लन्डन १३ जुलाई २०२३ । तमुधिं यूके आमा समूहले यस वर्ष ‘रेस फर लाइफ’ कार्यक्रम १६ जुलाई अर्थात् आज गर्ने भएको छ ।
क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको रेस फर लाइफ कार्यक्रम बिहान ११ बजे प्रोस्पेक्ट पार्क रिडिङमा हुने कार्यक्रम संयोजक तथा तमुधिं यूके आमा समूह अध्यक्ष सन्ध्या गुरुङले जानकारी दिइन् । यो दसौं संस्करणको दौड हो ।
संयोजक गुरुङले दौडमा सहभागी भएर कार्यक्रम सफल बनाइदिन अनुरोधसमेत गरेकी छन् । सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको संयोजक सन्ध्या गुरुङले बताइन् ।






