एटा संवाददता
अल्डरसट । तमुधिं युकेले गुरुङहरुको ऐतिहासिक थलो क्होल सोंथरको अध्ययन भ्रमण गर्ने भएको छ । 
कास्कीको मादी गाउँपालिकामा पर्ने सो स्थलको भ्रमणका लागि तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलगायत २७ जनाको टोली नेपाल जाने भएको छ । २७ जनामध्ये केही सदस्यहरु यसअघि नै नेपाल पुगिसकेका छन् । अरु सदस्यहरु बुधबार १२ अप्रिलभित्र नेपाल पुग्नेछन् ।
आउँदो शनिबार १४ अप्रिल २०१८ का दिन अर्थात् २०७५ साल वैशाख १ गते नयाँ वर्षका दिन पोखराबाट क्होल सोंथरतर्फ लाग्ने अध्ययन भ्रमणका संयोजक एवं तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार लमजुङको घलेगाउँ हँुदै क्होल सोंथर जाने र कास्कीको सिक्लेस गाउँ भएर फर्कने गरी भ्रमण तय गरिएको छ । अमेरिका र अस्ट्रेलियामा बसोबास गर्ने र नेपालमा रहेका गुरुङहरुको समेत सहभागिता रहने सो भ्रमण दलमा करिब ३५ जना रहने संयोजक गुरुङले जनाए ।
अन्नपूर्ण हिमाल श्रृंखला लमजुङ हिमालको काखमा अवस्थित क्होल सोंथर अहिले खण्डहरको रुपमा भेटिन्छ । २८ं १८’ ५०’’ अक्षांश र ८४ं १८’ ५० ’’ पूर्व देशान्तरमा ३७५० मिटरको उचाईमा रहेको क्होलबाट अहिलेको गुरुङ सभ्यता विकसित भएको भन्ने जनविश्वास छ । तमु प्ये (चलन) अनुसार मनाङ्गको मैजु ह्युलबाट आएका सिकारीहरुले धनुषवाणको ढोक्रोमा रहेको करु (उवा) गहुँको प्रजाति छर्दा राम्रो फल लागेपछि सो स्थानमा बस्ती बसालिएको हो । क्होल सोंथरलाई ‘‘क्होल सोप्रे ट्हों’ पनि भनिन्छ । जहाँ ३ वटा बस्ती भएको बुझिन्छ । यसका खण्डहरहरु अझै पनि त्यहाँ भेटिन्छ ।
क्याम्ब्रिज विश्वविद्यालय, नेपाल सरकार, पुरातत्व विभाग र तमु प्ये ल्हु संघको संयुक्त अध्ययनमा १६० घरको भग्नाशेष फेला पारिएको जनाइएको छ । यद्यपि तमु प्येमा ८० घर भएको बुझिन्छ । करिब ४०० वर्ष अघि सो स्थानका गुरुङहरु सिक्लेस, घनपोखरा र इलमपोखरी गाउँमा बसाई सरेको जनश्रृति रहेको भ्रमण संयोजक गुरुङ बताउँछन् ।
गुरुङहरुको आदिमस्थल क्होल सोंथरको बारेमा बुझ्न र जान्न अत्यन्त जरुरी छ । सोही कुरालाई हृदयगमन गर्दै तमुधिं युकेले आउँदो १४ अप्रिल २०१८ देखि २० अप्रिलसम्म सो स्थानको आ–आप्mनै व्यक्तिगत खर्चमा अध्ययन भ्रमण गर्न लागिएको संयोजक गुरुङले जानकारी दिए । उनले १७ जना भ्रमण सहायक, कुक, स्वास्थकर्मी र पत्रकारहरुको समेत संलग्न रहने सो भ्रमणको तमुधिं युकेका सल्लाहकार मेजर रिटायर्ड लक्षिमीप्रसाद गुरुङ र पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले व्यवस्थापन गरिरहेको जनाए ।






