काठमाडौं ७ अगस्ट २०२३ ।

समुदायको सांस्कृतिक परम्परामाथि ठेस पुगेको भन्दै आज तामाङ र मगरले काठमाडौँ उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको छन् ।
अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायमा दाजुवहिनी बीच विवाह हुने भनी विवादास्पद अभिव्यक्ति दिएपछि आन्दोलनमा उत्रिएका उनीहरु गत १७ गते प्रहरीको दमनपछि थप आक्रोसित बनेका छन् । उनीहरुले आज अधिवक्ता पाण्डे र काठामाडौँ प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीलाई कारबाहीको माग गर्दै देशैभर विरोधका कार्यक्रम गरेका हुन् ।
टेकु प्रहरी परिसरमा हिरासतमा प्रहरीको कुटपिटबाट घाइतेहरुको राज्यद्धारा उपचार गर्नुपर्नेलगायतका माग राख्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको अगुवाईमा आज सडकमा उत्रिए । काठमाडौँको माइतीघर मण्डलाबाट दिउँसो निस्केको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल आदिवास जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी समुदायको आत्मसम्मानमा चोट पुग्ने काम कसैले नगर्न चेतावनी दिए । यस्तै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले अभियुक्त पाण्डेलाई उम्काउने चलखेल र शान्तिपुर्ण अधिकारको आन्दोलनमा प्रहरीको दमन हुनु नश्लिय चिन्तनको पराकाष्ट भएको बताए । नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङले अधिवक्ता पाण्डे र एसएसपी कार्कीलाई कारबाही नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
यस्तै सभामा लेखक तथा अभियन्त आहुति, ताम्सालिङ संयुक्त संर्घष समितिका संयोजक डा. गणेश योन्जनलगायतले राज्यको विभेदकारी नीति र सोचको अन्त्य नभएसम्म यस्ता घटनाहरु भइरहेने भन्दै चुप लागेर बस्न नहुने बताए । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका अनुसार आज करिब ५० जिल्लाका प्रशासन कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
यसैबिच प्रदर्शनसँगै आजै गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई प्रत्यक्ष भेटेर कारबाहीका लागि ध्यानकर्षण गराइएको छ । त्यसक्रममा गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा भएको घट्नामा दुख व्यक्त गर्दै हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानबिन गरी आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गरेको घेदुङका अध्यक्ष गोलेले जानकारी दिए ।






