लन्डन । इंगल्यान्डमा बोल्न नसक्ने र राम्रोसँग हात नचल्ने १२ वर्षका एक बालकले एउटा किताब लेखेर विश्वभरी चर्चित बनेका छन् । जन्मजात गम्भीर मस्तिष्कघातबाट पीडित जोनाथन ब्रायन ह्विलचेयरको सहारामा हिँड्छन् । आफ्नो शरिरलाई हल्लाउन पनि नसक्ने उनले आँखाको इशाराले ‘आई क्यान राइट’ नामक किताब लेखेका छन् । जोनाथन ब्रायनका आमा–बुवा पहिले उनीसग इशारामा कुरा गर्दथे । शिक्षकले उनलाई पढाउन अत्यधिक गाह्रो भएको बताउँथे ।
जोनाथनकी आमा च्यान्टल ब्रायनले हिम्मत हारिनन् । उनी छोरालाई सधैं स्कूल लिएर जान्थिन् र पढाउने कोसिस गर्थिन् । ९ वर्षको उमेरमा जोनाथनले केही शब्द उच्चारण गर्न सिके । त्यसपछि इ–ट्रान फ्रेमको मद्दतले उनी मानिसहरुसग कुरा गर्न थाले ।
इ–ट्रान फ्रेम कलर कोडिङ भएको एक पारदर्शी प्लाष्टिक बोर्ड हो । भिन्न क्षमता भएका व्यक्तिले यसमा बनेको चित्र र शब्दलाई अँखाको इशाराले बताउने गर्छन् ।
यसरी नै उनी सोधिएको प्रश्नको जवाफ दिने गर्छन् । जोनाथनकी आमाका अनुसार उनीहरुले छोराको आँखाको इशारा हेरेर, उनले भन्न खोजेका कुरालाई लेखिएको हो । जोनाथनको किताबमा उनकी आमाको पनि बयान छ । यसमा उनले जोनाथनको सुरुवाती जीवन र उनले अक्षर कसरी चिने भन्ने बारे बताएकी छिन् । त्यसपछि जोनाथनले आफ्नो कथा सुरु गरेका छन् ।
उक्त किताबमा जोनाथनले इसाई धर्मलाई आफ्नो जीवनको महत्वपूर्ण पाटो भन्दै यसबारे पनि लेखेका छन् ।
किताब लेख्न एक वर्ष लागेको उनकी आमा बताउँछिन् ।
किताब जुलाई १२ तारिखमा सार्वजनिक भएको हो जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाई छ । ‘उनको शरिरले धेरै काम गर्न सक्दैन तर उनको दिमाग सक्रिय नभएको भने होइन,’ उनकी आमा भन्छिन् । जोनाथनले अरुलाई प्रेरित गर्न किताब लेखेको बताए । ‘म बोल्न नसक्नेहरुको आवाज हुँ,’ उनले इ–ट्रानको मद्दतले सिएनएनलाई बताए । ‘एक १२ वर्षको बच्चाले किताब लेखेको भन्दा धेरैलाई अचम्म लाग्ला,’ उनकी आमाले भनिन् । ‘हामीलाई उनीमाथि गर्व छ ।’






