
जापान २७ जुलाई । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी बेलायतवासी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।
ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत बुधबार नै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । एलेक्जेन्डरले पुरानो समय ५२ दशमलव ९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२ दशमलव ९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका हुन् । उनले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२ दशमलव ९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।
अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले जानकारी दिए ।






