
नगेन्द्र नेम्वाङ
लन्डन ३० जुलाई २०२३ । किरात याक्थुङ चुम्लुङ यूकेले संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बूलाई बिदाइ गरेको छ ।
२९ जुलाई शनिबार औपचारिक कार्यक्रम आयोजना गरी चुम्लुङ यूकेले सिसेक्पा तङ्नाममा प्रमुख अथितिको रुपमा नेपालबाट आएका अध्यक्ष लिम्बूलाई बिदाइ गरेको हो । अथिति येक्तेनलाई अध्यक्ष नरबिर आङ्बोलगायत उपस्थित सबै महानुभावहरुले खादा ओडाइ बिदा गरेका थिए ।
अध्यक्ष नरबिर आङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जुरेन्द्र खजुमले किरात याक्थुङ चुम्लुङ युकेको गतिविधि, उपलब्धि र भावी योजनाहरुबारे जानकारी गराएका थिए । संघीय अध्यक्ष येक्तेनले नेपाल र युकेको चुम्लुङको सुमधुर सम्बन्धलाई अझ गाढा बनाउँदै लानेमा जोड दिए ।
लिम्बु पत्रिका तान्छोक्पा र चुम्लुङ युकेको सहयोगमा नेपालमा खडा गरिएको अक्षय कोषको बारेमा उपस्थित महानुभावहरुको जिज्ञासालाई बुझाइएको थियो । प्रदेश नं १ को कोशी नामकरण खरेजी किन र संयुक्त संघर्ष समितिले उठाएका विषय र भावी योजनाबारे विस्तृतरुपमा प्रस्ट्याउँदै आन्दोलनमा चुम्लुङ अग्रज पङ्क्तिमा रहेको बताए । उनले प्रदेश नं १ मा लिम्बू भाषालाई चाँडै प्रक्रियामा आउने कुरा पनि जानकारी गराए ।
कार्यक्रममा हिलिङ्डन नेप्लिज कम्युनिटीका अध्यक्ष सूर्यबहादुर इमेहाङ सल्लाहकारहरु नरकुमारी लिम्बू, सुर्य खापोङ, संघीय लिम्बुवान सामाजिक मञ्च यूकेका महासचिव राम इजम माङ्गेना, चुम्लुङ युकेकी सस्थापक अध्यक्ष कमला लिम्बू, नेपाल आदिवासी जनजाती महासंघ यूकेकी वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोको उपस्थिति थियो ।
बिदाइ कार्यक्रम महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए ।






