने तीज गीतमा केही परिवर्तन आएको छ –

आज मलाई जानु थियो तीजको खान दर
यही बेलामा जानुपर्ने आमा लिन घर
उतै गाउँमा बस्थिन् बूढी किन ल्याउनुप¥यो शहर
तिम्रा भाइ छन् हुने खानी हामलाई केको कर रु

आमा बोलको यो तीजगीतलाई सन्तोष केसी र राधिका हमालले गाएका छन् । विशेष गरी समाजको यथार्थलाई यस गीतले चित्रण गर्न खोजेको छ । सासूबुहारीको झगडाको प्रसङ्गलाई लिएर यो गीतको सिर्जना गरेको देखिन्छ ।

विगतका वर्षमा भने तीजका समयमा प्रेमका गीतले बढी प्राथमिकता पाएका थिए । प्रेमलाई मात्र देखाउने तीजका गीतभन्दा यस वर्षको गीतमा भने विवाहपछि उत्पन्न हुने समस्यालाई दर्शाउन थालेको देखिन्छ । तीज आउनुभन्दा तीन महिनाअघिदेखि नै दर खाने प्रवृत्तिलाई समेत तीजका गीतले देखाउन थालेका छन् –

रातै पर्न लाग्यो दिदी तिमीलाई नै पर्खिँदा
रक्सी चाहिन्छ भन्छ्यौ अरे तीजमा गीत गाउँदा

भूमिका गिरी र ज्योति मगरले गाएको यस गीतमा लोकगीतमा देखिएको विकृतिलाई देखाइएको छ । युट्युबमा साढे पाँच लाखले हेरिसकेको यस गीतमा न छोटा छोटा लुगा लगाउने विसंगतिका बारेमा देखाइएको छ ।

यही भदौ २७ गते आउन लागेको तीजका लागि यस वर्ष सयौंँ गीत बनिसकेका छन् । पहिले तीजका गीतमा भएको विकृतिभन्दा अहिलेको वर्ष धेरै सुधार आएको देखिन्छ । तीजगीतमा भएको परिवर्तनले लोकगीतलाई समेत सकारात्मकतातर्फ लगेको देखिन्छ ।

नयाँ पुस्ताकी भए पनि शर्मिला थापा तीजगीत निकै रुचाउँछिन् । तीज आफूलाई निकै मन पर्ने पर्व भएकाले तीजगीतको छुट्टै महत्व लाग्ने उनले बताइन् । “तीजका गीत बजारमा आएपछि मात्र तीज आउन लागे जस्तो लाग्छ”, थापाले भनिन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!